थारु भाषा मानकीकरण कार्यशाला गोष्ठी सम्पन्न, १२ बुँदे निर्देशिका जारी

थारु भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारु मानक लेखन निर्देशिका तयार गरेको छ ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि पत्ता नलागेसम्म देवनागरी लिपि प्रयोग गर्ने र थारु लिपि खोजीकार्य जारी राख्ने निर्णय पनि गरेको छ । थप निर्णयमा वर्णमाला बनाउँदा स्वर वर्णको कथ्यमा अ, आ, इ, उ, ए, ओ गरी ६ वटा वर्ण प्रयोग हुने भएपनि लेख्यमा अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं. अः गरी १३ वटा वर्णको प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

सोहीअनुसार व्यन्जन वर्णको कथ्यमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह गरी २९ वटा वर्णको प्रयोग गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीतिपुरका भाषा विशेषज्ञ प्रा.डा. दानराज रेग्मी र डा. नेत्रमणी दुमीराईको विशेष निगरानीमा लेखन निर्देशिका तयार गरिएको हो ।

थारु आयोग तथा थारु कल्याणकारिणी सभा (थाकस) को संयुक्त आयोजनामा आयोजित गोष्ठीबाट लेख्य वर्णमा क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स ह, लेख्ने, र श, ष, क्ष, त्र, ज्ञ समेत गरी ३६ वटा वर्णको आवश्यकताअनुसार प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, संवर्णको रुपमा ड. , ढ. , ङ्ह, न्ह, म्ह, र्ह, ल्ह गरी ७ वटा वर्णको प्रयोग गर्ने, तत्सम, तद्भव र आगन्तुक शब्दलाई स्वीकार गरी लेख्ने निर्णय गरेको छ । थारू मौलिक शब्दलाई उच्चारणको आधारमा ह्रस्व र दीर्घ दुवैको प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

सोहीअनुसार पञ्चम वर्ण ङ, ञ, ण, न, म लाई देवनागरी लिपिमा भएअनुसार लेख्ने, अ, आ र उ उच्चारणबाट बन्ने शब्दमा चन्द्रविन्दु ( ँ ) को प्रयोग गर्ने । अन्यमा शिरविन्दू ( ं ) प्रयोग गर्ने निर्णय पनि गोष्ठीले गरेको आयोजकले बताएको छ ।

सोहीअनुसार पाउ विन्दू, हलन्त र अजन्त चिन्हहरूको आवश्यकताअनुसार प्रयोग गर्ने, स, श र ष मध्ये थारू मौलिक शब्दमा स को प्रयोग गर्ने । तत्सम, र आगन्तुक शब्दहरूमा भने श र ष दुवै वर्णको समेत प्रयोग गर्ने निर्णय भएको छ ।

त्यस्तै, कारक र विभक्ति चिन्ह शब्दसँग जोडेर लेख्ने, खातिर र लाग विभक्ति छुट्टै प्रयोग गर्न सकिने गोष्ठीबाट निर्णय भएको छ । त्यस्तै, शब्दको शुरु र बीचमा इकारका लागि ( ि) चिन्हको प्रयोग गर्ने, तर शब्दको अन्त्यमा इकार का लागि ( ी ) र शुरु र बीचमा ह्रस्व उकार ( ु ), अन्त्यमा ऊ कार ( ू ) दीर्घ मात्रा शब्दको अन्तिममा प्रयोग गर्ने निर्णय गरेको छ ।

सोहीअनुसार थारू मौलिक शब्दमा ह्रस्व प्रयोग गर्ने, आगन्तुक शब्दमा स्रोेतभाषाको लेखन प्रणालीअनुसार ह्रस्व र दीर्घ प्रयोग गर्ने निर्णय गरेको छ ।त्यस्तै, संयोजकको प्रयोग गर्दा थारू भाषामा काहेकि, तर, मने, मुले, काखरेकि, व, वा, ओ, तबमारे, ओह ओरसे, ओहमार, कि, तौनफे, वा, लेकिन, मनो, क्याम्की, टभुफे, नै टो, हे, तथा, आर, तयो, महज, ताकि, मतर, और, हरे, नै ते, तौन, तौना, फिर, काकरेकि, कणिलेकि, कथिलेत, जब, तब, वकिन, आ, अउर, मगर, अगर, स्वयम्मे, या त, तैयौ लगायत थारू समुदायमा प्रचलित संयोजकहरूको प्रयोग गर्ने निर्णय गरेको छ ।

सोहीअनुसार संयुक्त क्रियापद जोडेर (पदयोग) लेख्ने, तर आवश्यकताअनुसार पद वियोग गर्ने (छुट्याएर लेख्ने) निर्णय पनि गरेको छ ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु भाषा मानकीकरणको पहिलो खुड्किलोको काम भएकोमा खुशी व्यक्त गरे । मानकीकरणको काम अझै बाँकी रहेकाले सबैको सहयोग र सक्रियताले मानक भाषा बनाउने कामलाई निष्कर्षमा पुर्याउन सहज हुने बताए।

सोहीअनुसार कार्यक्रममा भाषा विशेषज्ञ, प्रा.डा. दानराज रेग्मी, थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी, थारु अगुवाहरु भुलाई चौधरी, रामबहादुर चौधरी, लक्की चौधरी, शान्ति चौधरी, सुशीला चौधरी लगायतले थारु भाषा मानकीकरणका लागि चार दिनमा ठूलो काम भएको चर्चा गरे । कार्यशाला गोष्ठीमा २४ जिल्लाका भाषा विज्ञ, साहित्यकार, पत्रकार तथा अगुवाहरुको सहभागिता रहेको थियो ।

हमार पहुरा डटकमबाट

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित