सात लाख लगानी, दैनिक सात हजार रुपैया आम्दानी

राजापुर २, जोतपुर बर्दियाका सिताराम थारु उच्च शिक्षा अध्ययनका सिलसिलामा २०५९ सालमा काठमाडौं आए । सितारामसँगै प्रवेशिका परीक्षा (एस.एल.सी.) पास गरेका उनका अधिकांश साथीहरुले विभिन्न कारणले पढाइ छाडे भने कतिपय वैदेशिक रोजगारीका सिलसिलामा विदेशिए । तर, सिताराम त्यस्तो पात्र हुन् जसले स्वदेशमा नै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिने र केही गरेर देखाउने अठोट गरे । हाल उनी उनी मास्टर डिग्री अध्ययन गरिरहेका छन् भने विभिन्न सामाजिक कार्यमा समेत आवद्ध छन् ।

काठमाडौंजस्तो महंगो ठाउँमा बर्दियाको सामान्य किसान परिवारबाट आएर टिक्नु सामान्य कुरा होइन । सीताराम कठिन अवस्थामा पनि हिम्मत नहारिकन आफ्नो पढाईसँगै सामाजिक सेवामा पनि लागिरहेका छन् । करिब १६ बर्षदेखि संघर्षै संघर्षमा काठमाडौंमा बसिरहेका उनले राम्रो प्रभाव बनाए र यहाँ बस्ने थारु समुदायको मात्र नभई सबैका विश्वासपात्र, दरिलो र आँटिलो युवाको परिचय समेत बनाएका छन् ।

यसरी सवैको विश्वास पात्र बनेका सीतारामले कुनै व्यवसाय गर्ने निधो गरे र केही साथीहरुसँग सल्लाह समेत गरे । किनकी त्यसका लागि आवश्यक लगानी एकैपटक जुटाउन सजिलो थिएन । उनको व्यवसाय सञ्चालन गर्ने योजना सुनेपछि साथीभाईले समेत सहयोग गर्ने बाचा गरे । सबैको सहयोगबाट उनले काठमाडौंको कीर्तिपुर पाँगामा ‘बरघर रेष्टुरेन्ट’ सञ्चालन सुरु गरे ।

आफूसँग भएको केहि रकम र साथीहरुसँग सापटी लिएर करिब ७ लाखको लगानीमा खोलिएको ‘बरघर रेष्टुरेण्ट’ मा थारु स्पेशल परिकारहरु पाइन्छ । खासगरि पश्चिम नेपालका थारु समुदायमा परम्परागतदेखि खाँदै आएको घोङ्घी, माछा, गंगटा, सुटही, ढिक्री, रोटी, सुँगुरको मासु, लोकल चल्लाको मासु, अन्डी चामलको भात, मकैको डर्या भात, अन्डीको झोल, छब्वा जाँर, मौह्वाको रक्सी लगायतको व्यवस्था गरिएको बरघर रेष्टुरेण्ट सञ्चालक थारुले जानकारी दिए ।

अन्य होटलहरुका परिकारहरु भन्दा निकै सस्तो र स्वादिलो परिकार निर्माण गर्ने बरघर रेष्टुरेन्ट धेरै ग्राहकहरुको रोजाईमा पर्ने गरेको छ । ‘बरघर रेष्टुरेन्ट सञ्चालनमा ल्याएदेखि नै ग्राहकहरुको चाप बढेको बढ्यै छ’, उनले भने, ‘ग्राहकहरुले भने बमोजिम सेवा दिन नसक्दा आफूहरुलाई अप्ठ्यारो लाग्छ ।’

उनले आफूले सोचेको भन्दा तेब्बरको संख्यामा ग्राहकहरु थारु परिकारको स्वाद लिन रेष्टुरेन्टमा आउने गरेको बताए । थारु परिकारको स्वाद लिन थारु समुदाय भन्दा अन्य समुदायका ग्राहकहरु बढी आउने गरेको उनको भनाई छ । उनले भने, ‘हाम्रो परिकारको स्वाद लिन नेवार, ब्रम्हाण, क्षेत्रीहरु नै बढि आउने गर्नुहुन्छ, खासगरी घोङघी, सुटही, ढिक्री र अन्डीको भात, झोल खान बढि आउनुहुन्छ ।’

‘स्पेशल थारु परिकार (घोङघी, सुटही, ढिक्री र अन्डिको भात, झोल) प्याकेजमा २ सय ५०, र घोङघी, ढिक्री मात्र खाने हो भने हो भने ६५ रुपैयाँका दरले सेवा दिदै आएका छौ, सञ्चालक थारुले भने, ‘थारु परिकारसँगै अन्य सेवाहरु पनि दिइरहेका छौं ।’

आफूहरुले व्यवसायमुखी भन्दा पनि तराईका आदिवासी थारु समुदायको पहिचान जोगाइराख्नका निम्ति बरघर रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनले सुनाए ।

‘नेपालको राजधानीमा थारु समुदायको परम्परागत परिकार चिनाउन तथा थारु समुदायको पहिचानलाई बचाइराख्न मद्दत पुगोस भनेर हामीले यो रेष्टुरेन्ट खोलेका हौं’, उनले भने, ‘अहिले बरघर रेष्टुरेन्टमा दैनिक २५ देखि ४० हजार रुपैयाँसम्मको व्यापार हुदै आएको छ भने दैनिक ५ देखि ७ हजार सम्म नाफा हुने गरेको छ ।’

‘साँच्चिकै पैसा कमाउने नै हो भने विदेश जानुपर्छ भन्ने छैन’, उनले भने, ‘मान्छेको मन, इच्छाशक्ति भएपछि जुनसुकै ठाउँमा पनि राम्रो पैसा कमाउन सकिन्छ ।’ यो रेष्टुरेन्टलाई थारु होमस्टेको रुपमा विकास गर्ने उनको योजना छ ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित