म बदलिएँ कि मेरो गाउँ

सुनिता चौधरी ‘सानु’

जागिरको सिलसिला प्रायजसो बाहिर बाहिर बसाई भयो । कहिलेकाहि गाउँघरतिर जाँदा निकै रमाईलो लाग्छ । गाउँका दिदिबहिनी दाजुभाइ काकाकाकी सासुससुरासँग भेट हुँदा छुट्टै खुशीको अनुभुति हुन्छ । गाउँघरमा कामकाज गर्दा छरछिमेक एक आपसमा मिलेर एक अर्कालाई खेतबारीमा सघाउन जाने बर्खामा धान रोप्न होस या हिउदमा धान काट्न घाँस दाउरा जादा सबै गाउले मिलेर जाने प्रचलन निकै रमाइलो  लाग्छ । मलाई साथीसँग मिलेर काम गर्दा काम पनि चाडँै सकिने एकापसमा आत्मियता पनि बढेको अनुभूति हुन्छ ।

धेरै वर्ष त नभनौ । २०७१ सालदेखि गाउँ समाजमा अलि बढी घुलमिल हुने मौका मिल्योे । विषेशगरी मेरो आफ्नो थारु समुदायमा थारु भाषा संस्कृतिसम्बन्धी थुप्रै कार्यक्रम पनि गरियो । त्यहि कार्यक्रमको सिलसिलामा थुप्रै गाउँसँग पनि परिचित हुने शौभाग्य मिल्यो । बिगतका दिनहरुलाई नियालेर हेर्दा सामाजिक काम होस या मेलापात । घाँस दाउरा तथा विभिन्न घरायसी कामका लागि पनि गाउँका पुरै मानिसहरु सँगै जाने र सबैजना मिलेर एकजुट भई एकताका साथ काम गर्थे । रमाईलो पनि हुने मजाले । त्यतिखेरको माहोल मलाई याद छ । त्यो दिन तर दुई चार वर्ष यताको गाउँको परिवेश निकै फरक पाएँ । साँझ बिहान एक अर्काको आँगनमा नजाने छिमेकीलाई कुनै ठूलो समस्या पर्दा पनि सहयोगको त कुरै छाडौँ । उल्तै राजनीतिक बिल्ला लगाई दिने ऊ त नेकपाको हो, नेकाको हो, राजपा हो । के राजनीतिले समाजमा ल्याउन खोजेको परिवर्तन यहि हो त ? थुप्रै प्रश्न छन् ।

एकाबिहानै गाउँ जाने काम प¥यो । घरमा सबैजना खटियामा बसेर चिया पिरहेका थिए । हत्पत्त बज्यै सासु मेरालागि पनि चिया लिएर आउनुभयो । आँगनमा सबैजना बसेर चिया सँगै गफगाफ गर्दै पियौँ । गाउँमा निकै चहलपहल देखियो ओल्लो पल्लो घरको साईली माईलीहरु यताउता ओहरदोहोर गरिरहेका थिए । कोही मादल त कोहि लेहङ्गा चोली हातमा च्यापेर दौड लाउँदै थिए । त्यो देखेर बज्यै सासुलाई सोधे “बुदी आज का बा गाउँम” (बज्यै आज के छ गाउँमा) बज्यैले भन्नुभयो “का रहि आज काङग्रेसनके बर्का नेता आईतन” (के हुनु नि नेपाली काङग्रेसको ठूलो नेता आउदै छन ।) एक छिन पछि घर घरबाट थारु भेषभुषामा तयार भएर दिदिबहिनीहरु निस्कदै थिए । मेरो घरको छेउको दिदिलाई तयार भएको देखिन । पहिले त उनिहरुसँगै मेलापात जाने मान्छे आज किन जानु भएन ? मनमा खुलदुली लाग्यो ।

सोधिहाले “दिदि तुँ नाच नि गईलो” (दिदि हजुर नाच्न जानु भएन ?) दिदिले भन्नुभयो “कहाँ जैबो बहुर्या ऊ त काँङग्रेसेनके नाच हुइतन” (कहाँ जानु बुहारी त्यो त नेपाली काङग्रेसको नाच हो ।) म त ट्वाल्ल परेर हे¥याहेरै भएँ ! केही बोल्न सकिन हिजोका दिनमा घाँस दाउरा मेलापात घोङ्घी माछा मार्न सँगै जाने दिदिबहिनीहरु यसरी अलगिएको देख्दा साह्रै नमाजा लाग्यो । त्यस दिनको बसाई गाउँमै भयो । खाना खाईवरी  सुते । दिउसोको कुरा मनभरी खेली रहयो । यो सब के भेैइराको मेरो गाउँमा बिहानपख उठेर चिया नास्ता खायौँ । थारु जातिमा धान काटेर सकिसके पछि गाउँमा बङगुर काटेर खुशियाली मनाउने चलन छ । सोहिअनुसार त्यस दिन गाउँमा बङगुर काटिएको थियो । ससुराबाले घरमा मासु ल्याउनु भयो । सबै परिवार मिलेर खायाँै । एकछिन चोकतिर निस्कें । साथीभाइहरुसँग गफगाफ गरौं भनि चोकमा एक जना गाउँकै दिदि भेटिनु भयो । मैले सोधे “दिदि काहाँ जाइतो ? आज त गाउँम धान कट्नी शिकार खाइत काहु ।” (दिदि कहाँ जादै हुनुहुन्छ ? गाउँमा त आज धान काटेर सकेको खुशीयालीमा मासु खादै छन केरे ।) दिदिको जवाफ “कहाँ खैइबो बहुर्या । हम्र अउर टोल म बाटी । आज त माओवादी टोलके खाइत” (कहाँ खानु बुहारी । हामी त अर्को टोलमा छौ । आज त माओवादी टोलकाले खादैछन् ।) गाउँमा टोल विभाजन भैसकेको रहेछ । त्यसपछि थाहा पाएँ । अच्चमित भएँ । राजनीतीक पार्टीले त राम्रै शिक्षा दिएको रहेछ ।

राजनीतिले देश र समाजमा आमुल परिर्वतन ल्याउँछ भन्थानेको त उल्टै यहाँ त गाउँ टोल फुटाउ पो देखियो । हिजोका दिनमा बग्दै गरेको नदीमा बाँध बाध्न कुनै डोजर चाहिदैन थियौ । गाउँको जनशक्तिले आफै नदीमा बाँध बाधेर गाउँ गाउँको कुलोमा पानी ल्याई खेतबारीमा पानी सिचाई गर्थे । आज त्यो जनशक्ति बिभाजन भएको छ । गाउँमा आइपर्ने सानोतिनो समस्याहरुलाई गाउँको बरघर भल्मन्साको नेतृत्वमा मिलाउने परिपाटि रहेको थियो । तर अहिले हराइसकेको रहेछ । आखिर राजनीतिक सामाजिक विकासका लागि उही समाज उही एकता नै चाहिने त हो । तर ठीक उल्टो भएको छ । हाम्रो समाजमा काङग्रेसको नेतासँग बोल्दा काङग्रेसको बिल्ला लाइदिने । नेकपाको नेता सँग बोल्दा नेकपाको बिल्ला लाइदिने परिपाटी रहेको छ । बिगतका दिनहरुमा यस्तो परिपाटी थिएन । सामाजिक राजनीतिक विकासका लागि यो परिपाटी हटन जरुरी छ । यो परिपाटी न हटदासम्म सामाजिक राजनीतिक विकास असम्भव छ ।

सबै ब्यक्ति सबै कुराले भरिपूर्ण हुदैन । गर्दै र सिक्दै जाने हो । विकासकालागि सबै पार्टीका नेतागणहरु तथा समाजमा रहेका बुद्धिजिवीहरुसँग पनि बहस गर्न जरुरी छ । तर विकासका लागि जुन पार्टीको नेता जितेको छ, त्यो पार्टीको नेताले आफ्नो कार्यकर्ताहरुको मात्र निर्माण समिति बनाएर काम गर्ने गर्दछन् । त्यसैले मैले न बुझ्या हो कि राजनीतिक परीपाटी यस्तै हो । नेकपाले बनाएको बाटोको नाम माओेवादी बाटो नामाकरण भएको छ । नेकाले बनाएको बाटोको नाम काग्रेस बाटो रे । यति मात्रै कहाँ हो र, टोल टोलको पनि राजनीति पार्टीको नाम बाटै नामाकरण भएको छ । राजनीतिक बतासले कथै मेरो समाज के राजनीतिले ल्याउन खोजेको परिवर्तन यही हो त ? प्रश्न नै प्रश्न उब्जिन्छ मनमा । हुन त लोकतन्त्रमा सबैले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ । राजनीतिक सवालमा सबैको आफ्ना आस्था विचार हुनसक्छ । कसैको नेकपामा त कसैको नेकामा । कसैको जसपामा हुनसक्छ । समय परिवर्तनअनुसार हामी सबै परिवर्तन हुन जरुरी पनि छ । राजनीतिले केही मात्रामा विकास र परिवर्तन नल्याको पनि होइन । हिजोका दिनमा ४ जनाको अगाडि उभिएर आफ्नो नाम भन्न लजाउने डराउने साईली माहिलीहरु आजभोलि हजारौका भिडमा उभिएर भाषण गर्ने पनि भएका छन् । यस्ता थुप्रै कुरामा परिवर्तन आएको छ । प्रत्येक ब्यक्तिको राजनीतिक विचारधारा फरक फरक हुन सक्छ । तर ऊ फलानो पार्टी, ढिस्कानो पार्टी भन्दा पनि पार्टी जुनसुकै होस् राजनीतिमा होस् या सामाजिक कार्यमा होस । के नै फरक पर्छ र । यी सबै बदलाव देखेर  यसो मनमनै सोच्छु “म बदलिएँ कि मेरो गाउँ ?” फेरि चाहिने भनेकै त एकता नै हो ।

(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।)

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित