उप–प्राध्यापकको ‘आपन विकास आप्नहे कर्ना हो’ जागरण गीत

माधव चाैधरी

यो गीतको चौथो हरफ ‘आपन डगरिक काँट आप्नेह फर्ना हो’ र अन्तराको पनि चौथो हरफ ‘उठी यूवा कर्म करी दुनिया हिलाक’ विम्वात्मक छन् । यहाँ गीतकारले जीवन संघर्षका क्रममा आउने अबरोधलाई काँट (काँडा) भनेको देखिन्छ भने युवाहरुले दुनिया हल्लाएर कर्म गर्नु पर्छ भन्नुको अर्थ आफ्नो जीवन र समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने गरी शारिरीक तथा मानसिक परिश्रम गर्नु पर्छ भन्न खोजेको देखिन्छ ।

गीत : आपन विकास आप्नहे कर्ना हो…..
शव्द :के वि चौधरी
संगीत : शिशिर योगी
स्वर : शिशिर योगी, अन्नु चौधरी, रोशन रत्गैया
लौव अग्रासन साप्ताहिकको प्रस्तुतिमा सोहि पत्रीकाका प्रधान सम्पदक एवं महेन्द्र बहुमुखी क्याम्पस दाङकाे उप–प्राध्यापक समेत रहुनभएका के वि चौधरीले हालै एक थारु भाषाको जागरणमुलक गीत बजारमा ल्याउनु भएको छ । घोराहीमा शनिबार विमोचन गरिएको सो गीतका विविध पक्षबारे यस लेखमा चर्चा गर्न खोजिएको छ ।


१) शव्द र भाव
क) पृष्ठभूमि ः न्याय, समानता र अधिकारका लागि भन्दै नेपालमा थुप्रै आन्दोलन र राजनीतिक क्रान्तिहरु भए । राजनीतिक परिवर्तन हुने, फेरी नयाँ खालको प्रतिगमन हुने र पुनः लोकतन्त्र प्राप्ती हुने क्रम विगत पउने एक शताव्दीमा नै चलिरह्यो । थारु लगायत सांस्कृतिक र भाषिक रुपमा राज्यको मुलधार भन्दा पर रहेका समुदायले पनि आन्दोलन र संघर्षमा बलिदानी गर्ने तर सधै अरुको भ¥याङ वा भोट बैंक मात्र बनाईएको विश्लेषणका विच यो गीत बनेको देखिन्छ । अहिल सम्म भएका राजनितिक परिवर्तनमा जतिसुकै योगदान भएपनि कसैबाट पनि कुनै क्रान्ति र मुक्तिको अपेक्षा गर्न नसकिने रहेछ– यो अहिले आमरुपमा सबैजसोको निराशा मिश्रीत समान धारणा हो । यहि धारणा माथी टेक्दै, आशा र हौसलाको भाव समेत थपेर यो गीत सृजना भएको पाईन्छ ।

आजको समाजमा उपयुक्त सामाजिक मनोविज्ञान तयार गर्नु यो गीतको मुल उद्देश्य रहेको देखिन्छ । आफ्नो लागि हामी आफैले मात्र गर्न सक्छौं, अरु कसैको अपेक्षा गर्न सकिदैन र गर्न हुदैन भन्ने नै यो गीतको भुल भाव रहेको देखिन्छ ।


ख) शव्द चयन ः थारु भाषाको यस गीतमा प्रयोग भएका शव्द सरल, सहज र साधारण छन् । सरल शव्द प्रयोग गरी गीतको अपेक्षित सन्देश प्रवाह गर्ने प्रयास गरिएको देखिन्छ । गीतलाई चर्चित बनाउने नाममा द्विअर्थी शव्द प्रयोग गर्ने वा क्लीष्ट शव्द प्रयोग गर्ने समेत भईरहेको सन्दर्भमा गीतकार केवि चौधरीले लक्षित स्रोताहरुलाई सहजै सन्देश ग्रहण गर्न सक्ने गरी शव्द चयन गर्नुभएको छ । यो गीतको एउटा सवल पक्ष हो । स्थाईको चौथो हरफ ‘आपन डगरिक काँट आप्नेह फर्ना हो’ र अन्तराको पनि चौथो हरफ ‘उठी यूवा कर्म करी दुनिया हिलाक’ विम्वात्मक छन् । यहाँ गीतकारले जीवन संघर्षका क्रममा आउने अबरोधलाई काँट (काँडा) भनेको देखिन्छ भने युवाहरुले दुनिया हल्लाएर कर्म गर्नु पर्छ भन्नुको अर्थ आफ्नो जीवन र समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने गरी शारिरीक तथा मानसिक परिश्रम गर्नु पर्छ भन्न खोजेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयका अंग्रेजी साहित्य विषयका उप–प्राध्यापक समेत रहनुभएका, पत्रकारिता, साहित्य र सामाजीक अभियानहरुमा सक्रिय गीतकार ‘के वि सर’ थारु भाषामा सरल, मिठो र बोधगम्य शव्द संयोजन मार्फत यो गीतको रचना गर्न सफल हुनुभएको छ ।
ग) भाव ः प्रस्तुत गीत भाव प्रधान गीत हो । यो गीतको प्रधान उद्देश्य कसैको गायकी पक्ष उजागर गर्नु, वा सांस्कृतिक परम्परा प्रचारमा ल्याउनु, वा चर्चा बटुलेर लाभ प्राप्त गर्नु, वा कृति राख्नका लागि कृति संग्रह गर्नु होईन । आजको समाजमा उपयुक्त सामाजिक मनोविज्ञान तयार गर्नु यो गीतको मुल उद्देश्य रहेको देखिन्छ । आफ्नो लागि हामी आफैले मात्र गर्न सक्छौं, अरु कसैको अपेक्षा गर्न सकिदैन र गर्न हुदैन भन्ने नै यो गीतको भुल भाव रहेको देखिन्छ । गीतमा विकास भन्नाले भौतिक, सामाजीक र क्षमतागत विकासलाई संकेत गरिएको छ । गीतमा थारु भाषाको प्रयोग भएकाले लक्षित स्रोता थारु समुदाय, खासगरी थारु युवा रहेको मान्नु पर्छ । तर, यो गीतको भाव सर्वमान्य छ । कुनै समुदाय लक्षित छैन । गीतले विकास आफै गर्नु पर्छ भनेर अमुर्त खालको उपदेश मात्र दिएको छैन । बरु विकास कसरी हुन्छ भन्ने पनि सिकाएको छ । गुणस्तरिय शिक्षा आर्जन गर्ने, पर्याप्त शारिरीक तथा मानसिक श्रम गर्ने र आ–आफ्नो घर परिवार सुन्दर बनाउनमा सबै युवा लाग्नु पर्छ भनिएको छ ।


गीतको दोस्रो अन्तराले झनै गहन सन्देश बोकेको छ । थारु लगायत जनजाति समुदायका शिक्षित युवाहरुमा राज्यले आफुहरुलाई समान नागरिकको व्यावहार नगरेको, आफुले बोल्ने भाषा मान्ने संस्कृति माथि राज्यले व्यावहारिक रुपमा अपनत्व नलिएको, आफ्नो भाषा र संस्कृति प्रयोग विहीन बनाईदिने खालको राज्य व्यबस्था रहेको गुनासो छ । यसले देश, राज्य व्यबस्था र राज्यको नियम कानुन माथी जनताको अपनत्वको भावना न्युनिकरण गरिदिन्छ । तर, यस गीतका गीतकारले यो देश र यहाँको श्रोत हाम्रै हो, यसमाथी हाम्रो महत्वपुर्ण योगदान र समान हक छ भन्ने सन्देश यो गीत मार्फत दिनुभएको छ । उहाँले अहिलेको मुख्य आबश्यक्ता ‘केही गर्छु’ भन्ने हिम्मतको भएको भन्दै युवाहरुलाई अघि बढ्नका लागि हौसला प्रदान गर्नुभएको छ ।
२) संगीत पक्ष ः
संगीत साधनामै जिवन समर्पन गर्नुभएका दङली संगीतकार शिशिर योगीको संगीत सृजना गीतको भाव सुहाउदो छ । युवा पुस्तालाई कर्म र जिवन परिवर्तनमा लाग्न हौसाला प्रदान गर्ने शव्द भावमा गीतको संगीत पक्षले थप बल पु¥याएको अनुभुति हुन्छ । सामान्यतया कुनै पनि गीतको शव्द मात्र कोरा रुपमा पटक पटक सुन्ने हो भने त्यसले दिने आनन्द र सन्तुष्टि क्रमशः घट्दै जान सक्छ । तर जव त्यहि शव्दलाई पनि भाका मिलाएर, उपयुक्त वाजा सहित मिठो स्वर भएको व्यक्तिले गायो भने त्यहि शव्द जति सुन्दै गयो, त्यति आनन्द आउने हुन सक्छ । संगीतको उद्देश्य नै यहि हो र यसमा संगीतकार योगी गीतको भावमा योगदान दिन र गीतलाई कर्णप्रिय बनाउन सफल देखिनुभएको छ ।
३) गायकी ः

यस गीतमा तिनजनाको स्वर छ ः शिशिर योगी, अन्नु चौधरी र रोशन रत्गैया । शिशिर योगीका लागि सम्भवतः यो नै पहिलो रेकर्डेड थारु गीत होला । उहाँ नेपाली गीत संगीतको क्षेत्रमा स्थापित गायक तथा संगीतकार हुनुहुन्छ । उहाँको परिपक्वता यो गीतमा पनि झल्कन्छ । गायिका अन्नु चौधरी पनि पछिल्लो समय नेपाली गीत संगीतमा स्थापित भईसक्नुभएको छ । उहाँको आवाज हिन्दी गायिका अल्का याग्नीकसंग तुलना गर्ने गरिन्छ । आधुनिक थारु गीतलाई उचाईमा पु¥याउन अन्नुको महत्वपुर्ण योगदान छ । उहाँको स्वरको मधुरता र स्वरलाई मिठासपुर्ण तरिकाले खेलाउन सक्ने क्षमता यो गीतमा पनि पाईन्छ । त्यसैगरी, आधुनिक थारु गीती क्षेत्रमा स्थापित र मुलधारको नेपाली गीत संगीत क्षेत्रमा समेत आफ्नो परिचय बनाईसक्नु भएका गायक रोशन रत्गैयाको जोशपुर्ण र मिठासपुर्ण आवाज पनि यो गीतमा समेटीएको छ । राम्रो स्टेज प्रस्तोता समेत रहनुभएका गायक रत्गैयाले यो गीतलाई पनि लोकप्रिय बनाउन महत्वपुर्ण योगदान दिन सक्नुहुन्छ । उपरोक्त ३ गायक गायिकले कतै एकल र कतै सामुहीक रुपमा गीतका शव्दहरुमा स्वर भरेर गीतलाई कर्णप्रिय बनाउनुभएको छ ।
४) भिडियो ः
पछिल्लो समय गीत सुन्ने भन्दा पनि हेर्ने सृजना बनेको छ । भिडियो विना गीत नचल्ने, सार्वजनिक गर्न कठिन हुने अबस्था सृजना भएको छ । त्यसैले होला यो गीत पनि भिडियो. समेत निर्माण गरेर सार्वजनिक गरिएको छ । भिडियोले गीत अनुसार विकास निर्माण, जागरण र न्यायका लागि संघर्ष तथा मेलमिलापको दृष्य चित्रण गरेको छ । कलाकारहरु सबै स्थानिय प्रयोग गरेर सामान्य थारु जीवनशैली, सामन्तहरुले गर्ने हप्कीदप्की र शोषण, त्यस्तो शोषण विरुद्ध लागेका अभियान्ताहरुको प्रयास भिडियोमा समेटीएको छ । खोपीराम चौधरी, अनिल चौधरी, नविन चौधरी लगाएतकाले भिडियोमा मुख्य भुमिका निर्वाह गर्नुभएको छ भने थारु समुदायमा रहेको सामुहिक रुपमा काम गर्ने परम्परालाई पनि भिडियोमा चित्रण गरिएको छ । त्यसैगरी वर्तमान समयमा सामाजीक क्षेत्रमा योगदान गरिरहनुभएका व्यक्तिहरु पनि चित्रण गरेर गीतको भाव प्रष्ट्याउन खोजीएको छ ।
५) केहि सुझाव पनि ः
यस गीतका सन्दर्भमा केहि सुझाव दिन सकिन्छ ः क) यस गीतको लक्षित स्रोता थारु समुदायका युवाहरु हुन् । थारु समुदाय लोक संगीतमा धनी छ । यस गीतमा पनि कुनै न कुनै रुपमा, उपयुक्त तरिकाले थारु लोक संगीतको स्वाद राखिएको भए अझै राम्रो हुने थियो । ख) यस गीतको शव्दले सामुहिक गायनको माग गर्दछ । सोहि अनुसार ३ जना गायक गायिकाको आवाज यसमा समेटीए पनि दुईजना गायक समेटीएको गीतमा गायिका पनि दुई जना नै भएको भए अझै सुनमा सुगन्ध हुने थियो । ग) गीतमा गायक गायिकाहरुले कतै एकल र कतै सामुहिक रुपमा स्वर दिनुभएको छ । गायक रोशन रत्गैयाले एकल रुपमा गाउने अंश बढाएको भए अझ राम्रो हुने थियो ।
६) अन्त्यमा ः
थारु समुदायको जागरण र सशक्तिकरणका लागि साहित्यीक रचना गर्ने प्रयास नयाँ होईन । व्यावहारतः एक भाषा, एक संस्कृति, एक धर्म केन्द्रित विगतको शासन व्यबस्थामा पनि सगुनलाल चौधरी, महेश चौधरी जस्ता अभियान्ताहरुले भाषिक साहित्यिक विकास संगै थारु समुदायको जागरणमा योगदान दिनुभएको छ । नारायण प्रसाद शर्मा लगायत गैरथारु अभियान्ताहरुले पनि थारु साहित्य मार्फत जागरण, सशक्तिकरण र न्यायका लागि प्रयास गर्नुभएको छ । त्यहि अभियानको पछिल्ला श्रृङ्खलाको रुपमा पछिल्लो गीत सार्वजनिक भएको छ । र यस्ता गीतहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ । गीतकार के वि चौधरी, गीत प्रस्तुतकर्ता लौव अग्राशन लगायत यस गीत र भिडियो निर्माण गर्ने टोलीका सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित