नारी मौनताले समाज परिवर्तन हुँदैन


समय परिवर्तनसँगै समाज परिवर्तन भइरहेको छ । हामीले सोचेको नारीवादी परिभाषा पनि सायद परिवर्तन भइरहेको छ । नारीहरुले शिक्षा र प्रत्येक क्षेत्रमा अवसर पाइरहेका छन् । अहिलेको समयमा हरेक क्षेत्रमा महिलाको सहभागिता देख्न पाइन्छ । स्थानिय तहमा मेयर र उप–मेयर मध्ये एक जना महिला हुनै पर्ने कानुनले व्यवस्था गरेको छ । सभामुख र उप–सभामुख मध्ये कुनै एकमा महिला हुनै पर्ने प्राबधानहरु निकै क्रान्तिकारी, अग्रगामी र सकारात्मक पक्ष मान्न सकिन्छ । तर राज्यले महिला हकहित र समानताको लागी संविधानमा महिला सहभागिता प्रदेश सभामा ३३५ हक मात्र सुनिश्चित गरेको छ । २००७ साल देखि २०७३ सम्मको परिवर्तनमा महिला पुरुषको बराबर बलिदान रहेको छ । राज्यको कुनै पनि क्षेत्रमा महिलाहरुको योगदान पुरुष भन्दा कम छैन भने महिलालाई प्रदेश सभामा ३३५ सिट मात्र किन ? महिला पुरुष समान हुन् भनेर समानताको कुरा गर्ने तर पुरुषहरुको राजनीतिक रसाकसी र दबदबाबमा सधैं महिला पिल्सिनु पर्ने ? कसैले आवाज उठाए, हामीले महिलाहरुको हक सुनिश्चित गरेको छौँ भन्ने जवाफ आउने । कागजमा सुनिश्चित गरेर मात्र हुन्छ व्यवस्थापन गर्नु पर्दैन ? देश परिवर्तन भनेको शहरमा गगनचुंबी घर, चिल्ला गाडी र राजनीतिक फेरबदल मात्र हैन सामाजिक र सांस्कृतिक पनि हो । सत्ता देश र देह दुबैमा हुन्छन् । एउटा सत्ता फेरिएर तकÞदीर फेरिदैन । दुइटै फेर्नु जरुरी हुन्छ ।


हामी यस्तो समाजमा बाँचिरहेका छाँै, जहाँ महिला गर्भ देखि नै सुरक्षित छैनन् , न त स्वतन्त्र । छोरा जन्मिए सर्वश्रेष्ठ मान्ने छोरी जन्मिए श्राप मान्ने दरिद्र सोच यिनै समाजको उपज हो । जुन नारी विना सृष्टि सृजना सम्भव छैन उनैलाई श्राप मानिने समाज छोरीलाई ‘त कमजोर, निरिह र असक्षम छस्’ भन्ने सोचले अझैसम्म उठ्न दिएको छैन । छोरीलाई जति यातना पिडा र शोषण हुँदा बाहिर हिम्मत जुटाएर बोल्न आठ हजार वर्ष लाग्यो तर पनि नारीको आवाज कसैको कानमा पर्दैन । शहरमा परिवर्तन आए महिला सभामुख भए, महिला प्रधान न्यायाधीश र अहिले महिला नै राष्ट्रपति हुनुहुन्छ । तर दुर्गम र गाउँ बस्तीका महिला दिदीबहिनीको अवस्था उस्तै दयनीय छ ।
पुर्व मेची देखी पश्चिम महाकालीसम्म महिलालाई सामाजिक र साँस्कृतिक विरासतले अत्यन्तै पिरोलेको छ । तराईका महिलाहरुलाई बोक्सी र दहेज प्रथाले उनिहरु माथि हुने अत्याचार कहाली लाग्दो छ । जथाभावी गाली गलौच कुट्ने पिट्ने घर निकाला गर्ने आगो लगाउने जस्ता शारीरिक र मानसिक यातनाको घटना समाचारमा सुन्दा मुटु फुट्ने गरी दुख्छ, दिमाक रन्नक तातेर शरीरमा रगत उम्लिन्छ । तर ढोग्गी कप्पटी र निर्दय समाजमा अझै महिला माथि हुने अत्याचार र अपराध कम भएको छैन बरु दिन दिनै बढदै गएको छ । पुरुष सर्वोक्षेष्ठ , पुरुष दाता, पुरुष महाराजा, पुरुष नै पर–ब्रमा र पुरुष नै परपरमेश्वर जस्ता भ्रमात्मक र पृत्तिसतात्मक सोचको अत्य नै समाज परिवर्तन हो ।
हिमाली र पश्चिमी क्षेत्रमा समाजिक कुरिती, कु–संस्कार र अन्धविश्वासको प्रथा हावी छ । त्यस ठाउँका जस्तै बाग्लुङ्गका पुरुषहरु बहुविवाह गर्न माहिर छन् । एउटै पुरुषले ३–४ वटासम्म विवाह गरेका कारण महिलाहरु घरेलु हिंसाको सिकार भएर नर्किय जिबन विताउन बाध्य छन् । प्रहरी प्रशासनमा पटक–पटक उजुरी गर्दा कसैले वास्ता गर्दैन । त्यस्ता अपराधीहरुलाई राज्यको कानुनले किन सजाय दिन सक्दैन ? महिलाहरु पशु सरह जिन्दगी कटाइरहेको त्यो पिडा, त्यो रोदन, त्यो चित्कार बुझ्ने क्षमता, हिम्मत किन कुनै पार्टीका नेता मन्त्री र जनप्रतिनिधीले गर्दैनन् ?

सामाजिक संस्कृति परम्परा भनेर विभिन्न कुरुतीको प्रथा हरेक महिलाले स्विकार्नु पर्ने अन्धविश्वास छ । यहाँसम्म की महिला शिक्षकहरु पनि छाउगोठ बस्दै आएको थुप्रै घटनाहरु विभिन्न मिडिया मार्फत देखिदै, पढ्दै र सुन्दै आएकाछौँ । नाई म बस्दिन यो गलत हो, रुढीबादी भनेर प्रतिकार गर्ने हिम्मत समेत गर्न सक्दैनन् । छाउगोठ बस्नै पर्ने तथा नबस्दा समाजले दिने मानसिक पिडा झन् कत्तिसम्म क्रुर होला ? एउटा शिक्षित नारी आफँै समाजको सिकार छिन् भने ऊबाट स्कुलका विद्यार्थीहरुमा परिवर्तनको सोच कसरी ल्याउन सक्छ ? खोइ त सामाजिक र सांस्कृतीक परिवर्तन ?
नेपालको आदिवासी चेपाङ समाजमा महिलाहरु खेतवारी मेलापात गरेर घर पस्दा आगो छुने प्रचलन रहेछ । आगो छुनु को मतलब हो आफ्नो पतिलाई प्रमाण दिनु की, म शुद्ध छु । यो सन्दर्भ रामायण ग्रन्थमा रामकी पत्नी सीताको अग्नि परीक्षासँग जोडिएको छ । सीताको शुद्धता र आदर्शता अग्निमा परिक्षा लिने समाजले राम माथि शुद्धताको प्रश्न नउठाएको कारणले आज नारीलाई दासी बनाएर राख्ने प्रचलन सदियौँ देखि हाम्रो समाजमा रहिआएको छ । बुहारी भित्रयाएपछि उसमा मान मर्यादा र आदर्शताको मोहर ठोकिन्छ । संस्कारी बुहारी चाहिने समाजले आफ्नो छोरालाई नारीको इज्जÞत गर्न किन सिकाउँदैन ? बुहारीलाई ससुरालीमा जत्ति नै मानसिक र शारिरीक यातना भए पनि घर बाहिर गएर तिमीले पाएका यातना पिडा बोल्यौ भने तिमी संस्कारी हुँदैन । चुपचाप सहनु नै नारी धर्म हो । तिमीमा पहाडै किन नखसोस् बाहिर कुरा निकाल्यौ भने घरको मानमर्यादा उलघंन हुन्छ । आदर्श नारी बन्ने लालचमा आज नारी उठ्नै नसक्ने गरि दविएका छन् । नारीवादी लेख पढ्दा लेखिएको पाए, नारीहरुको पिडा रोदन मौनतामा खोज्न सकिन्छ र बुझ्न सकिन्छ । म प्रश्न गर्न चाहन्छु उहाँहरुसँग के अझै नारी मौन बस्नु पर्ने हो ? के साच्चै नारीको पिडा र व्यथा समाजले बुझेको छ त ? यदि बुझेको हो भने लैंगिक विभेद किन ?
महिला हिंसा ओछ्यानबाटै सुरु हुन्छ । बुढाबुढी दुबै एउटै ओछ्यानमा एकै समयमा निदाए पनि बिहान पहिला महिला उठ्नु पर्ने अनि भान्सामा गएर चिया बनाएर ओछ्यानमा ल्याइदिनु पर्ने । घरको सरसफाई चुलोचौको मेलापात खेतवारी भएभरको महिलाले समहाल्नु पर्ने तर त्यहि घरको निर्णय महिलाले लिने अधिकारसम्म नहुने यस्तो पितृसत्तात्मक सोचको जडले गाडेको हाम्रो समाजमा महिला सधैं मौन बस्नु पर्ने किन ?
ग्रामिण क्षेत्रमा मात्र होइन शहरी घरका पुरुष सदस्य बैठक कोठामा देश विकास, समृद्धि र सुशासनका ठुल्ठुला बहस भइरहँदा टेवलमा चिया आउने, खान आउने अनि खाइसके पछि भाडा महिलाले माझ्नु पर्ने ? परिवर्तनको कुरा गर्ने बैठक कोठाका एक जना पुरुष उठेर मेरो थाल म आफैँ माझ्छु भनेर अगाडी बढुन सक्दैन । भने यो समाज परिवर्तनका कुरा समानता समताका गफ कस्का लागि ? नारीलाई समान अधिकार, यति प्रतिशत हक, उति प्रतिशत अधिकार भनेर चोक चोकमा उफ्रि उफ्रि भाषन गर्ने पुरुषले घर गएर बुढी नत्र छोरीलाई भन्छ भात पस्केर ले त । भलै त्यहाँ दुई तिनजना छोरा उपस्थित होस् तर भात पस्कने ठेक्का महिला नामको मात्र हुन्छ । यो रुढीबादी सोच कहिले सम्म ? घरमा परिवर्तन नभई देश परिवर्तन गर्न चोकमा भाषन गरेर हुन्छ ?
यी सव भए घरका कुरा, अब बाहिरका कुरा गरौँ । जब कुनै महिला घर बाहिर निस्कन्छिन् । बाटोमा, गाडीमा, भिडमा उसले लगाएका पहिरण र शारिरीक बनावट पुरुषको नजरमा यौनबृत चित्र बन्न पुग्छ । लुगाको रङ्गदेखि लिएर शरिरको स्तनसम्म, भलै ठाउँ सार्वजनिक होस् तर ती महिला पुरुषको प्राईवेट यौन तृष्णाको सिकार भएकै हुन्छिन् । बजार वा भिडभाडमा पुरुषहरु जानी जानी टासिन आउने, जवरजस्ती प्राइवेट प्रार्ट छुन खोज्ने, धकेल्ने, बाटो घाटो एक्लै हिड्दा टवाक्क जिब्रो पडकाई दिने मौका मिले छुन खोज्ने र प्रतिरोध गरे बलात्कारसम्म गर्न प्रयास गर्छन् । नारी नामलाई यस्तै पुरुषवादी सोचले समाजमा भद्दा मजाक बनाइ आएको छ । नारी खेलौना हो, यस्तो तल्लो सोचको संस्कार कहिले सम्म ?
कुनै क्षेत्रमा पनि महिला सुरक्षित रहन सकेका छैनन् । घरमा हिंसा, काम गर्ने ठाउँमा हिंसा, अफिस, सडक, गल्लीगल्ली जहाँ छिन् महिला त्यही हिंसा । के यो अत्याचार हैन ? एउटा फिल्म क्षेत्रको महिला कलाकारले आफुलाई यौन दुव्र्यवहार भएको कुरा सार्वजनिक गर्दा दर्शक श्रोताहरुले गाली गलौच गर्ने । कयाँै दिन देखि दविएको मानसिक पिडा एउटा केटीले हिम्मत जुटाएर आफु पिडित भएको कुरा भन्दा, समाजसँग बुझ्ने क्षमता खोई ? के उ आफु यौन शोषणको सिकार भएको प्रमाणित गर्न सृषा कार्की जस्तै झुन्डिएर आत्महत्या गर्नु पर्ने हो ? खोइ नैतिकता ? खोई सकारात्मक परिवर्तन ? खोइ लोकतान्त्रिक प्रकिया ? खोइ न्याय ? खोइ निर्मलाको हत्यारा ? खोइ समानता ? खोइ समता ?
के अझै नारी मौन बस्नै पर्ने हो त ?
आफ्नो घरमा छोरी आफ्नै बुबाबाट बलात्कृत हुन्छिन् । चेलीवेटी आफ्नै नातागोता बाटै यौन दुव्र्यवहार हुन्छिन् । प्रेम प्रस्ताव स्विकार नगरे एसिड उपहार । पार्दशी लुगा लगाए मानसिक पिडा । मलाई लाग्छ , हाम्रो समाजमा यौन दुव्र्यवहारको शिकारबाट अछुत कुनै महिला छैन होला । कहिँ न कहिँ, कतै न कतै , कुनै न कुनै तरिकाबाट प्रत्येक महिलासँग यौन उत्पिडनको तितो अनुभव होला । चाहे उसले खुलेर बोलोस् वा मनमनै गुम्साएर राखोस् ।
राष्ट्रिय महिला आयोगलाई राज्यले संबैधानिक रुपमा संस्थागत गरेको छ । तर राष्ट्रिय महिला आयोग, महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाहरुको उपलब्धि पाँचतारे होटलमा गरेको महाधिवेशन गोष्ठी र कार्यक्रम चार दिवारमा मात्र सिमित रहेको छ । हामी अब यसरी चुपचाप बस्न सक्दैनौँ । हरेक कुना कुनाबाट महिलाको आबाज आउन जरुरी छ । लैंगिक विभेदलाई कुल्चेर अगाडी बढ्नु जरुरी छ । आफुमा भएको कुनै पनि अत्याचार नसहौँ । सामाजिक र सांस्कृतिक मर्यादाको नाममा नारीलाई गर्ने दमन भेदभाव र मौनधारण गराउने विभिन्न गतिविधिलाई सिधै इन्कार गरौँ । महिलाले आफ्नो आत्मविश्वासको लागि आफँै आत्मनिर्भर हुनुपर्छ किनकी घरेलु आचरणमा रमाउने नारीले इतिहास रच्न सक्दैन ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित