थारू महिलाहरुकाे विशेष पर्व कृष्णजन्माष्टमी

निता चाैधरी

थारू समुदायको महिलाहरुको विशेष अर्थात महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीलाई लिइन्छ । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको जन्मोत्सव भएकाले कृष्ण (कान्हा) को पूजा गरिन्छ । थारू महिलाहरुले यस पर्वलाई विशेष महत्वका साथ मनााउँछन्। थारू जातिको इतिहास प्रारम्भ भएदेखि थारू महिलाहरुले यस पर्वलाई उत्साहका साथ मनाउने गरिएको पाइन्छ । यति मात्रै हैन थारू जातिको उत्पत्ति कहाँ, कसरी भयो, थारूहरुको सभ्यताको सिर्जना कसरी भयो भन्ने कुराको स्पष्टता अष्टमीमा गाइने गीतबाट हुन्छ, त्यसैले पनि थारू समुदायमा श्रीकृष्ण जन्माष्टमी र कृष्ण (कान्हा) को सम्झनामा अष्टमीमा गाइने गीतकोे महत्व रहेको छ । इशरु, जाशु, कान्हा र राधा थारूहरुको पूर्वज तथा अग्रज हुन् भन्ने थारू इतिहासविदहरुको भनाई छ ।

थारू समुदायका महिलाहरुले मनाउने विषेश पर्व श्रीकृष्ण जन्माष्टमी हर्षाैउल्लास पूर्वक मनाउने गरिन्छ। अष्टमीमा थारू समुदायका महिलाहरुले भाले बाज्नु अगावै नै घरका सदस्यहरुसँग सामुहिक रुपमा दर खाने गर्दछन्। उनीहरु दिनभर निरहार व्रत बसी बेलुकी पख सामुहिक रुपमा गाउँको महटावाँको घरमा गई पालैपालो श्रीकृष्णको पूजा आरधना गर्छन् । किशोरीहरुले योग्य वर पाउँ भन्दै व्रत बस्ने गर्छन् भने विवाहित महिलाहरुले आफ्नो श्रीमान्को आयु लामो होस् भन्नको लागि व्रत बस्छन् भन्ने परम्परागत मान्यता रहेको पहिलेका थारू बुद्धिजीवीहरुको भनाई छ ।

कृष्ण जन्माष्टमीमा दिदीवहिनीले दाजुभाइलाई दिने कोसेलीले सम्वन्ध प्रगाढ बनाउने गर्छ। जुन कासेलीलाई थारु भाषामा अग्रासन भनिन्छ । अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दाजुभाईका लागि छुट्याउने गर्दछन्। अग्रासनले भावनात्मक सम्बन्धका प्रतिक मात्र नभई दाजुभाई दिदी बहिनी लगाएत पारिवारीक सम्बन्धलाई नै सुमधुर र आत्मीयता कायम गरेको हुन्छ । सबै चेलीवेटीहरु जम्मा भएर रमाउने र एक अर्कामा माया र सद्भाव साटासाट गरेर यो पर्व मनाइन्छ । यति मात्र होइन यस पर्वले दाजुभाई र दिदीबहिनी विचको सम्बन्धलाई प्रगाढ बनाउँछ।

यस्तै यस पर्व थारू समुदायको धार्मिक र साँस्कृतिक महत्व पनि बोकेको पर्व हो। अग्रासन अर्थात् दिदीबहीनीहरुले आफैले बनाएको मिठा मिठा परिकार मिठो मसीनो खाने कुरा मात्र नभई प्रत्येक वर्ष देवीदेवताको सम्बन्धलाई नविकरण गर्नु र माइती पक्ष र चेलीवेटी विचको मानविय संवेग माया, प्रेम र आस्थाको बर्सेनी नविकरणको रुपमा पनि अग्रासनलाई लिने गरिन्छ ।

दाइभाइ नहुने दिदीबहिनीहरुले भने अग्रासनलाई अरु आफ्ना आफन्ती दाजु भाइहरुलाई भावनात्मक रुपले सुमधुर एवं आत्मीयता कायम होस् भन्नको लागि पनि दिने गर्दछन् ।
चाहे देविदेवताको नविकरण होस् चाहे माईती पक्ष र चेलीवेटी विचको सम्बन्ध किन नहोस् त्यसैले सम्पूर्ण थारू समुदायले यदी माईती पक्ष र चेलीवेटी बिचको आत्मीयता कायम गर्नु छ भने अग्रासनलाई पनि महत्वका साथ ग्रहन गर्न उत्तीकै आवश्यक छ । अष्टमी आउनु भन्दा केही दिन पहिलेदेखि गाउँघरमा अष्टमीको बारेमा कुरा चल्न थाल्छ । के लगाउने, कस्तो लगाउने, अष्टमीको जात्रा हेर्न कहाँ जाने आदि इत्यादि विषयमा खास गरी थारू युवायुवतीहरुमा कुरा चल्न थाल्छ । यी विषयमा पूर्व योजनाहरु पनि बनाइन्छ ।

श्रीकृष्ण जन्माष्टमी थारू महिलाहरुको सवैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो । सधैँ काममा व्यस्त रहने थारू समुदायका महिलाहरुले यस दिन रमाइलो गर्ने र कामको थकान अत्याधिक हुने भएकाले थकाई मेट्ने दिनको रुपमा पनि लिने गरिन्छ । पहिलेको तुलनामा अहिले श्रीकृष्ण जन्माष्टमी मनाउने तरिका समयसगसंगै बिस्तारै फेरिदै गएको पनि पाइन्छ। परिवर्तन गर्नु पर्ने त होइन तर पनि समय र परिस्थिति अनुसार चल्नु पर्ने हुनाले पनि यो अवस्थाको सिर्जना भएको हो । अष्टमी आउनुभन्दा करिब करिब एक महिनादेखि नै गाउँघरमा चहलपहल हुन थाल्छ । किलमेल गर्नेदेखि हरेक कुराहरुले स्थान पाउँछ । तयारी धेरै पहिलेदेखि भए पनि एक हप्ता अगाडिदेखि तीव्र गतिमा तयारी हुन सुरु हुन्छ ।

पहिले जस्तै त्यति धेरै तयारी गर्नु त पर्दैन तर पनि तयारी भनेको तयारी नै हो । पहिले सियोको सहायताले कुनै पनि मेसिन बिना हातले नै सिलाएर लगाइने चोली (चोल्या ) लगाइन्थ्यो भने अहिले रेडिमेट सिलाएका लुगाहरु लगाउने चलन बढी भन्दा बढी छ तर सयम र परिस्थितिको परिवर्तन संगसंगै यस्ता कुराहर परिवर्तन हुनु पनि पर्छ । तर अर्को पाटो हेर्ने हो भने सयम र परिस्थितिको परिवर्तन संगसंगै चल्नु पर्छ भनेर आधुनिकतालाई मात्रै ध्यान दिने हो भने त थारु समुदायको पहिचान नै ओझेलमा पर्न नसक्ला भन्न सकिदैेन । त्यसैले समय संगसंगै हरेक कुरामा परिवर्तन हुने स्वभाविक पनि हो हुनु पनि पर्र्छ तर त्यसो भन्दैमा आफ्नो मौलिक पहिचान र संस्कार संस्कृतिलाई पनि सोच्न आवश्यक छ ।

थारु समुदाय प्रकृतिपूजक समुदाय भएको हुनाले यो समुदायले मान्ने हरेक पर्वहरु फरक छन् । सन्दर्भ पर्व श्री कृष्ण जन्मअष्टमीको छ । श्री कृष्ण जन्मअष्टमी आउनु भन्दा ४ । ५ दिन बाँकी हुँदा विशेष तयारी गरिन्छ । लगाउने, किनमेल गर्नेदेखि सबै तयारी हुन्छ ।

थारु महिलाहरुको मौेलिक भेषभूषा सेतो गुनियो, चोली अर्थात ब्लाउज (चोल्या, गोन्या, लेहेंगा) छ । कसैैले यसैलाई प्राथमिकता दिन्छन् भने कसैले आधुनिकतालाई पश्रय दिन्छन् । जुन कुरामा आफ्नो स्वतन्त्रता छ। यसलाई आफूले व्यक्तिगत र स्वतन्त्र पक्षको रुपमा लिन सकिन्छ । अष्टमीको अघिल्लोे दिन थारू समुदायका महिलाहरु अष्टमीमा खाने कुराको तयारी हुन्छ । अघिल्लो दिन दर खाने चलन छ ।

अष्टमीको दिन
अष्टमीको दिन बिहानै गाउँको अगुवा, महटावाँ, भलमन्साकोे घरमा बैठक कोठा (बह्री)मा उत्तरतिरको भागमा भित्तामा चित्र बनाइन्छ । अष्टमीमा बनाइने ती हरेक चित्रको महत्व फरक फरक हुन्छ । सवैभन्दा माथि ४ वटा मान्छेको टाउको बनाइएको हुन्छ । जसलाई थारू भाषामा बरमुन्हा भन्छन् । बरमुन्हा रामायणको रावणको थारू नाम हो । भित्तामा बनाइने तस्वीरहरु फ्रेममा हुन्छ । फ्रेम आकारको छेउछेउमा त्रिभुज आकारको रंगीविरंगी बुट्टा भरिएको हुन्छ । एक लाइनमा द्रौपदी बनाइएको हुन्छ भने अर्को एक लाइनमा पाँच पाण्डवहरुको तस्वीर हुन्छ । पाण्डव थारू समुदायको सवैभन्दा ठूलो देवता भएकाले जन्माष्टमीमा पनि पाण्डवको तस्वीर हुनु पर्ने थारू बुद्धिजीवी छोटीलाल थारूले बताए । उनीहरुको तस्वीर कसैले छाता ओढेको, कसैले मादल बोकेको, कसैले नाचेको बनाइएको हुन्छ । यस्तै एउटा डोलीको चित्र पनि हुन्छ । उक्त डोलीमा पहिले द्रौपदीलाई भित्र्याइएको भन्ने भनाई थारु बुद्धिजीविहरुको पाइन्छ । यस्तै हलोजुवा पनि बनाइएको हुन्छ । खेतीपाती गर्ने थारु समुदायलाई हलोजुवा आवश्यक पर्ने हुनाले हलो जुवाको तस्वीर बनाइएकोको भन्ने परम्परागत मान्यता भएको पाइन्छ । नदी तर्नका लागि भनेर डुङ्गा,दिन र रात छुट्याउनका लागि सुर्य र चन्द्रमा, पाण्डवहरुको रक्षाका लागि दुईवटा कुकुरको तस्वीर हुने ऐतिहासिक मान्यता रहेको पाइन्छ । यो सँगसँगै भगवान् कृष्ण, नदीको आकृति, रुख, मयूर, गाई लगायत विभिन्न किसिमका आकृति बनाइएको हुन्छ ।

कृष्ण जन्माष्टमीमा बनाइने भित्तेचित्र

पहिले थारु समुदायको घर नै छुट्टै पहिचान बोकेको थियो तर अहिले समय परिवर्तनका कारण घरको बनावटमा पनि परिवर्तन भइसकेकाले स्थान अनुसार कतै डिहरीमा त कतै भित्तामा जन्माष्टमीको तस्वीर बनाइन्छ । पहिले घरभित्र भित्ता नहुने तर भित्ताको सट्टामा माटोले बनाइएको भकारी(थारु भाषामा डेहरी )हुन्थ्यो । त्यसलाई ढुङ्गाबाट सेतो चुनले लिपेर त्यही डेहरीमा विभिन्न आकृतिका तस्वीरहरु बनाइन्थ्यो तर अहिले स्थान अनुसार केही परिवर्तन हुन थालेको छ । तस्वीर बनाउने मान्छे पनि व्रत बस्नु पर्ने हुन्छ । जुन तस्वीर अष्टमीको दिन विहान थारु समुदायका महिला या पुरुष दुवैले विहानै नुहाईधुहाई गरी केही पनि नखाएर तस्वीर बनाइन्छ ।

तस्वीर बनाएर तयार पारिसकेपछि साँझपख गाउँका सबै महिला दिदी वहिनीहरु गाउँको अगुवाको घरमा अष्टिम्की टिक्न (कृष्णको पूजा गर्न) जानका लागि तयार हुन्छन् । घरको कूल देवतालाई घरमूलीले सम्झेर बत्ती बालेर थालीमा अक्षता, छेउछेउमा घुन्यासरको फूल,सालको पातमा सिन्दुर (सेन्डुर), माटोको पालामा बत्ती बालेर राखिन्छ र अष्टिम्की टिक्न (पूजा गर्न ) जाँदा सबैभन्दा पहिले घरमूलीले सुरुमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः रुपमा लाइनबद्ध तरिकाले उठाउने गरिन्छ । टिक्ने स्थान पुगेपछि पनि घरमूलीदेखि नै सुरु हुन्छ । घरमूलीले नटिक्दा सम्म (पूजा नगर्दा) कसैले टिक्न (पूजा गर्न) पाउँदैन । घरमूलीले टिकी (पूजा) गरी सकेर अनुमति दिएपछि अरुले सुरु गर्न पाउने पहिलेदेखिको प्रचलन अहिले पनि कायमै छ । यसरी कृष्ण (कान्हा) को पूजा गर्ने बेला थारु समुदायका महिलाहरुले भगवान कृष्णको सम्झनामा गीत पनि गाउने गर्दछन् ।

भगवान श्रीकृष्णको पूजा गर्ने बेला गाइने गीतको केही अंशः
पहिल ट सिरिजल री जलठल ढरटी ।
सिरिजि ट गैल कैली कुश डाब ।।
कबरी चह्रैबो मोर सिरके सेन्डुर ।
बरहु बरस री कही परव मै रहनु ।
ओटि टह्ररो बाह्रु कन्यैया टिक महि डेओ।डेओ।।

यसरी गति गाउँदै पूजा गर्ने र पूजा गरी सकेपछि पुनः सबै दिदीबहिनीहरु आ–आफ्नो घरमा गई थारुहरुको परम्परा अनुसार विशेष गरी कृष्णलाई मन पर्ने परिकार दही, केरा, काँक्रा, अम्बा लगाएतका फलफूलले कृष्णलाई पुजा गर्ने गर्दछन् ।

साँझ घर फर्किएर घरमा तयार पारिएको दहि, लौनी, काँक्रा, अम्बा, केरा, स्याउ लगायत फलफूल पहिले आप्mना दाजुभाईका लागि आप्mनो भागबाट छुट्याएर राख्ने र थारुहरुले हरेक पर्वमा पुज्ने अग्नि देवता हुन्छ । अष्टमीमा पनि अन्गि देवतालाई नपुजी खान नमिल्ने हुनाले पहिले अग्नी देवताको पुजागरि दाजुभाईका लागि कोसेली छुट्याएर आफूले खाइन्छ । सबै परिवारका सबै जना संगै बसेर रमाइलो गर्दै एकअर्कामा माया र सद्भाव साटासाट गर्दैे खाने र रमाउने गरिन्छ ।

पुजा समापन पछि बिशेष परिकारका साथ रमाईलो गरि एक आपसमा बाडीचुडि खानपिन गर्ने चलन रहेको छ । र रातभर सामुहिक रुपमा कृष्ण अर्थात् कान्हाको सम्झनामा गित गाउने गरिन्छ ।रातभरी कृष्णको अगाडि बालिएको बत्ती निभ्यो भने मागेको मनोकांक्षा पुरा नहुने विश्वास रहेको छ । त्यस कारण बत्ती निभ्न नपाओस् भनेर रातभरी जाग्राम बसेर कृष्णको सम्झनामा गीत गाइन्छ ।

रात भरी बत्ती कुरिरहेको बेला गाइने गीतको केही अंश ( डिया जागबेरिक गिट):
टै का इसरु बइठी का र बिसैठ्या
जाओ इसरु म्वार हरवा ओहार ।
टै का री जासु हरवा ओहार पठैठ्या
मोर लाग जासु भटकि भटौरा रिझ ।
कब बासि मुर्घा खैबि कैँठा भाट
कब बासि मुर्घा खैबि गब्डा भाट ।।

कृष्ण जन्माष्टमीको दोस्रो दिन
यस्तै अर्को दिन विहान पनि थारू समुदायका लागि महत्वपूर्ण दिन मानिन्छ । रातभरी जाग्राम बसेका महिलाहरु विहानै भाले बासेसँगै घरमा कोही भान्सातिर लाग्ने कोही कता, सबै आ–आप्mनै काममा व्यस्त हुन्छन् । विस्तारै उज्यालो भएसंगै पुनः कृष्णको पूजा गर्नु पर्ने हुन्छ र रातभर जाग्राम बसि आठौँ अबतारको रुपमा कंशको नाश गर्न जन्म लिएका कनैया (कृष्ण) को पुनः भोलीपल्ट बिहान पुजा गरिन्छ । साँझ तयारी गरे झैँ तयारी गर्ने र कृष्णको पूजा गर्नलाई थारु समुदायको मौलिक भेषभूषामा सबै महिलाहरु सजिएर लामबद्ध तरिकाले अष्टिम्की टिक्नलाई गाउँको अगुवाको घरतिर लाग्छन् । सबैजना पूजा गरिसकेपछि अर्थात् अष्टिम्की टिकी सकेपछि सामूहिक रुपमा सबैजना मिलेर नजिकैको जलाशय, खोला, नदी, तालमा फुलपाती सेलाउन (बगाउन) जाने गरिन्छ । सेलाउन जाने युवती तथा महिलाहरुलाई थारु समुदायको इतिहासमा गोपिनीको नामबाट चिनिन्छ ।

यता घरमा यस दिन जोडा तरकारी पकाउन नमिल्ने प्रचलन पहिलेदेखि भएको थारु बुद्धिजीवीहरुले बताउँछन् । विजोडा तरकारी३, ५ तथा ७ वटा विभिन्न किसिमका गेडागुडी, सागपात, पकाएर तयार हुन्छ । अरु पर्वमा माछामासुलाई प्राथमिकता र महत्व दिइन्छ तर यसदिन भने सागपातलाई विशेष महत्व दिइन्छ । सोही अनुसार फुलपाती सेलाएर सबै रमाउँदै पुनः घर फर्किने र घरमा पकाएको भात, तरकारी दाजुभाईको लागि छुट्याएर अग्नि देवतालाई पुजा गरी आफूले खाने गरिन्छ ।

यसरी कृष्णको पूजा गरी अग्रासन छुट्याइ सकेपछि अविवाहित युवतीहरुले घरको दाजुभाइलाई खान दिने र विवाहित महिलाहरुले माइतीमा रहेका आप्mनो दाजुभाइलाई दिन जाने गर्दछन् । आफ्ना दाजुभाई नहुनेले नजिकको नाता पर्ने दाजुभाइलाई पनि दिने गरिन्छ । दाजुभाइ र दिदीवहिनी बिचको सम्बन्धलाई सुमधुर बनाउन पनि यस पर्वको महत्व एकदमै छ । यस कारण पनि थारू समुदायका लागि अग्रासनले छुट्टै पहिचान कायम गरेको छ ।
यसरी थारु समुदायमा अष्टिम्की अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई विदाई गरिन्छ ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित