थारु मानक भाषाको भर्चुवल वहस : मानक भाषा बनाउन विज्ञहरुको सुझाव

काठमाडौं, ३१ साउन । थारु कल्याणकारिणी सभा केन्द्रले थारु मानक भाषा वहस विषयमा एक दिने भर्चुवल अन्तरक्रियाको कार्यक्रम शनिबार आयोजना गरेको छ । भाषा विज्ञहरु महेश चौधरी (दाङ), भुलाई चौधरी (सप्तरी) र रामसागर चौधरी (सुनसरी) ले थारु मानक भाषा बनाउने विषयमा आफ्नो रायसहितको तर्क पेश गरेकाथिए । तीनै जनाको सुझाव अहिले कायमै रहेको ‘देवनागरी वर्ण’लाई नै आधार बनाएर जानुपर्ने बताएकाथिए । देवनागरीमा १६ वटा स्वर वर्ण र ३६ वटा व्यन्जन वर्ण गरी ५२ वर्ण निर्धारण गरिएका छन् ।

२०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा भएको भेलाले एघार वटा अक्षर थारुमा प्रयोग नहुने भन्दै त्यसलाई प्रयोगमा ल्याउन नहुने प्रस्ताव अगाडि सारेको थियो । तर तीनै जना विज्ञले भाषाको विकास र शब्द भण्डारका लागि भएपनि ती ११ वटा वर्णलाई हटाउन नहुने तर्क राखेका हुन् । थारु मानक भाषा बनाउँदा थारु भाषा गरिब बनाउने तर्क उचित नहुने भन्दै उनिहरुले थारु लवजमा त, थ, द, ध, ञ, ण, श, ष, क्ष, त्र, ज्ञ (११ अक्षर) को प्रयोग भइरहेको बताएका हुने ।

भाषा विज्ञ महेश चौधरीले थारुको पुरानो भाषा ‘पाली’ भएपनि त्यसलाई थारुले प्रयोग गर्न नसकेको बताए । पुराना दस्तावेजहरु सबै पाली भाषामा लेखिएको उनको भनाइथियो । थारु भाषालाई छिन्न भिन्न बनाउँदा त्यो भाषिकामा रुपान्तरण हुन सक्ने भन्दै उनले थारु भाषालाई मानक बनाउँदा एउटा मात्र मानक बनाउँदा भाषाकोरुपमा कायम रहन सक्ने तर्क पेश गरे ।

भाषा सबैको सर्वमान्य हुनुपर्ने र मानक भाषा भनेको सबैले स्वीकार गरेको भाषा हुने हुनाले पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका थारुले स्वीकार गरेको एउटा मानक भाषाको आवश्यकता विज्ञ चौधरीले औल्याए । थारु भाषालाई मानक बनाउन अझै वहस र छलफलको आवश्यकता रहेकाले हतार नर्ग उनले आग्रह गरे ।

अर्का विज्ञ भुलाई चौधरीले वर्णलाई हटाएर थारु भाषालाई गरिब बनाउन मनासिव नहुने तर्क पेश गरे । ट, ठ, ड, ढ को उच्चारण पश्चिमका थारुले बढी गरेपनि पूर्वका थारुले ट, ठ, ड, ढ, त, थ, द, ध सबैको समान उच्चारण गर्नेगरेको तर्क गरे । पश्चिमकाले बोलेकोजस्तो मानक बनाउँदा पूर्वमा स्वीकार नहुनेभन्दै उहाँले सबैलाई स्वीकार्य हुने साझा मानक अनिवार्य रहेको बताए ।

आगन्तुक शब्दको आफ्नै स्टाण्डर्ड रहेकाले त्यसलाई परिवर्तन गर्न नसकिने भन्दै विज्ञ चौधरीले आगन्तुकलाई जस्ताकोतस्तै प्रयोग गर्नुको विकल्प नरहेको बताए। “आगन्तुक शब्दको हात खुट्टा भाँच्ने अधिकार हामी थारुलाई छैन” उनले भने । मानक भाषा बनाउन सबै जिल्लाको शब्द संकलन गरी अगाडि बढ्नुपर्ने उनले सुझाव दिए ।

अर्का विज्ञ रामसागर चौधरीले पनि वर्णमा कुनै वर्ण हटाउन आवश्यक नरहेको बताए। पश्चिमा थारुले ट, ठ, ड, ढ मात्र उच्चारण गर्छन् भन्ने कुरा आफूले स्वीकार नगर्ने बताए । “भाषा वैज्ञानिक परीक्षण भएको त छैन, तर पश्चिमका थारुले त्यस्तो बोल्छन् भन्ने मलाई लाग्दैन” उनले भने । थारुका केही व्याकरण, शब्दकोष बनिसकेकाले त्यसलाई आधार बनाएर थप शब्दकोष र व्याकरण निर्माण गर्न उनको सुझाव थियो ।
पत्रकार लक्की चौधरीले थारु भाषा मानक बनाउँदा १७ लाख ३७ हजार ४७० थारुलाई स्वीकार्य हुने एउटै मानक भाषा बनाउन आवश्यक रहेको बताए। क्षेत्र र भेग अनुसारको मानक बनाउँदा त्यो भाषिकामा रुपान्तरण हुनेभन्दै उनले थारुलाई एकताको सूत्रमा जोड्न पनि मानक भाषा ‘एउटा मात्र’ हुन अनिवार्य रहेको बताए । “भाषाको विषयलाई लिएर भोली थारु–थारुबीच द्वन्द्व निम्तिने खतरा मोल्ने काम हामी कसैले गर्नु हुँदैन, भाषा संवेदनशील विषय हो, सबैको भावना स्वीकार गर्नुपर्छ” उनलले भने ।

भर्चुवल कार्यक्रममा थारु कल्याणकारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्य सावित्री चौधरी, थारु लेखक बुद्धसेन चौधरी लगायतले धारणा राखेकाथिए । कार्यक्रममा प्राविधिक सहयोग चञ्चल चौधरी र सञ्जय चौधरीले गरेका थिए । कार्यक्रम सकारात्मक भएकाले भाषाको मानक वहसमा थाकसले नेतृत्व गर्दै थप वहस सञ्चालन गर्नुपर्ने सहभागीले सुझाव दिएका छन् । भर्चुवल कार्यक्रममा पश्चिमदेखि पुर्वका गरी करिब ५० जनाको सहभागिता थियो । हमार पहुँरा डटकमबाट

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित