परदेशी पीडा “साइप्रस”

Sarita Cyprusनेपालको राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारको अवस्था समस्या बनेपछि रोजगारको लागि लाखौँ युवाहरू विदेशीएका छन्। त्यसै क्रममा नेपालको महिलाहरू पनि आफूलाई अव्वल सावित गर्दै बैदेशिक रोजगारलाई आफ्नो कर्मको रुपमा स्विकार गर्दै विदेशी जीन्दगी बिताउन बाध्य छन्। नेपाली महिलाहरूको रोजगारको लागि अन्य खाडी मुलुकभन्दा युरोप भएको हुनाले साइप्रस रोजगारको लागि आकर्षणको केन्द्र बनेको छ।

 

साइप्रस दुनिया कै एक अनौठो देश भनेर चिनिन्छ। जस्को उत्तरी आधाभाग नर्थ साइप्रस टर्कीको अधिनमा रहेको छ भने दक्षिणी भाग साइप्रस जसलाई रिपब्लिक अफ साइप्रस भनेर भनिन्छ। युरोपीयन यूनियनको सदस्यतामा रहेको साईप्रस प्रभावशाली मुलुक ग्रीसको निकतामा रहेको देश हो। साइप्रस सानो र शान्त भएकोले स्वर्ग नै मानिन्छ। जहाँ नेपाली प्रावासीहरुको जनसंख्या १२ देखी १३ हजारको हाराहारीमा रहेको छ। नेपाली मूलको मानिसहरूको उक्त जनसंख्यामध्ये ८ देखी ९ हजार कामदार भिसा र लगभग ४ हजार विद्यार्थी भिसामा आएका छन्। साइप्रस युरोप यूनियनको सदस्यतामा रहेपनि यहाँ तेस्रो मुलुकको विधार्थी र कामदारको लागि जीन्दगी एकदमै कष्टकर र चुनौतीपूर्ण छ।

 

साईप्रसमा यहाँको जनसख्याभन्दा अन्य देशका मानिसहरूको बढी बसोबास रहेको पाइन्छ। तर घरेलु कामदारका रुपमा आउने इन्डिया, फिलिपिन्स, भेतनाम, नेपाल, श्रीलंका र केहि अंशमा बंगलादेश बाट हुन्। साइप्रसमा नेपाली कामदारहरू आउन सुरू गरेको इतिहास त्यती लामो छैन। नेपाली महिलाहरू साईप्रसमा घरेलु कामदार र केयर गीभरको रूपमा आउने क्रम सन् २०१२ देखि सुरू भएको हो। मनमोहक पर्यटकिय क्षेत्र, स्वच्छ हावा, सूर्यको मुख्य गन्तव्य शान्त वातावरण भएको साइप्रसमा अहिले नेपाली कामदारहरूको सङ्ख्या बढ्दै गएको छ । नेपाली घरेलु महिला कामदारहरू बढेसँगै उनीहरूको समस्याहरू पनि त्यही अनुपातमा बढिरहेको छ। हजारौं सपना र उत्कृष्ट जीवनयापनको लालचमा साइप्रस पसेका विद्यार्थी र केही नेपालीहरूको जनजीवन दयनीय छ।

नेपालका मेनपावरहरूले अनेक आश्वासन देखाई मोटो रकम असुल गर्ने तर विदेशको यथार्थ कुराहरु स्पष्टसँग बुझाउन नसक्दा बिदेशीने बित्तिकै सबै आशा र सपना निराशामा परिनत भै आशाहीन जीन्दगीको कथा सुरु हुन्छ। युरोपियन मुलुक भएपनि सबैले भने अनुसारको कामदारदाता पाउन गाह्रो हुन्छ। साइप्रसमा ग्रीक भाषा बढी मात्रामा प्रयोग हुने हुँदा नेपालबाट आउदा मेन पावरहरूले भाषाको ज्ञान बिना पठाएका कैयौं महिला दिदीबहिनीहरू बिना कसुर विभिन्न आरोप र लान्छना लगाई महिना दिन नहुँदै फिर्ता नेपाल डिपोर्ट गरेको केसहरू देख्न सकिन्छ। समस्यामा परेका महिला दिदीबहिनीहरूलाई साईप्रस र नेपालका एजेन्टहरूले सहयोग गर्नुको सट्टा उल्टै मानसिक यातना दिने, धम्क्याउने र बेवास्ता गर्ने गरेका थुप्रै घटनाहरू देख्दा विदेश रहर भन्दा अभिस्राप जस्तो लाग्छ।

कैंयौ नेपाली दिदीबहिनीहरू समस्यामा परेपछि आत्तिएर रातारात नै काम छाडेर घरबाट बाहिर निस्किन्छन् र खाने बस्ने कुनै विकल्प नहुने हुँदा पार्कमै कैंयौ रात काट्न बाध्य हुन्छन्। पासपोर्ट र भिसा कार्ड जस्ता आधारभूत कागजात कामदार स्वयम्ले राख्न पाउदैन। यसरी आवश्यक कागजातहरू एजेन्ट र मालिकले नै राखिदिने हुँदा पीडित कामदारको उद्धार र स्थानान्तरण गर्नको लागि चासो राख्ने नेपाली संघसंस्था र सहयोगी व्यक्तिलाई पनि जटिल समस्या झेल्नु पर्ने विडम्बना छ।

हुन त साइप्रस मानव अधिकार संगठन धेरै भएको देश भनेर चिनिएता पनि यहाँ घरेलु कामदारलाई सम्झौता पत्रमा तोकिएको समयभन्दा धेरै घण्टा काम लगाएको पाइन्छ। सरकारी बिदामा छुट्टी भएपनि छुट्टी नदिने, छुट्टीको दिनमा अतिरिक्त काम लगाए वापत पारिश्रमिक नदिदा आत्मसम्मान स्वरुप श्रम गरिखाने र बाच्ने अधिकार नपाउदा आत्महीनताले कैंयौ मन र शरिर गलाएको छ। तलव एकदमै न्यून तर काम एउटा घरमा भनेर आए पनि उनका नातागोता गरि २ वा ३ वटा घरमाअगी लगेर कामदारलाई काम लगाउने अमानविय व्यवहार देख्दा मानव अधिकारको परिभाषा अक्षरमा मात्र सिमित रहेछ भनि महसूस गराउछ।

 

अन्य देशको कामदारले तलव बढी र सोसल इन्सयोरेन्स पाउछन् तर नेपाली कामदारले प्रत्येक महिना बुझाएको सोसल इन्स्योरेन्सको रकम अन्त्यमा (काम छाड्ने बेलामा वा नेपाल जाने बेलामा) नदिने गरेको पाईन्छ। नेपालबाट कामका लागि साईप्रस प्रवेश गरेको महिनौ बितिसक्दा पनि भिसा प्रक्रियाको लागि एजेन्ट र कामदार दाताले कुनै पनि प्रक्रिया अगाडि नबढाई दिदा कामदारहरू पीडित भै इलिगल बस्नु परेको व्यथा कहाँ गएर सुनाउने? सुनाउने ठाउँ र निकाय नै छैन। साइप्रसमा नेपालीहरूको सेवाको लागि रहेको होनरी कन्सुलेट अन्धों र बहिरो छ भन्दा नि हुन्छ। कामदारहरूले सामान्य कागजात बनाउन समेत नेपाल राजदुतावास इज़रायल पठाउनु पर्ने हुदा धेरै समय कुर्नु पर्ने र कागजात बनाउन चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ।

विदेशी ठाउँ शहरका नाम सुन्दा रमाईलो लाग्न सक्ला। समुन्द्रको किनारा, ठुलो ठुलो गगनचुंबी घर र चिल्ला रोडको दृष्यले मनमा आहा! विदेश भन्ने कल्पना आउन सक्ला किनकी नेपालमा मान्छेहरूको मनस्पटनमा विदेशमा पैसा फल्छ र जीन्दगी सुखी समपन्न र ऐस, आरामको सोच हुन्छ। तर यथार्थ विल्कुलै फरक हुन्छ। विदेशी जीन्दगी भनेको आफूलाई युद्धको मैदानमा धकेल्नु सरह हो। हार मानेर घर फर्किजाउँ भने ऋणै ऋणको भारी। परिवारले आफू माथी राखेको आशा र भरोसा नटुटोस् भनेर संघर्षको मैदानमा जीन्दगीसँग युद्ध लडिरहनु पर्ने। खानको लागि खाना समयमा नहुने, पिउनको लागि पानी नपाउदा घन्टौ डिउटी खट्न थुक निल्दै आफूले आफैलाई साहारा दिनु पर्ने।

सागरको छाल जस्तै मनका ज्वारभाटाहरू बजारिएको जीन्दगीले म नेपाली हुँ, मैले नेपाल फर्किनु पर्छ भन्ने इच्छालाई मसान घाटमा खरानी बनाएको जस्तै कैंयौको जीवन प्रभावित छन्। अनि जीवनको एउटै उदेश्य जसरी पनि सर्भाइव बन्न पुग्छ। नेपालीहरू साइप्रस सरकारको आप्रवासीहरू प्रतिको दृष्टिकोण र यहाँको निति तथा कानूनबारे राम्ररी नबुझी शरणार्थी दर्जा पाउनको लागि आवेदन दिन पुग्छन्। यो प्राय नेपाली घरेलु कामदारहरूका रुपमा रहेको महिला दिदीबहिनीहरूमा व्यापक रूपमा रहेको छ। कस्तो बाध्यता भनौं या परिस्थिति आफ्नो देशको नागरिकता त्यागेर शरणार्थीको दर्जा पाउन नेपालीहरू आतुर देख्दा हाम्रो देशको गरिमा अन्य विदेशीहरूको नजरमा सून्य भइरहेको छ।

काम गर्ने कमाउने र आत्मनिर्भर हुने उमेर र समयमा हाम्रो नेपाली दिदीबहिनीहरू विदेशमा पनि अनेकौं बेतिथिको शिकार हुनुपर्ने परिस्थितिले साइप्रसमा विकराल रुप लिइरहेको छ। अन्य मुलुकजस्तै साइप्रसले पनि नेपालमा ‍रेमिट्यान्स ‍भित्र्याउन ‍ठूलो सहयोग पुर्याउदै आएको छ। ‍मुलुकको समृद्धीका लागि नेपाली महिलाहरूले पनि राज्यको अर्थव्यवस्थामा योगदान दिदै महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। तर उनीहरूको समस्या समाधानको लागि राज्य पक्षले कुनै पहल गरिएको देखिदैन।

 

साइप्रसमा विभिन्न राजनीतिक पार्टीमा आस्था राख्ने दल, सामाजीक, धार्मिक र जातिय मौलिक पहिचानको लागि संघसंस्थाहरू छन्। हामी सबै नेपाली हौँ भन्ने चिन्तनले एक अर्कालाई साथ सहयोग गर्दै आइरहेको छ। विभिन्न जात, धर्म, क्षेत्र,भाषा र लिंग अनेकतामा एकताको परिचय  दिदै क्रियाशील,  १२ वटा संघसंस्थाहरू एनआरएनए साइप्रससँग समन्वय गर्दै आइरहेको उदाहरणीय सहकार्य देख्न सकिन्छ। साइप्रसमा विद्यार्थी र नेपाली कामदारहरूको समस्या सामाधानका लागि एनआरएनए साइप्रस सधैं तत्पर रहिआएकोले गर्दा यहाँको प्रावसी नेपालीहरूले थोरै भएपनि राहत पाउदै आएको छ। तर साइप्रसमा रहेको नेपालीहरूको समस्या समाधान नेपाल र साइप्रस सरकार विच राजनीतिक र कुटनीतिक तवरले मात्र सम्भव छ।

एनआरएनए साइप्रसले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, श्रम,रोज़गार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय र नेपाल राजदुतावासमा पटक-पटक यी समस्याहरूको सम्बन्धमा पत्र पठाउदै आएको छ। यत्ति मात्र हैन एनआरएनए साइप्रस र श्रम मन्त्रालय बिच समसामयिक भेटवार्ता भै नेपाल सरकार र साइप्रस सरकारसँग कानून संगत श्रम सम्झौता, घरेलु कामदार र बिद्यार्थीहरू लगायत अन्यले भोग्नु परेका गम्भीर समस्याबारे गहन विषयमा छलफल भएपनि सरकारका तर्फबाट अहिलेसम्म यस विषयमा सम्बोधन गरिएको छैन। सम्बन्धित निकायहरूबाट पहल गर्ने आश्वासन मात्र पाइयो समस्या समाधानका लागि न चासो देखियो न त सुनुवाई भयो। युवा र श्रमिक भनेको देशको योद्धा हुन् र योद्धाहरूलाई बचाउन सके मात्र बलियो र समृद्ध मुलुकको परिकल्पना गर्न सकिन्छ। त्यसैले नेपाल सरकारले यस विषयमा गम्भीर चिन्तन गर्न जरुरी देखिएको हुनाले चाडोभन्दा चाडो सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस्।

 

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित