झिलिमिली बत्तीले उज्यालो बनाउन नसकेको मन

किर्लिङ किर्लिङ… किर्लिङ किर्लिङ… बेलुकी लक्ष्मी पूजा गरेर भर्खर के मात्र सकेको थिएँ, फोन बज्यो। हेरेँ, पुजा म्याडमले म्यासेन्जरमा कल गर्नु भएको रहेछ। ओहो! कस्तो संयोग, लक्ष्मीको पूजा गरे लगत्तै पुजा म्याडमको फोन आयो। अनि म्यासेन्जर कल रिसिभ गरेँ।

‘हेलो सर, नमस्कार!’

‘नमस्कार म्याडम! ल दीपावलीको शुभकामना छ है।’

‘हजुरलाई पनि दीपावलीको शुभकामना छ सर।’

‘सन्चै हुनुहुन्छ नि म्याडम?’

‘हजुर सर, सन्चै छु भन्नु पर्‍यो। भर्खर मात्र कामबाट फर्केर कोठामा आएँ। अब खाना पकाउने सुरसार गर्दैछु। यसो दीपावलीमा सरलाई सम्झिऊँ र मेरो मुद्दाको विषयमा पनि कुराकानी गरुँ कि भनेर सरलाई कल गरेको।’

‘ए ठिकै छ नि त। अनि नयाँ हालखबर के छ नि म्याडम? इन्डियामा त दीपावली भव्य रूपमा मनाउछन् रे नि है? रमाएलो भैरहेको होला नि?’

‘हजुर सर, भव्य रूपमा नै मनाउँछन्। काम गर्ने घरको मालिकले एउटा ब्यांङकेट र एक डिब्बा मिठाइ दियो। अनि आज लक्ष्मी पूजा, छिट्टै डेरामा जा भनेर अलि चाँडै बिदा दियो। घरहरू झिलीमिली पारेका छन्। अनि कानको जाली नै फुट्ने गरी सडकमा पटाका पड्काउदै छन् मानिसहरू।’

‘ओहो! हो साँच्ची है म्याडम, हिन्दी सिनेमामा देख्न पाइने भारत र पाकिस्तानको बोर्डरमा सैनिक बीच लडाइ हुँदा बन्दुक र टोप पड्काए झैँ पट्याङ र पुटुङको आवाज आइरहेको छ मोबाइलमा पनि। अनि म्याडम, दीपावलीमा घर आउछु भन्नु भएको थियो। आउनु भएन त?’

‘हजुर सर, आउने त मन थियो तर के गर्ने? पैसा पनि कमाउनु पर्यो। छोरा सानै छ। आफू पनि पालिनु पर्यो, छोरालाई पनि पढाउनु पर्यो, पाल्नु पर्यो। उसको बुवालाई क्यै मतलब छैन, आफूले जन्म दिएको छोराको। अनि सर मेरो दाङ देउखुरी जिल्ला अदालतको सम्बन्ध बिच्छेदको मुद्दा के भइरहेको छ?

पेशी कति गते छ कुन्नी। अनि बाँके जिल्ला अदालतको अंश मुद्दा दाङ देउखुरी जिल्ला अदालतमा सारिदिनु भयो कि भएन?’ (एकै पंक्तिमा पुजा म्याडमले आफ्नो मुद्दाको अवस्था बारे जानकारी लिन जिज्ञासा राख्नु भयो।)

‘म्याडम, दाङ देउखुरी जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दाको मंसिर ९ गते पेशी छ। नेपालगञ्जको गणेश वकिल सरसँग बाँके जिल्ला अदालतमा रहेको अंश मुद्दा दाङ देउखुरी जिल्ला अदालतमा स्थान्तरण बारे सम्पर्क गरेको थिएँ। उहाँले पनि अर्को तारेखमा कागज पत्र इजलासमा पेश गरि दिन्छु भन्नु भएको छ।

अंश मुद्दा दाङ देउखुरी जिल्ला अदालतमा स्थान्तरण भएपछि हामीलाई सजिलो हुन्छ सम्बन्ध बिच्छेद मुद्दाको लागि।’ (यसरी मैले जानकारी गराए मुद्दाको अवस्था बारे।)

‘ल सर, मैले हजुरहरूकै आड भरोसा गरेकी छु। पहिलेको वकिलले मेरो मुद्दालाई बेवास्ता गरिदिनु भयो। विश्वास गरेर मैले हजुरहरूलाई वकिल राखेँ। जसरी भएपनि मलाई न्याय दिलाई दिनु पर्यो। मेरो श्रीमान भनाउँदाले त मलाई र मेरो छोरालाई अलपत्र पारिदियो।

मैले १८ वर्षको उमेरमा उसँग विवाह गरेकी थिएँ। तर म २४ वर्ष पनि पुग्दा नपुग्दै घरबाट निकाली दियो। यसरी आफ्नो घर हुँदा हुँदै पनि बेघर भएर दीपावलीमा पनि बिरानो देश इन्डियामा पैसा कमाउनको लागि बस्नु परेको छ। जसरी भएपनि मैले र मेरो छोराले अंश त पाउनु पर्यो नि।

६ वर्षसम्म निकै दुख गरेकी छु मैले त्यस घरमा। कति अपमान र तिरस्कार सहेर त्यतिका वर्ष बिताएँ मैले त्यस घरमा भन्ने कुरा त मलाई मात्र थाहा छ सर।’ (यसरी पुजा म्याडमले आफ्नो पीडा र आक्रोस मिश्रित आवाजमा गुनासो पोख्नु भयो। उहाँको कुराबाट प्रष्ट हुन्थ्यो कि लक्ष्मी पूजाको दिनमा पनि उहाँको मन खुसी छैन।)

‘म्याडम, हामीले पनि हरदम कोशिश गरिरहेका छौँ, तपाईलाई न्याय दिलाउनको लागि। हामीबाट कुनै कमजोरी हुने छैन मुद्दा हेर्नमा। निश्चिन्त हुनुस्, तपाई र तपाईको छोराले अधिकार अवश्य पाउनु हुन्छ।’ (यसरी मैले एक वकिलको नाताले पुजा म्याडमलाई ढाडस दिँदै भनेँ।)

पुजा म्याडम र उहाँको श्रीमानबीच सम्बन्ध बिच्छेदको मुद्दा दाङ देउखुरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा थियो। उक्त मुद्दा अधिवक्ता प्रेम चौधरी र मैले वकिलको नाताले हेरिरहेका छौँ।

पुजा म्याडमसँगको म्यासेन्जरमा लामो वार्तालापपछि उहाँसँग बिदा लिदै म आफ्नो घर परिवारसँग लक्ष्मी पूजाको रमझममा भुलिएँ।

बिहानै पाँच बजे उठेँ। अँध्यारो नै थियो। तै पनि मर्निङ वाकको लागि निस्किएँ। आज गोवर्द्धन पूजा। अनि मनमनै तय गरे यात्राको रुटिन। भरतपुर क्याम्पस हुँदै भ्रिंग्रेली चोक, अनि अदालत हुँदै दीपशिखा रोड। त्यसपछि गुलरिया गाउँ हुँदै घर फर्किने।

मर्निङ वाकमा सँगै हिंड्ने साथीहरू सन्तोष र सबि तिहार मान्न आफ्नो गाउँ गएका थिए। त्यसैले पनि आजको मर्निङ वाकको म एकल यात्री थिएँ। जाडो मौसम सुरु भइसकेको थियो। शरीरलाई तताउने उद्देश्यले एकछिन दौडिएँ अनि थकाइ लागेपछि हिँडन थालेँ।

सडकमा मर्निङ वाक गर्नेहरू, दूध र तरकारी बजारमा बेच्न जाने किसानहरूको चहल पहल सुरु हुँदै थियो। प्रायःजसो पुरुषहरू साइकलमा र महिलाहरू टाउकोमा छिटुवा र गैजामा तरकारी राखेर छिटो छिटो पाइला चालिरहेका थिए।

सायद दीपावली भएकोले तरकारीको उचित मोल पाउने आशामा थिए उनीहरू। चोक चोकमा तरकारीको भाउ रेटबारे किसानहरू र उपभोक्ताहरू बीच मोलमोलाई भइरहेको थियो। झिसमिसे अध्यारो भएकोले को हो भनेर थम्याउन मुस्किल।

हिन्दुहरूको महान चाड दीपावली भएकोले विवाहमा दुलहीलाई सोह्र श्रृंगारले श्रृंगारे झैँ मानिसहरूले आ–आफ्नो घरलाई विभिन्न रङ्गले लिपपोत गरी झिलिमिली बिजुली बत्ती बालेर श्रृंगारेका थिए। घरहरूमा झिलिमिली देख्दा यस्तो लाग्दथ्यो, मानौँ होडबाजी नै चलेको छ उसको घरभन्दा मेरो घरलाई कसरी श्रृंगारुँ र आकर्षक बनाउँ भनेर।

ठूल्ठूला महलहरू धेरै श्रृंगारिएको र अत्याधिक बिजुली बत्तीको झिलिमिली देखिन्थ्यो। स–साना पक्की घरहरू कम श्रृंगारिएको र कम झिलिमिली अनि कच्ची घर झुपडीहरू पूरै अन्धकार थियो। यसरी दीपावलीको झिलिमिलीले पनि क–कसको आर्थिक हैसियत कस्तो छ भन्ने दृष्य बोलिरहेको थियो।

दीपशिखा चोक आइपुग्दा आकाशमा ताराहरूको चमक पनि कम हुँदै गयो। प्रकृतिले पनि उज्यालो हुने संकेत दिइरहेको थियो। धेरैले झालर निभाइसकेका थिए। तर मेरो मनमा भने उही झिलिमिलीको दृष्य नाचिरहेको थियो। धनीले दीपावलीमा आफ्नो महललाई कसरी झिलिमिली पारेर रंगीन बनाउँ अनि कसरी खुसियाली मनाउँ भनेर तरङ्गित हुन्छ होला।

तर झुपडीमा बस्ने गरिबहरू दीपावलीमा कसरी एक छाक भएपनि चोखो मिठो खानाको जोहो गर्ने? अनि छोरा छोरीको लागि एकसरो नयाँ लुगा कसरी फेरिदिने होला भनेर चिन्ताले पिरोल्छ होला।

यस्तो असमानता र गरिबीको अन्त्य कहिले होला? मेरो मनमा एकाएक हिजो बेलुकी म्यासेञ्जरमा कुराकानी भएको पुजा म्याडमको अवस्था बारे मानसपटलमा कुरा खेल्न थाल्यो।

पुजा म्याडमको १८ वर्षको उमेरमा विवाह भएको थियो। सासुको इच्छा विपरित घरमा भित्रिनु भएको थियो उहाँ। लोग्नेको मन त जितेकै छु, विस्तारै सासुको मन पनि जितूँला। उहाँको यस्तै विश्वास थियो। तर पुजाको लागि परिस्थिति अर्कै भइदिएको थियो।

पुजाले पाउनु भयो त केबल सासुबाट दुःख, कष्ट अनि अपमान र तिरस्कार। बिहेको अर्को वर्ष छोरा जन्मियो। अब त माया गर्लान् भन्ने लागेको थियो। विडम्बना, पछि श्रीमानले पनि आमाको कुरा सुनेर कुटपिट गर्न थाले।

हुँदा हुँदा विभिन्न लाल्छना लगाएर श्रीमान र सासुले पुजालाई घरबाटै निकाली दिए। यसरी घरबाट निकालिएपछि पुजा माइतीको आश्रयमा बस्न बाध्य हुनु भयो।

माइतीको सहयोगमा उहाँले बाँके जिल्ला अदलातमा अंशको मुद्दा दिनु भयो तर अंश मुद्दाको टुङ्गो नलाग्दै उहाँको श्रीमानले दाङ देउखुरी जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दियो।

एकै साथ २/२ वटा मुद्दाको आर्थिक भार थेग्न अनि आफू र छोराको पालन पोषण, शिक्षा दीक्षाको लागि छोरालाई माइती घरमा राखी मजदुरीका लागि इन्डिया जान बाध्य हुनु भयो। त्यहाँ एक जना पत्रकारको घरमा मासिक भारु १० हजारमा घरेलु कामदारको रुपमा श्रम बेच्न थाल्नु भयो।

मालिकले समयमा रकम नदिँदा दसैँ र दीपावलीमा समेत घर आउनु सक्नु भएन। छोराको माया अनि तिहारमा भाइलाई टीका लगाउन नपाएर छट्पटिएको मन इन्डियामा दीपावलीको झिलीमिली अनि रंगीन वातावरणमा पनि फिक्का रह्यो।

हिजो बेलुकी पुजा म्याडमसँगको म्यासेन्जरमा कुरा हुँदा ‘ल सर, मैले हजुरहरूकै आड भरोसा गरेकी छु। छिट्टै मेरो मुद्दाको टुङ्गो लगाइदिनु पर्यो’ भन्ने वाक्यले मेरो मन बिझेको थियो। ३/३ वर्ष हुँदा पनि अदालतबाट नपाएको अधिकार अब छिट्टै पाउनु पर्छ।

यसको लागि हामीहरू तनमनका साथ लागि पर्नै पर्छ। मर्निङ वाकको क्रममा जति छिट छिटो पाइला चाल्दै थिएँ, उत्तिकै उत्प्रेणा थपिदै थियो मेरो मनमा। हामी वकिलले इमान्दारीका साथ काम गर्नै पर्छ। नत्र वकिलप्रति सेवाग्राहीको विश्वास उठ्ने छ।

मर्निङ वाकबाट घर आइपुग्नै लाग्दा अन्धकारलाई चिर्दै पूर्वको क्षितिजमा सूर्यनारायण झलमल्ल भइसकेको थियो। सम्झेँ, पुजा म्याडम र उहाँको छोराले अदालतबाट न्याय पाएपछि तनावबाट मुक्त भइ उहाँहरूको जीवनमा पनि यस्तै खुसीको प्रकाश छरिने छ। अनि दसैँ र दीपावली जस्तो महान् चाडपर्वमा घर छाडी बिरानो ठाउँमा सस्तोमा श्रम बेच्नुपर्ने छैन। सेतोपाटी डटकमबाट साभार

(लेखक अधिवक्ता हुन्।)

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित