दुःखपछिको हुटहुटी

 बुनु थारू

जागिर त परको कुरा, कमलरीहरूका लागि शिक्षा भन्नु घामजस्तै थियो– आशा बनेर हरेक बिहान उदाउने, साँझ अँध्यारो छाडेर अलप हुने । यसै पनि शिक्षा र रोजगारीका क्षेत्रमा थारू समुदाय अझै पछाडि छ । कमलरी प्रथाका बेला कतिसम्म ताडना भोग्नुपर्थ्यो, त्यो उनीहरूकै कथाले बताउँछ । 

सरकारले ०७० असार १३ गते कमलरी मुक्तिको घोषणा त गर्‍यो । तर, उनीहरू अझै कहिले पुनःस्थापना, कहिले परिचयपत्र त कहिले छात्रवृत्तिको लडाइँमा छन् । यो समुदायमा शिक्षित भएर आत्मनिर्भर हुने अवसर कमैले पाए । त्यसमाथि महिलाका अवस्था झन् कठिन छ । यही कठिनाइबीच ‘निरन्तरको संघर्ष र मिहिनेतले सफल भइन्छ है’ भनेर सावित गर्न केही महिला लाममा उभिएका छन् ।

पूर्वकमलरी दाङ देउखुरीकी विष्णु चौधरी र घोराहीकी द्वन्द्वपीडित सुशीला चौधरी प्रेरक महिलाका उदाहरण हुन् । वकिल पेसामा संलग्न महिला कम छन्, त्यसमाथि थारू समुदायमा त औंलामै गन्न सकिन्छ । हालै यी दुईले नेपाल बार काउन्सिलको २८ औँ अधिवक्ता तहको परीक्षामा सफल भई लाइसेन्स प्राप्त वकिलको रूपमा नाम लेखाएका छन् । दुवैलाई भविष्यमा न्याय सेवामा जाने इच्छा छ ।

पढ्ने हुटहुटीले कमलरी

माघको चिसो दिन । कमलरीको खोजीमा एक भलाद्मी विष्णुको घर आइपुगे । आमाले नमाने पनि विष्णुका बुबाले उनलाई कमलरी पठाउने विचार गरे । ती भलाद्मीले घरको कामसँगै विष्णुलाई पढ्न पठाउने प्रस्ताव गरे ।

‘सात वर्षकी थिएँ, पढ्न पाइन्छ भन्ने सुन्नेबित्तिकै म जानका लागि तयार भैहालेँ,’ देउखुरी सतबरियाकी २७ वर्षीया विष्णुले सम्झिइन्, ‘मलाई दाङकै घोराही लगियो । ५ जनाको परिवार रहेछ । पढाउन भनेर लगेका थिए तर घरको काम र ४ महिनाको बच्चा हेर्ने जिम्मेवारीले निकै थकान महसुस हुन्थ्यो ।’ उनले ‘किन पढ्न नपठाउनुभएको’ भनेर पटकपटक सोधिन् तर कहिल्यै उनको मागको सुनुवाइ भएन ।

बिस्तारै उनले पढ्ने आश मारिसकेकी थिइन् । हरेक दसैं र माघीमा बुवाको बाटो हेर्थिन् । रोइकराइ गरेपछि मालिकले उनको घरमा खबर पठाए । घरमा कसैसँग दोहोरो कुराकानी नगरेकाले होला विष्णु टोलाएर बस्न थालेकी थिइन् । त्यहाँ उनले २ वर्ष ८ महिना काम गरिन् तर जाने बेला मालिकले जम्मा १५ सय रुपैयाँ हातमा थमाइदिए । बुबाको पछि लागेर विष्णु घर फर्किइन् ।

बाजेको पालादेखि नै विष्णुका परिवार कमैयाका रूपमा थिए । मालिककै घरमा उनी जन्मिइन् । एक जना दाइ र तीन दिदीबहिनीसहित ६ जनाको परिवार थियो । ‘दाइलाई मात्र स्कुल पठाउने, हामीलाई किन नपठाउने भनेर झगडा गर्थें,’ उनी भन्छिन्, ‘अरूको घरमा बिहे गरेर जाने छोरीलाई किन पढाउने भन्ने मानसिकता बुबाआमामा थियो ।’ पढाइप्रतिको इच्छा उनमा तीव्र बढिरहेको थियो । दाइसँग घरमै उनले अक्षर चिन्न सिकिन् । १० वर्षको उमेरमा धुलोमा पहिलोपल्ट आफ्नो नाम लेखिन् ।

स्वान नामक संस्थाले कमलरी उन्मूलन अभियान सुरु गरेपछि उनले पढ्न पाइन् । घरमा बुबाआमा अझै मानिरहेका थिएनन् तर उनकै जिद्दीले जित्यो । ‘स्कुल जान पाउनु मेरा लागि सपना थियो,’ उनले सम्झिइन्, ‘भोलि स्कुल जाने भनेपछि त्यो रात म सुत्नै सकिनँ ।’ २ महिनाको ब्रिज कोर्सपछि उनले सिधै कक्षा ५ मा भर्ना पाइन् । भाषा पनि उनको समस्या बनेको थियो । तर, मिहिनेत गर्ने मान्छे कहिल्यै पछुताउँदैन भनेझैं १ सय ३८ जना विद्यार्थी भएको कक्षा ५ मा क्लास टप गरिन् । यो सफलता कक्षा दससम्म जारी

रह्यो । उनीसँगै टोलका ४३ जना कमलरीले पढेका थिए तर अहिले उच्च शिक्षा हासिल गर्ने विष्णु एक्ली हुन् । पढाइको रहर पूरा हुँदै गएपछि उनले कमलरी मुक्ति अभियानमा लाग्ने निधो गरिन् । आफ्नो गाविसमा किशोरी समूह गठन गरिन् । सात कक्षामा पढ्दै गर्दा कमलरी मुक्तिका लागि साझा मञ्च देउखुरी क्षेत्रकी अध्यक्ष बनिन् । ‘घरमा घरमा गएर कमलरी छुटाउने, बाआमालाई सम्झाउनेदेखि सिंहदरबारसम्म हामीले खबरदारी गर्‍यौँ,’ विष्णु भन्छिन् ।

एसएलसीमा ६९ प्रतिशत ल्याएकी उनले प्लस टु र स्नातक अंग्रेजीमा पूरा गरिन् । अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर उनी भन्छिन्, ‘आफ्नो नाम लेख्न सक्ने हुँदा कस्तो होला भन्ने लाग्थ्यो, आज वकिल बन्ने सपना पूरा भएको छ । फिल्डमा गएर आफ्नो पर्फमेन्स कसरी देखाउन सकिन्छ, त्यो चुनौती बाँकी छ ।’ भविष्यमा न्यायाधीश बन्ने सपना पालेकी उनले थारूहरूका लागि मात्र होइन, हरेक समुदायका पीडितको हकहितका लागि काम गर्ने बताइन् । पूर्व कमलरीबाट पहिलो वकिल बनेकी विष्णु यत्तिले मात्र खुसी छैनन् । कमलरी मुक्ति भए पनि धेरैले परिचयपत्र पाएका छैनन् । ‘मैले नै कमलरी मुक्तिको परिचय पत्र पाएकी छैन,’ निडर उनी भन्छिन्, ‘त्यसका लागि पनि लडाइँ त जारी नै छ ।’

द्वन्द्वको पीडा खेप्दै यहाँसम्म

कक्षा ८ मा पढ्दै थिइन्, दाङको घोराही ओखराकी सुशीला चौधरी । २०५८ मंसिर १३ गते घोराहीको बर्गदीमा भएको हत्याकाण्ड उनको मानसपटलमा अझै पनि घुमिरहन्छ । त्यस दिन तत्कालीन शाही सेनाले ११ जना किसानको हत्या गरेको थियो । मारिनेमा सुशीलाका फुपाजु र काका पनि थिए । त्यसपछि उनले पनि द्वन्द्वको बाछिटा भोगिन् । सात जनाको सामान्य किसान परिवार तितरबितर हुन पुग्यो । ‘सो घटनापछि हाम्रा लागि अप्ठ्यारा दिन सुरु भए,’ उनी भन्छिन्, ‘लगातार हाम्रो घरमा आर्मी आउन थाले ।’

२०५७ मा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा क्रान्तिकारी विद्यार्थीका तर्फबाट सदस्यमा उठेका थिए, उनका दाइ । दाइ खोज्दै हरेक दिनजसो घरमा आर्मी आउन थाले । ‘सानीमाकी छोरी घरमा आएकी थिइन् । उनलाई माओवादी भनेर केरकार गर्दै आफूसित लैजान खोजिरहेका थिए,’ उनी सम्झिन्छिन्, ‘बुबाले आफ्नै छोरी भनेर बताउनुभएको थियो । पछि किन ढाँटिस् भनेर मरणासन्न गरी कुटे । बुबा ३ महिनासम्म थला पर्नुभयो ।’

हरेक दिन आर्मीको हप्कीदप्की र त्रासले सुशीलाको पढाइ राम्रो हुन सकिरहेको थिएन । आफन्तकहाँ बसेर जसोतसो उनले कक्षा १० को प्रि–टेस्ट दिइन् । सुशीलालाई पनि आर्मीले पटकपटक लैजाने प्रयास नगरेको होइन । एक दिन उनी खेतमा गइरहेका बेला आर्मीको गाडी आइपुग्यो । ‘तेरो दाइ कहाँ छ ?’ भन्दै उनीहरूले गाडीमा हाल्नै लागिसकेका थिए । आमाले डाँको छोडेर हात जोडेपछि उनले बाँचेको महसुस गरेकी थिइन् ।

गाउँमा बस्न नसकेपछि १८ वर्षको उमेरमा उनी देउखुरी आइन् । क्रान्तिकारी विद्यार्थी संगठनमा पनि जोडिइन् । ३ वर्ष देउखुरी बसेर लोकतान्त्रिक आन्दोलनपछि बल्ल उनी घर फर्किइन् । २०५९ वैशाख ३ गते आर्मीको गिरफ्तारीमा परेकी उनकी दिदी अझै बेपत्ता छिन् । ०६१ चैत २५ गते चरम यातनापछि सेनाले उनका दाइको हत्या नै गर्‍यो । ‘अहिले कानुनको विद्यार्थी भएकाले बल्ल बुझ्दै छु,’ उनी भन्छिन्, ‘त्यतिबेला यातना दिएको प्रमाण फोटो भएको भए कानुनी न्याय सकिन्थ्यो कि भन्ने लाग्छ ।’ दाइको हत्यापछि आर्मी आउन त छोडे तर घरमा बस्न नसकेपछि उनी देउखुरी नै फर्किइन् । पार्टी संगठनमा काम गर्दै रोल्पामा ४ महिना जनवादी शिक्षा दिएको उनीसँग अनुभव छ ।

त्यही अनुभवले उनले पढाइलाई निरन्तरता दिइन् र २०६५ सालमा एसएलसी पास गरिन् । २०७२ मा काठमाडौं आएकी उनमा विद्यार्थी राजनीतिप्रति मोह भंग हुन थाल्यो । कानुन पढिन् र हाल वकिल बन्न सफल भएकी छन् ।

आफूलाई मानवअधिकार र द्वन्द्वपीडित तथा सहिद बेपत्ता परिवारको अभियन्ता भनेर चिनाउने सुशीलालाई आफ्नै जिल्लामा ‘ल फर्म’ खोल्ने इच्छा छ । द्वन्द्वपीडित साझा चौतारीकी कोषाध्यक्ष तथा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी महासचिवसमेत हुन् उनी । ‘पढाइमा धेरै उतारचढाव भए,’ राजनीतिशास्त्रमा स्नातकोत्तर सकेकी ३३ वर्षीया उनी भन्छिन्, ‘न्याय क्षेत्रमा लागेकी छु, आफूजस्तै पीडितहरूको सेवाका लागि अब जिम्मेवारी बढ्दै गएको छ ।’

सुशीला र विष्णुका दुःखका कहानी फरक भए पनि निरन्तरको संघर्षकै कारण उनीहरू यो अवस्थासम्म आएका हुन् । दुःखको भासबाट फुत्किएर संघर्षमा होमिएका उनीहरू आज शिक्षित महिला बन्न सफल छन् ।

कान्तिपुरबाट साभार

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित