थारु समुदायका महिलाहरु धुमधामसंग अष्टिम्की मनाउदै


दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको उत्पत्ति ‘अष्टमींटिका’ बाट भएको थारु सस्कृतविद अशोक थारुले बताउछन् । उनको अनुसार श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनको जन्मोत्सवमा थारु समुदायका महिलाहरुले ब्रत बसरे उनको निधारमा टिका लगाउने र गीत गाएर रातभरी अस्टिम्की मनाउने गर्दछन् ।


दुइदिनसम्म उल्लासमय बातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभरि केहि पनि नखाई व्रत बस्ने गर्दछन् । अष्टिम्कीमा ‘कान्हा’ को जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दै आएको घोराही उपमहनगरपाालिका १० की इन्दीरा चौधरीले बताइन । उनको अनुसार अष्टिमकीको पहिलोदिन अर्थात व्रत बसेकादिन विहानै महटावाको घरको बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरि चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा बनाइन्छ । त्यसैगरि श्री कृष्णको दाँया सुर्य र बाँया भागमा चन्द्रमाको चित्र कोरिन्छ । यसैगरि दोस्रो लाईनमा सात भाई कौरबको चित्र कोरिन्छ । त्यस्तै तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, लगायत विभिन्न चरा, चरिंगी र जनावरको चित्र बनाइन्छ ।


यसरी सवै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्दछन् । त्यसपछि विभिन्न किसिमको रंङ्गीचंङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरि थरिथरिको गरगहनाले सजिएर एकैसमयमा गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर महटावाको घरमा गई पूजा गर्ने गरेको चौधरी बताइन् । यसरी गाँउभरिका महिलाहरु महटावाको घरमा जम्मा भइसकेपछि महटावाँकी श्रीमतिबाट अष्टिम्कीको पूजाको सुरुवाट हुनेगरेको चौधरीले जानकारी दिइन् । ‘यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गर्ने गरिन्छ, उनले भनिन्, पूजा गर्दा निकै रमाइलो हुन्छ, ठूलाबाट सानो क्रमसै पूजा गर्ने चलन हुन्छ, पूजासंगै सामुहिकमा अष्टिम्कीको गीत गाउने गरिन्छ ।’
उनको अनुसार पूजापाठ गरिसकेपछि घर घरमा गई फलफुल र दहि खाई पुन महटावाको घरमा गई रातभिर गीत गाएर जग्राम गर्ने गरिन्छ । यसरी विहान भइसकेपछि यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, ज्यमिरे, फूल नजिकै खोलामा गई बगाउनेगर्दछन । जुनदिनलाई थारु भाषामा फह्रार भन्नेगरेको चौधरीले बताइन । फह्रारको नुहाईधुवाइगरि आ–आफ्नो घरमा जन्छन । घरमा आइसकेपछि ५देखि७ थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन्, जसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ । त्यहि अग्रासन विवाहित महिलाहरुले आ आफ्नो दाजुभाईहरुलाई अग्रासन दिन जाने चलन रहेको छ । अष्टिम्की पर्व दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउदै आइरहेकाछन् ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित