थारु भाषा मानकताको वहस भाग- २

लक्की चाैधरी

थारु भाषालाई मानक (थारुको साझा सम्पर्क भाषा) बनाउने प्रयास जारी छ । यो वहस २०३० को दशकबाटै शुरु भएपनि अहिले उत्कर्षमा छ । यसलाई सकारात्मक रुपमा स्वीकार्नु पर्छ । विचार व्यक्त गर्ने माध्यम भनेकै ‘भाषा’ हो । विना भाषा हामीले एक अर्काको विचार बुझ्न पनि सक्दैनौं । ज्ञान, सीप र बुद्धि साटासाट गर्न पनि सक्दैनौं । अर्थात् मानव जीवनका लागि नभई नहुने चिज हो ‘भाषा’ । भाषा विज्ञानकाअनुसार भाषाले विचार, सुचना र दृष्टिकोण विनिमय गर्नेहुनाले यो सरल र सरस हुनुपर्छ । भाषा कथ्य र लेख्य दुवै हुन्छ । कथ्य मौखिक हन्छ तर लेख्य लिखित । कुनै पनि भाषालाई लिखितरुपमा व्यक्त गर्न लिपिको आवश्यकता पर्छ । एउटा भाषालाई विभिन्न लिपिमा पनि लेख्न सकिन्छ । एउटै लिपिबाट कैयौं भाषा लेख्ने प्रचलन पनि छ । जस्तैः देवनागरी लिपिमा नेपाली, हिन्दी, मराठी, संस्कृत, थारु आदि लेख्ने गरिएको छ । जुन लिपिको माध्यमबाटै हामी भाषा सिक्ने अवसर पायौं । त्यही भाषालाई दुत्कार्नु कति मनासिव हुन्छ ? अर्थात् जन्मदिने जननी (आमा) लाई हुर्कीसकेपछि घरबाट निकाला गर्नु जस्तै हो, यो भाषाको कुरा ।

भाषा एक पद्धति हो । जहाँ कर्ता, कर्म र क्रिया हुन्छन् । थारु भाषाको आफ्नो लिखित कुनै इतिहास भेटिदैन । हाम्रो उत्पत्ति भएसँगै हामीले संकेत, इसाराको माध्यमबाट भाषा विनिमय गर्दै बोलीचालीमा आइपुग्यौं । अहिले लिखित अभ्यास गरिरहेका छौं । भाषाको ‘रुप’ बन्न पनि लामो समय लाग्यो । हामी जसरी विभिन्न समूहमा विभाजित भयौं, त्यसैगरी भाषा पनि विभाजित हुनपुग्यो । ठाउँ, परिवेश र परिस्थितिले भाषाको उच्चारण र प्रयोगमा फरकपन ल्यायो । थारु भाषा भारोपेली भाषा समूहमा पर्ने भाषा हो । देवनागरी लिपिमा लेखिने यस भाषाका दुई किसिमका वर्णमाला हुने नै भयो । खस नेपाली भाषामा १२ वटा स्वर वर्ण र ३६ व्यन्जन वर्ण छन् । त्यही पढेर लेखेर हामी प्रशिक्षित, दिक्षित र शिक्षित भयौं । आज थारु भाषाको वर्ण विन्यासको वहस गर्ने ठाउँमा हामीलाई त्यसले पु¥यायो । यसलाई सकारात्मकरुपमा लिऔं ।

केही साथीहरुको अगुवाईमा २०७३ साउन १–३ सम्म दाङको घोराहीमा ‘डङ्गौरा थारु भाषाको वर्ण निर्धारण’ गोष्ठी भयोे । सोही गोष्ठीको निस्कर्षअनुसार थारु भाषाको वर्ण निर्धारण प्रस्ताव आएको साँचो हो । त्यो केवल प्रस्ताव थियो । अकाट्य परिणाम थिएन । केही साथीहरु ‘त्यही नै निस्कर्ष हो’ भन्ने शैलीमा प्रस्तुत भइरहेका छन् । जुन गलत हो । भेला, छलफल र गोष्ठी हुनु राम्रो हो । तर ‘हामीले गरेको निर्णय नै अन्तिम सत्य हो’ भन्नु मुर्खता हो । भाषा ‘भेग’ विषय हो । एउटा गोष्ठी र छलफलले वर्ण निर्धारण भइहाल्ने होइन । भाषालाई जति माझ्न सक्यो त्यति सरल बन्दैजान्छ । हो, भाषा गतिशील र परिवर्तनशील विषय अवश्य हो । सार र रुपको विषयवस्तु नै मर्नेगरी परिमार्जन गर्नु उचित होइन । भाषामा जहिले पनि जटिलबाट सरल बनाउने प्रयास रहन्छ । यही नै भाषा वैज्ञानिकताको असली आधार हो । जनजिव्रोले मानेको, पचाएको विषय नै ‘सर्वस्वीकार्य’ पनि हुन्छ । मीठो पनि लाग्छ । मानवीय स्वभाव पनि जहिले सरल खोज्ने स्वभाव हो । जटिल होइन । तर के हामीले त्यही गरिरहेका छौं त ? गहिरिएर आफ्नो मथिङ्गल माझौं । हामी कसैसँग कसैमाथि भाषा ‘लाद्ने’ अधिकार छैन । न भाषा विगार्ने अधिकार नै छ । त्यसैले ‘मैले भनेकै ठीक हो’ भन्दै ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नु हुँदैन । आफ्नो मालिक जोकोही हो । सबैको मालिक केवल ‘ईश्वर’ हुनसक्ला । मानव होइन । आफ्नो कुरा सुपाच्य बनाउन पर्याप्त तर्क दिन सक्नुपर्छ । अरुको मन जित्न सक्नुपर्छ । अन्यथा त्यो तर्क केवल ‘लाद्ने’ मात्र हुनसक्छ ।

दाङ भेलाले प्रस्ताब गरेको स्वर वर्णमा (अ, अँ, आ, आँ, इ, इँ, उ, उँ, ए, एँ, ओ, ओँ) –१२ स्वर वर्णमा (ऐ, ऐँ, औ, औँ) वर्ण थप हुनसक्ने निस्कर्ष निकालेको देखिन्छ । त्यस्तै, २९ वटा व्यन्जन वर्ण (क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्, झ्, ट्, ठ्, ड्, ढ्, न्, प्, फ्, ब्, भ्, म्, य्, र, ल्, व्, स्, ह्) –२५ र महाप्राण व्यन्जन वर्ण (न्ह्, म्ह्, र्ह्, ल्ह्) –४ प्रस्ताव गरेको छ । त्यसपछि भाषा वहसले गति लिएको मान्ने हो भने ‘गोष्ठीको उपादेयिता छ’ भन्न सक्ने आधार रहन्छ । सोही गोष्ठीले (ञ, ण, श, ष, क्ष, त्र, ज्ञ, त, थ, द ध)–११ अक्षर उच्चारण नहुने सूचीमा राखेको छ । त्यसलाई प्रयोग नगर्ने भनेको छ । अब यसमा प्रश्न उठ्छ, ‘यसको वैज्ञानिक आधार के हो ?’ कति जनामा यसको ल्याव टेष्ट भयो ? कस्ता–कस्तासँग लिइयो । एकै ठाउँका दुई–चार जना मानिसको ल्याव टेष्ट लिंदैमा त्यसको स्याम्पलिङ (नमुना) प्रमाणित हुन्छ त ? ल्याव टेष्ट लिने यन्त्र कस्तो थियो, कसको थियो ? त्यसको परीक्षण कसले गरेको हो ? निक्र्यौल गर्ने को हो ? एउटै गोष्ठीमा निश्चित आफ्नो समूहका (गुट) का मानिस जम्मा गरेर १७ लाख ३७ हजार ४७० थारु माथि त्यो लाद्न कति मनासिव हुन्छ ? जिज्ञासा अनेक आउन सक्छन् ।

माथि उल्लेख गरिसकें ‘भाषालाई जटिलबाट सरल बनाउँदै जाने हो, झन जटिल होइन ।’ यही भाषा वैज्ञानिक सिद्धान्त हो । स्वीकार्य विषय हो । सरलबाट जटिल बनेको र प्रयोग नहुने अक्षर भनिएको प्रयोग भइरहेको हेरौं केही उदाहरण–
१) ज्ञ – (ज्ञान, ज्ञानु, ज्ञानी, अज्ञान, ज्ञाता, ज्ञानवद्र्धक, ज्ञवाली,)
२) त्र – (यात्रा, तित्रा, त्रिपाल, मित्र, चित्र, यात्री, मिस्त्री, त्रिदेव, त्रिकोण, त्रिशुल, त्रिवेणी)
३) क्ष– (परीक्षा, शिक्षा, दिक्षा, सुरक्षा, अक्षर, क्षमता, क्षमा, क्षणिक, क्षमाशील, क्षम्य)
४) ष – (भाषा, षटकोण, कृष्ण, दृष्टि, संघर्ष, उदघोष, विशेषता, विषय, भिष्म, भविष्य, हर्ष, वर्ष, षडयन्त्र)
५) श – (शेष, शिकार, विशेषण, नाश, शंकर, शंखघोष, शम्भुनाथ, शिव, शान्ति, शक्ति, शीत्तर, शास्त्री,)
६) ध – (धन, धनगढी, धनी, धर्म, धनपत, धरमपाल, ध्रुव, धुमिल, धुवाँ, आँधी, धनु, धनीराम, अध्यक्ष)
७) द – (दोस्त, दोकान, दरवाजा, दादा दिदी, दिपक, दवाई, दर्ता, दानव, दिया, दक्षिण, दक्ष, दिल, दुई)
८) थ – (थारु, थरुनी, थैली, थोरचे, थोपा, थोप्ला, थरुवा, अर्थ, स्थान, स्वास्थ्य, थर्मस्, मैथिली, थकान)
९) त – (तार, ताजा, ताल, तिख्खर, तीन, तीर, तीस, तेज, तेल, तकिया, तस्विर, तराजु)
१०) ण– (उच्चारण, गण, उदाहरण, वाण, द्रोण, गुण, बाणी, राण, गणेश, व्याकरण, विवरण, उत्तीर्ण)
११) ञ – (अञ्चल, चञ्चल, रञ्जन, मनोरञ्जन, माञाँ, छाञाँ, दाञाँ, बाञाँ आदि)

माथिको उदाहरणबाट केही कुरा प्रष्ट भएको होला नै । भाषालाई जति प्रयोग ग¥यो त्यति सहज हुँदैजान्छ । जसरी हाम्रा पुराना गरगहना (कन्सेरी, मुंग्री, तरिया, मुन्द्री, कारा, बुलाकी, नथिया, विजायत आदि) प्रयोग नभएर लोप हुने अवस्थामा छन् । त्यसैगरी भाषाको प्रयोग गरेनौं भने याी पनि गहनाजस्तै हुनपुग्छन् । त्यसैले पनि भाषा बचाउन नियमित अभ्यास अनिवार्य हुन्छ । भाषाको पहिलो शर्त बोलिनु हो । अनिमात्र लेखिने काम हुन्छ । तर बोलिुनजस्तै लेख्नुपर्छ भन्ने होइन ।

नेपाली सम्पर्क भाषालाई खस, पर्वते, सिञ्जाली, गोरखाली भाषा नाम दिएजस्तै, थारुका पनि दङ्गाली, देउखुरी, देसाउरी, कठरिया, रानाथारु, सोनाहा, चितवनिया, कोचिला, मोरङिया आदि नाम दिइएका छन् । नेपालमा अहिले १२३ +६ गरी १२९ भाषा बोलिन्छन् । नेपाली सम्पर्क भाषालाई मातृभाषा बनाएर बोल्ने संख्या ४४.६ प्रतिशत छ । त्यस्तै, ५५.४ प्रतिशतले अन्य मातृभाषा बोल्छन् । कर्णाली प्रदेशबाट उत्पत्ति भाषा नेपालको सम्पर्क (मानक) भाषा हुनसक्छ भने ‘थारू’ मानक भाषा किन हुन सक्दैन ? देशभर विभिन्न भाषा बोल्ने समुदाय छन् । उनीहरुको भाषा पनि हरेक कोषअनुसार फरक छ । तर पनि नेपाली भाषा सम्पर्क भाषा बन्नसक्छ भने हामी २२ जिल्लामा बस्ने थारुको साझा भाषा (मानक) किन सम्भव नहोला ? प्रयास गर्नुपर्छ । थारु मानक भाषा एउटै बनाउनेमा लाग्नुपर्छ । असम्भव भन्ने छैन । प्रयास नपुगेर मात्र हो । मानिस जन्मिदै दौडन सिकेको हुन्छ र ? फेरि हाम्रा शब्दका उच्चारणमा समनार्थी धेरै छ । पश्चिममा बोलिने शब्द ‘ढिरार’, चितवनमा ‘ढिढार’ वा ‘ढिण्हार’, भनिदोरहेछ । पूर्वमा पनि यसको उच्चारण त्यस्तै समनार्थी छ । पूर्वका थारुले यही शब्दलाई ‘ढिरहाइर’ भन्दा रहेछन् । यस्ता समनार्थी शब्द धेरै छन् । हामी जुटौं । थारु भाषाको मानक बनाउँ, असम्भव छ, नभनौं । पश्चिमा, मध्य र पूर्वीया गरी तीन–चार मानक नबनाउँ । एउटैमा जोड दिउँ । यसैमा हाम्रो पहिचान र अस्तित्व कायम हुन्छ ।

थप सुझाव
१) थारू समुदायले ‘ह्रस्व’ मात्र बोल्छन् भन्ने जुन तर्क छ, यो आफैमा संकुचित छ । ‘थारू’ शब्दले नै प्रष्ट पार्छ कि ‘त’ वर्णको ‘थ’ को प्रयोग हुन्छ, भइरहेकै छ । ‘थारू’ आफैमा ‘दीर्घ’ हो । थारू, दारू, भारू, मेन्धारू सबै दीर्घ लेखिन्छन् ।

२) स्वर र व्यन्जन वर्णलाई जतिसके विस्तार गरेको राम्रो हो, खुम्च्याउनु ठीक होइन । एउटा वर्णबाट सयौं शब्द उत्पन्न हुन्छन् । वर्ण खारेज गरेर भाषालाई नै संकीर्ण र साँगुरो नबनाउँ ।

३) ‘अरु आगन्तुक भाषा र शब्दको प्रयोग गरेर थारू भाषा समृद्ध हुँदैन’ भन्ने जहाँसम्म साथीहरुको तर्क छ, यो पनि गलत हो । जनजीव्रोले स्वीकार गरेको सबै शब्दलाई स्वीकार गरिनुपर्छ । भाषा भनेकै सन्देश प्रवाह गर्ने माध्यम हो । जुन शब्द जनजीव्रोमा अभ्यस्त भइसकेको छ, त्यसले उचित सन्देश प्रवाह गरिरहेको छ भने त्यसलाई स्वीकार गरिनुपर्छ । भाषा समृद्ध बनाउन आयातित शब्द स्वीकार नगरी सुखै छैन । अन्य भाषा के सबै आफ्नै सीमित घेराभित्र कैद भएको भए यत्तिको समृद्ध हुन्थे ? जस्तै, नेपाली, अंग्रेजी, जापनीज, चाइनिज, मराठी, वंगाली, आदि । एउटा अनपढ मानिसले बोल्दा ‘माइन्ड’ नगर्नुस् भन्छ भने जनजीव्रोमा अंग्रेजी शब्द ‘माइन्ड’ प्रवेश गरिसक्यो । त्यसलाई स्वीकार नगरी धरै छैन ।

४) जहाँसम्म पश्चिमा, मध्ये र पूर्वीया फरक–फरक मानक भाषाको कुरा छ । सरसर्ती हेर्दा मानक बनाउन सहज होला लाग्छ, सबैलाई । तर हामी भाषिकामा विभाजित हुनु र अल्झिनु कदाचित् उत्तम होइन । भाषिकालाई जोडेर भाषा बनाउने हो । थारू भाषालाई भाषिका बनाउनेतिर जोडबल नलगाउँ । साँघुरो घेराभन्दा बाहिर निस्कौं । थारू एउटै मानक भाषा बनाउनमा बहस छेडौं । आजको भोली ‘तातो खाऊँ आजै मरुँ’ भन्ने होइन । अहिलेसम्म थारू मानक भाषा नबन्दा के आकाशै खसेको छ र ! यो लहडको विषय होइन । भाषा मानक बन्न समय लाग्छ, लागोस् तर साझा बनाउँ । खस नेपाली भाषा सम्पर्क भाषा बन्नसक्छ भने थारू किन सक्दैन ? भाषा विवादकै कारण पाकिस्तानबाट बंगलादेश बनेको हामी सबैलाई थाहा छ । थारू बाट रानाथारु अलग भइसक्यो । अब भाषिकाकै बहानामा थारूलाई छिन्नभिन्न गर्ने छुट हामी कसैलाई छैन ।

५) जहाँसम्म ‘जे बोल्छौं त्यही लेख्ने’ कुरा छ, यसको वैज्ञानिक आधार प्रस्तुत गरौं । हो, केही थारुको उच्चारणमा एकरुपता हुनसक्ला । तर यसको अर्थ सबै थारुले त्यस्तै बोल्छन् भन्ने होइन । त्यही घरका एउटा सदस्यले एउटा उच्चारण गर्छ, दोस्रोले अर्को । वैज्ञानिक ल्याव टेष्ट गरी अगाडि बढौं । ‘स्याम्पलिङ’ भाषा विज्ञानको आधारले गरौं । बोल्न सबैलाई आफ्नो लवजअनुसार छुट छ । तर लेख्न छुट छैन । लेख्दा शुद्ध नै लेख्नुपर्छ ।

६) थारू समुदायको अझै औंलामा गिन्ती गर्ने सरकारी प्रशासक छैनन् । सिडिओ, प्रहरी प्रमुख हाम्रा छैनन् भनेर सरकारलाई गाली गर्छौं । भाषा विगारेर लोकसेवा उत्तीर्ण गर्नबाट अवरोध गर्ने हाम्रो भाषा दोसी बन्नु उचित होइन । थारु भाषालाई प्रतिस्पर्धी बनाउने हो, त्रुटीपूर्ण बनाउने छुट छैन । हाम्रो उच्चारणकै कारण हिनताबोध धेरैलाई भएको हुनसक्छ, तर सुधार्ने समय छ । आफूलाई सच्याएर लेख्ने प्रयासमै लागौं । थारू भाषा तपाई आफ्नो लवज र उच्चारणअनुसार बोल्नुस् तर लेखाईमा अनिवार्य शुद्ध लेख्नुस् । अन्यथा सरकारी प्रशासनिक काममा असफल र अनुत्तीर्ण र अपहेलित सधैं भइरहनुपर्ने हुन्छ । थारू भाषालाई ‘दोसी’को भारी बोकाइनु हुँदैन । हामी बेरोजगार उत्पादन गर्ने कारखाना बन्नु हुँदैन ।

७) समय कसैलाई पर्खदैन । आफ्नै गतिमा निरन्तर अघि बढ्छ । हामी थारू अगाडि बढ्ने कि पछाडि फर्कने हो ? हाम्रा युवापीढिले के चाहन्छ, के गरिरहेको छ ? उसको बोलाई, लेखाई र उच्चारण कस्तो छ, जाँचौं । बुढापाकाको तर्कले मात्र अव समाज अगाडि बढ्नबाट रोकिदैन । अग्रजबाट सल्लाह लिउँ, तर निर्णय आफूले समयानुकुल गरौं । परिवर्तनलाई आत्मसाथ नगरी हामी टिक्न सक्दैनौं । उसैपनि भाषा गतिशील र परिवर्तनशील हुन्छ । समयलाई नजरअन्दाज गरेर हामी समाजमा टिक्न सक्दैनौं ।

८) तत्सम शब्दलाई बङ्ग्याउने छुट हामीलाई छैन । तदभव (जनजीव्रोको बोली) बोल्न सबैलाई छुट छ । तर अशुद्ध लेख्ने छुट छैन । एकातिर प्रतिस्पर्धा, रुपान्तरण र दक्षताको कुरा गर्ने, अर्कोतिर पुरानो समयतिर फर्कन हामी सक्दैनौं । हाम्रो भेषभुषा, रहनसहन, खानपिन, आनीबानी, व्यवहार, कार्यशैलीमा भएको परिवर्तनलाई फेरि हामी फर्काउन सक्दैनौं । आज ‘जीन पैन्ट’ लगाएर हिड्ने युवालाई ‘लङ्गौटी’मा फर्काउन सम्भव छ र ! यो असम्भव छ । त्यसैगरी हामीले बोलेजस्तै लेख्नुपर्छ भन्नु विषय पनि त्यही हो ।

९) दाङको भेलाको निर्णय प्रस्ताव मात्र हो भने त्यहीरुपमा व्याख्या गरौं । यही नै निस्कर्ष हो भन्ने जिद्दी नगरौं । एउटा समूहले गरेको छलफल, भेलाको निस्कर्षलाई सबै थारूको टाउकोमा थोपर्ने प्रयास नगरौं । छलफल पर्याप्त गरिनुपर्छ, गरौं । वहसको थालनी शुरुभएको छ, अव यसलाई निस्कर्षमा नपुगुन्जेल नछाडौं । भाषा बहस कसैको मागीखाने भाँडो होइन । यसलाई व्यक्तिगत टिकाटिप्पणीका रुपमा नबुझौं । तर्क गर्दैजाँदा कोही माथि पर्न सक्ला । कोही तल खस्ला, यो सामान्य हो । वहसमा भाग लिनेले पहिल्यै स्वीकारेर भाग लिऔं । व्यक्तिगत दुश्मनीको विषय यसलाई नबनाऊँ । अध्ययन, विश्लेषणमा जुटौं । आफूलाई अब्बल पार्नेगरी आऊँ ।

१०) कुनै पनि भाषा जटिलताबाट सरलतातिर उन्मुख हुन्छ । हाम्रो थारू भाषा वैज्ञानिकको आधार, सिद्धान्त पनि त्यही हो । जनजिव्रोमा प्रयोग भइसकेका भाषालाई तोडमोड गरेर समुदायलाई थप भ्रमित पार्ने काम कसैले नगरौं । भाषा ज्ञान आर्जन गर्ने र प्रवाह गर्ने माध्यम हो । यसलाई त्यहीरुपमा बुझौं । आफूमात्र जान्ने अरु सबै ‘भेंडा’ नसोचौं ।

११) भाषा भनेको जुनसुकै समुदायको सौन्दर्य, कला हो । यो नदीजस्तै सलल बग्नुपर्छ । कम अक्षरमा लेखिने शब्दलाई बंग्याएर जटिल नबनाउँ । ‘परीक्षा’ लेख्न जति सहज छ ‘परिक्छ्या’ लेख्न त्यति नै कठिन । ‘थारू’ लेख्न जति सहज छ ‘ठारु’ लेख्न त्यति नै असहज । यस्तो गल्ती गर्नेतिर कोही नलागौं ।

१२) हामी भाषामा पछाडि पर्नु भनेको हाम्रो समाज आर्थिक, सामाजिक, राजनीतिक रुपले पछि पर्नु हो । हाम्रो भाषालाई जति धेरैले बुझ्न सक्छन्, त्यति यसको गरिमा बढ्छ । भाषा बुझ्ने भएमा मात्र व्यापार बढ्ने हो । भाषै बुझाउन सक्नु भएन भने कसरी तपाईको वस्तु बिकाउ हुन्छ । भनिन्छ नि ‘बोल्नेको पीठो विक्छ, नबोल्नेको चामल बिक्दैन ।’ भाषा भनेको यही हो । भाषा कमजोर भयो भने यसको असर हाम्रो समाजमा पर्छ नै । राजनीतिमा पर्छ । धर्मकर्ममा पर्छ । त्यसैले भाषा कमजोर हैन, परिस्कृत बनाउँदै जाउँ ।

१३) नयाँ संविधानले बहुभाषिक नीति अवलम्बन गरेको छ । हाम्रो भाषालाई मानक रुप दिई पाठ्यक्रममा एकरुपता दिन सबैले ध्यान दिउँ । थारु भाषामा एकरुपता आउन नसक्दा विद्यालयको पठनपाठनमा ‘पढाई’ हुँदाहुँदै विद्यार्थीले त्याग्ने परिस्थिति नअवस् । जसरी अहिले आएको छ । भाषा ‘जोगाउने र जगाउने’ दायित्व हाम्रै काँधमा छ । कोही अरु आएर हाम्रो भाषा जोगाइदिने होइन ।

१४) एउटा अब्बल थारु पत्रकारले गहकिलो समाचार लेख्दा पनि भित्री या पुछारको पृष्ठमा स्थान पाउँछ । कारण– उसको भाषा समृद्ध र शुद्ध नभएर । जेहेन्दार र उत्कृष्ट विद्यार्थी पनि परीक्षामा अब्बल आउन नसक्नुको कारण पनि हाम्रो भाषा कमजोरीले हो । त्यसैले भाषा शुद्धाशुद्धिमै केन्द्रित भएर अगाडि बढौं । सरकारी भाषालाई परिवर्तन गर्न हाम्रो ल्याकटले भ्याउँदैन । त्यसको अनुशरण गर्नुको विकल्प हामीसँग छैन ।

१५) भाषाले मानिसलाई जोड्ने काम गर्छ । भाषा विगारेर आफ्नै समाज तोड्ने काम बन्द गरौं । यसको दूरगामी असर र प्रभाव बारेमा घोत्लिने गरौं । ‘मैले बोलेकै भाषा मात्र ठीक, उसको गलत’ भन्ने संकीर्ण प्रबृत्ति त्यागौं । थारू मानक भाषा वहसलाई नयाँ शीराबाट अगाडि बढाऔं । यसमै सबैको हित र कल्याण छ । हमार पहुरा डटकमबाट साभार

(लेखक गोरखापत्र दैनिकका उपसम्पादक तथा प्रथम थारु भाषा दैनिक ’हमार पहुरा‘का सम्पादक/प्रकाशक हुन ।)

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित