बाल अधिकार, बाल दिवस र आजका बालबालिका

– कृष्ण समर्पण

आज राष्ट्रिय बाल दिवस । सर्वप्रथम बाल दिवसको अवसरमा सम्पूर्णमा शुभकामना छ । आजका साना साना बालबालिकाहरु भोलिका देशका कर्णधार हुन, भबिष्य हुन । त्यसैले बाल अधिकारको संरक्षण गर्नमा राज्यको प्रमुख दायित्व हुन्छ । बाल अधिकार हामी सबेको सरोकारको बिषय हो । बाल अधिकारको संरक्षणमा स्थानिय सरकार, सघ सस्था, बिद्यालय परिवार र अभिभाकहरुको भुमिका महत्वपुर्ण हुन्छ । बाल अधिकारको संरक्षण र प्रबद्र्धनमा सरोकारवालाहरुले अर्थपूर्ण भुमिका खेल्न सक्नु पर्छ । यो बर्षको राष्ट्रिय बाल दिवसको नारा “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” ले सार्थकता पाओस ।
सन् १९८९ मा बालअधिकार सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनले १८ बर्ष मुनिका भाइबहिनिहरु बालबालिकाहरु हुन् भनेर भनेको छ । नेपालमा भने १६ बर्ष मुनिका केटाकेटीहरुलाई बालबालिका भनेर भनेको छ । सामान्य रुपमा बाल अधिकार भन्नाले सानासाना भाईबहिनिहरुले पाउनुपर्ने सबै किसिमको अधिकारहरु हुन । बाल बालिकाहरुको शारीरिक तथा मानसिक विकाशको लागि बालअधिकारको प्रत्याभुती हुन एकदमै आवश्यक छ । बाल अधिकारकोे कुरा गर्दा यस भित्र चार खम्भाहरु रहेका छन् । यि चार खम्भाले भाइबहिनीका सबै अधिकारहरुलाई समेट्ने कोसिस गरेका छन् । चार खम्भाहरुमा पहिलो बाँच्न पाउने अधिकार हो, दोस्रो संरक्षणको अधिकार हो, तेस्रो विकासको अधिकार हो र चौथो सहभागिताको अधिकार हो ।

बाल अधिकारलाई नेपालको संबिधान २०७२ ले पनि समेटेको छ । नेपालको संबिधान २०७२ मा बाल अधिकारलाई मौलिक हकको रुपमा भाग ३ को धारा ३९ मा बालबालिकाको हक भनेर ब्यबस्था गरेको छ । यस धाराको १० उपधाराहरु छन् । यि उपधाराहरुमा (१) पहिचान सहितको नामाकरण र जन्मदर्ता पाउने हक, (२) परिवार र राज्यले शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा सर्वागीण विकाश गर्न पाउने हक, (३) बालबालिकाहरुलाई प्रारम्भिक बाल विकाश तथा सहभागिताको हक, (४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी तथा जोखिमका काममा लगाउन नपाउने, (५) कुनै पनि बालबालिकाहरुलाई बाल विवाह , गैरकानुनी ओसारपसार तथा अपहरण वा बन्धक बनाउन नपाउने, (६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समुहम भर्ना वा प्रयोग गर्न नपाउने वा धार्मिक वा साँस्कृतिक प्रर्चलनका नाउँमा कुनै पनि माध्यमद्धारा दुब्र्यबहार, उपेक्षा वा शारिरीक वा मानसिक वा योनजन्य शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै उपधारा (७) मा कुनै पनि बालबालिकाहरुलाई घर बिद्यालय वा जुनसकै स्थान र अवस्थामा शारीरिक, मानसिक या अन्य कुनै पनि किसिमको यातना दिन नपाउने, (८) प्रत्येक बालबालिकाहरुलाई बाल अनुकुल न्यायको हक हुने, (९) असाहय, अनाथ , अपाड्डता, द्वन्द्व पिडित, बिस्थापित या जोखिमा रहेका बालबालिकाहरुलाई राज्यबाट बिशेष संरक्षणको सुबिधा पाउने हक र उपधारा (९)मा कानुन बमोजिम दण्दनिय हुने कार्य गरेको पाइएमा पिडित बालबालिकाहरुलाई पिडकबाट कानुन बमोजिम क्षतिपुर्ति पाउने जस्ता धेरै हकहरुको ब्यबस्था नेपालको संबिधानले गरेको छ ।

त्यस्तै नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धि हकको ब्यबस्था गरेको छ जस्को उपधारा (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनेर भनिएको छ त्यस्तै उपधारा (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनेर भनिएको छ । यो व्यवस्थाले पनि बालबालिकाहरुका अधिकारलाई सम्बोधान गरेको छ ।

त्यस्तै नेपालमा बालबालिकाहरुको अधिकार, सवाल र संरक्षण एंव प्रबद्र्धनमा बिभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौता तथा नेपालको नीति नियमहरुले सम्बोधन गरेको छ । बाल अधिकार सम्बन्धी महासन्धी (सिआसी) १९८९, स्थानीय स्वायत्त शासन ऐन २०५५, बालबालिका सम्बन्धी ऐन २०४८, बाल मैत्री स्थानिय शासन राष्ट्रिय नीति २०६८, बालश्रम (निषेध र नियमित) ऐन २०५६, त्रिवर्षीय तथा पञ्चवर्षीय योजनाहरु, बालबालिका सम्बन्धी १० बर्षीय राष्ट्रिय कार्ययोजना, (२०६१÷६२–२०७१÷७२), स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९, बाल मैत्रि स्थानिय शासन ऐन, दिगो बिकासको लक्ष्यहरु (२०१५–२०३०) र स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले पनि बालअधिकारलाई संस्थागत गर्ने प्रयास गरेको छ । यसरी हेर्दा बाल अधिकारलाई नेपालमा बिभिन्न नीति नियमहरुले अधिकतम सम्बोधन गरकेको छ । यसको व्यवहारिक प्रयोग भने आवश्यक छ । 

नेपालमा राष्ट्रिय बाल दिवस मनाईरहदा बालबालिकाहरुको अधिकार संस्थागत गर्न विभिन्न समस्या तथा चुनौतीहरु पनि थपिदै गएको छ । नेपालको बदलिदो परिबेशमा बालबालिकाहरुको सवालहरु पनि बदलिरहेको छ । हाम्रो समाजमा धेरै समाजिक समस्याहरु तथा बिकृतिहरु ब्याप्त छन् । अझै भन्ने हो भने बालबालिकाका तथा महिलाहरुको समस्या धेरै छन् । यि समस्याहरु मध्ये बाल विवाह पनि एक प्रमुख समस्या हो जस्ले गर्दा बाल अधिकार संस्थागत हुन सकिरहेको छैन । त्यस्तै बाल अधिकारको अर्को चुनौती भनेको बाल श्रम शोषण हो । नेपालमा अहिलेको समयमा टुहुरा तथा असाहय बालबालिकाहरु बाल श्रम गर्न बाध्य भएका छन। उनिहरको समस्यालाई  राज्यले उचित सम्बोधन गर्न सकेको छैन । त्यस्तै अर्को समस्या भनेको मानब बेचबिखनको हो । नेपालमा मानब बेचबिखनको उच्च जोखिममा बालबालिकाहरु रहेको बिभिन्न अध्ययनहरुले देखाउछ । बालबालिकाहरुलाई बेचबिखनबाट बचाउन विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्न जरुरी देखिन्छ । त्यस्तै बालबालकिाहरुमा विभिन्न जनचेतनामुलक तथा क्षमतामुलक कार्यक्रमहरु प्रभाबकारी हुन नसक्दा पनि बाल अधिकार संस्थागत हुन सकिरहेको छैन।

नेपालको कानुनमा बालविवाह प्रतिबन्धित भएपनि हाम्रो समाज बाल विवाह मुक्त हुन सकिरहेको छैन । बाल विवाहका कारण हाम्रो समाजमा धेरै किसिमको समस्या तथा बिकृति पनि पैदा भएको छ । उमेर नपुग्दै विवाह गरेमा छिट्टै आमा बन्न बाध्य हुने , आत्मनिर्भर नहुँदै पारिवारिक जिम्बेवारी उठाउनु पर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीबात बञ्चित हुनुपर्ने, त्यस्तै सानैमा विवाह गरेमा शारीरिक तथा मानसिक धेरै किसिमको असर पर्ने, शारीर कमजोर हुने र अत्याश्यक आबश्यकताहरु पुरा गर्न नसक्ने हुन सक्छ । यस्ता जनचेतनामुलक कार्यक्रमहरु बालिबालिकाहरुमा प्रभावकारी ढङ्गले सञ्चालन गर्न जरुरी छ ।  
सानै उमेरमा विवाह गर्ने र गराउने धेरै कारण हुन सक्छ । यस मध्ये सबै भन्दा ठुलो कारण अशिक्षा र चेतनाको अभाब हो । गरीबी, घरको अबस्थाको कारण, कसैको दबाबको कारण र बिभिन्न प्रलोभनको कारण पनि सानै उमेरमा विवाह गर्ने या गराउने हुन सक्छ । त्यस्तै आजभोलिको आधुनिक जमानामा पश्चिमी संस्कृतिको धेरै प्रभाब प्रभाब परेकोले यस्को अनुसरण गर्ने कारणले पनि समाजमा धेरै बिकृतिहरु पैदा भएको छ जसले गर्दा बाल विवाह गर्न थप हौसला प्रदान गरेको छ । बढ्दो आधुनिक उपकरण र गलत सामाजिक सञ्जालको प्रयोगको कारण पनि धेरै बालबालिका र युवाहरु यसको सिकार हुन पुगेका छन् । । जसको प्रत्यक्ष असर बालबालिकाहरुमा परेको छ । सानै उमेरमा प्रेममा पर्ने प्रचलन बढ्दो छ । प्रेम र आकर्षणलाई छुट्याउन नसक्नाले धेरै बालबालिकाहरु गलत कदम उठाउने गरेका छन् । भागेर विवाह गर्ने । डिप्रेसनको सिकार हुने। असुरक्षित यौन सम्पर्क राख्ने र अनईक्षित गर्भधारण गर्नेसक्ने तथा आत्महत्या समेत गर्ने गलत कदम उठाउने घटनाहरु बढिरहेका छन् ।

बालबालिकाहरु पनि आफ्नो अधिकारको बारेमा चनाखो हुने । बाल अधिकारका सवालहरुलाई उठान गर्ने । बाल अधिकारका मद्धाहरुलाई सरोकारवालाहरुसंग राख्ने। विभिन्न बालबालिका शसक्तिकरणका कार्यक्रमहरु, क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने आदि कार्यहरुमा बालबालिकाहरु सक्रिय हुनुपर्छ । त्यस्तै बिभिन्न बालबालिकाहरु बाल क्लब तथा बाल सञ्जालहरुमा आबद्ध भई बाल अधिकारका कुराहरुलाई अगाडि सार्नु पर्छ । अर्को महत्वपुर्ण करा भनेको बालबालिकाहरुले आफनो कर्तब्य बिर्सनु चाहिँ हुँदैन । आजभोलिका बालबालिकाहरु सामाजिक सञ्जालबाट अछुतो छैनन् । उनीहरुलाई त्यस्ता  सामाजिक सञ्जालको गलत प्रयोगबाट रोक्न सक्नु पर्छ ।  
बालबालिकाहरुलाई बढाउने र पढाउने प्रमुख जिम्मेवारी अविभावकको हो । आफ्ना बालबालिकाहरु कहाँ जान्छन् ? के गर्छन् ? कस्तो संगत गर्छन् ? जस्ता कुराहरुमा ध्यान दिन एकदमै जरुरी हुन्छ । त्यस्तै बाल अधिकारका बारेमा प्रत्येक अविभावकहरुले जान्न जरुरी छ  । बाल विवाह रोकथाम तथा न्युनिकरणमा अझै प्रभाबकारी कार्यक्रमहरु गर्न जरुरी छ ।  बाल अधिकार हामी सबैको सरोकारको बिषय हो  । बाल अधिकारको संरक्षणमा तपाईले पनि अहम भूमिका खेल्न सक्नु पर्छ ।

chaudharyk930@gmail.com

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित