छुट्टापत्तर

कथा

यही हातले उनको गाला सुम्सुम्याएकी थिएँ । उनी नुहाएर आउँदा यिनै हातमा तौलिया समातेर उनको भिजेको कपालको पानी पुछेर सुकाएकी थिएँ । यी नै हातले उनका ओठ, मुख, हात छोएकी थिएँ । यी नै हातले उनको पुरै जिउ छोएकी थिएँ । रमाएकी थिएँ उनीसँग । उनी नै मेरो जीवनको अन्तिम साससम्म साथ दिनेछन् भनेर आगोको साक्षी राखेर आफन्तहरुको माझमा कसम खाएकी थिएँ ।

यी नै आँखाले उनलाई हेरेकी थिएँ मेरो आत नअधाउन्जेलसम्म । हृदयदेखि नै माया गरेकी थिएँ । आफ्नो ज्यानभन्दा पनि बढी चाहेकी थिएँ उनलाई । मेरो मुटुमा उनलाई सजाएर राखेकी थिएँ । मुटु ढुकढुकाउँदा उनलाई सन्चो छैन कि भनेर अड्कल लाएर भगवान्लाई पार्थना गर्थे । उनले सिउँदोमा भररेको सिन्दुर यी नै हातले सजाएर बसेकी थिएँ । यति गरेर आखिरमा मैले पाएँ के ? मेरो त्यागको मोल के ? मेरा भावनामाथि खेलाँची गर्ने अधिकार कसले दियो उनलाई ? म दसनी । चौबिस वर्षकी स्वास्नी मान्छे । उनी बाहेक मेरो मनमा कसैको ख्याल आएन । आएन कसैको सपना पनि । शायद म यस प्रकार उनको प्रेममा अन्धी भएकी थिएँ ।

विपनामा बाहेक सपनामा पनि उनलाई मात्र देख्थेँ । यो मेरो आँखा कस्तो एकलकाटे भएको हँ ? यो मेरो मन किन सलल बग्न सकेन अरुको प्रवाहमा ? के मात्र देख्नुपरेको मेरो जीवनमा ? हैट, कस्तो दुर्दशाले छोएको मलाई ? कसम, म उनलाई बिर्सन सक्दिन भनेर भन्न सक्दिनँ । म छातीमा हात राखेर भन्छु, म उनलाई बिर्सिन्छु । मेरो जीवनलाई रङगहीन बनाउने उनको यत्रो हिम्मत ? उनले मेरो जीवनलाई रङ्गीन बनाए मात्र मेरो जीवन रङ्गीन हुने हो र ? उनले मेरो सिउँदोमा सिन्दुर भरे मात्र मेरो सिउँदो रङ्गिने हो र ? होइन ? यस्तो हुँदै होइन ।

यो त समाजले बनाएको एउटा दायरा मात्र हो । म आजैदेखि, अहिलेदेखि उनलाई बिर्सेँ । ल, म उनको यादहरुलाई खोलामा बगाइदिएँ । उनलाई थोपो पनि सम्झिने छैन । उनको अनुहार पनि मेरो आँखामा आए आँखा चिम्लेर उनको अनुहार बिर्सिदिने छु । पानीसरी बगाइदिने छु उनको अनुहार आफ्नो मानसपटलबाट । आँखा खोल्दा खेख्नेछु नयाँ बिहानीको सुनौलो सपना । देख्ने छु हिमालमा घाम झुल्कँदा रमाइरहेको हरिया पहाडहरु र देख्ने छु बुट्यानहरुले नृत्य गरेको त्यो मनोरम दृश्य । आहा, मनै आहलादित भयो । सम्झिने छु तराईका ती सिंगाने बालकहरु जसले संसारको वास्ता नगरेर बालुवामा निस्वार्थ मनको भार बिसाएर हाँसेको त्यो दृश्य । बरु हेर्ने छु डुब्दै गरेको घामतिर । जसले भोलि फेरि उदाउने वाचा गरेर अस्ताउँछ र बिहान फेरि उदाउँछ । आफ्नो वाचा पूरा गरेर विशवासको पात्र बन्ने धन्य त्यो घाम । समय भएसम्म हेर्ने छु आकाशमा गर्जिरहने कालो बादललाई । जुन बादललाई संसारले नराम्रो दृष्टिले हेर्छन् । कालो बादल भनेर डराउँछन् त्यही कलो बादलले पानी बर्साएको हेर्ने छु । भिज्नेछु त्यही बादलको वर्षामा र पखाल्नेछु जिउभरि उनले स्पर्श गरेका विकारहरु । सुकिलो लुगा लगाएर उड्ने छु आकाशमा । खेल्नेछु लुकामारी जुनेली रातको काखमा । उनले आज अर्की स्वास्नी ल्याएँ ।

हो, उनले मेरो सौता ल्याएँ । हाम्रो विवाह दुई वर्ष अगाडि भएको थियो । म हुँदाहुँदै पनि उनको यत्रो अहास रु म कहाँ पहिलाको स्वास्नी मान्छे जस्तो पति परमेशवर भनेर बस्छु र ? उनलाई लागेको होला उनले मलाई र कान्छी स्वास्नीलाई पनि यही घरमा राख्ने छु र दुबैको जिउ उपयोग गर्ने गर्छु । उनले यस्तो सोचेको पनि कसरी ? के हामी स्वास्नी मान्छेलाई उनले जनावर ठानेका त होइनन् ? बरु मलाई उनी जनावर लागे । मान्छेको त एक जना मात्र स्वास्नी हुन्छिन् । जनावरको पो ठिगान हुँदैन । अनि त्यस्तो मान्छेलाई जनावर नभनि मान्छे भन्न मिल्छ मैले ? मान्छे कहलाउने उनले आफ्नो सबै अधिकार गुमाइसकेको छ । हो, मलाई उनीजस्तो जनावरको स्वास्नी हुनु छैन । मैले आगालाई साक्षी राखेर लिएको सातै फेरा मैले तोडेँ । उनले लगाइदिएको सिन्दुर मनमनै पुछिसकेँ । बाँकी सिन्दुर समाजको अगाडि आफ्नो हातले पुछ्ने छु र हुने छु उनको बन्धनबाट मुक्त । उनी धनकुटा बस्थे । रेन्जर थिए उनी । उनी प्रेजेक्ट मार्फत् काम गर्न गएका थिए । त्यस समय म उनको घरमा बस्थेँ । उनी तीन, चार महिनामा हामीलाई भेट्न धनकुटाबाट घर आउँथे ।

छ महिना पछि उनी एउटा छ, सात वर्षको छोरो बच्चा भएकी स्वास्नी मान्छेलाई घर लिएर आए । हामीलाई उनले भने, ‘यिनी मेरो साथीकी स्वास्नी हुन् । मेरो साथी अफिसको कामले विदेश गएको छ । त्यतितन्जेलसम्म मेरो स्वास्नीको हेरचाह गर भनेको थियो । उनी एक्लै थिइन् त्यसैले उनलाई घर लिएर आएँ ।’ हामी सबैजना उनको कुरा पत्यायौँ । त्यो स्वास्नी मान्छेको नाम प्रज्ञा थियो । प्रज्ञा उनको साथीकी बुढी हुन् भनेर हामीले प्रज्ञालाई धेरै आदर, सत्कार ग¥यौँ । पाहुनाले पाउनुपर्ने हरेक सेवा ग¥यौँ । राति सुत्नेवेला पनि उनले हाम्रै कोठामा प्रज्ञाको लागि ओछ्यान लगाउन भने । मैले, ‘सासूको कोठामा ओछ्यान लाइदिन्छु भनेँ’ तर उनले मानेन् । मलाई कता कता शङ्का लाग्यो तर एकैछिनमा हरायो । प्रज्ञाको लागि तल ओछ्यान लगाएँ । हामी दुबै लोग्ने स्वास्नी माथि खाटमा सुत्यौँ । प्रज्ञा आफ्नो छोरोलाई लिएर तल सुतिन् । उनको छोरालाई म कहिलेकाही आफूसँगै खाटमा सुताउँथे । उनीप्रति दया लाग्थ्यो । एक्लै भएर यहाँ घुम्न आएकी पाहुना ठान्थे उनलाई । घरको काममा उनले सघाउँथिन् । आप्mनो मान्छे जस्तै लाग्थिन् मलाई प्रज्ञा । बोल्न पनि सारै फरासिली । व्यवहार पनि सारै मिजासिलो । टोलका सबै मान्छेलाई हामीले प्रज्ञा उनको साथीकी स्वास्नी हुन् भनेर भनिसकेका थियौँ । प्रज्ञा उनकी साथीकी स्वास्नी हुन् भनेर कसैले उनलाई शङ्काको दृष्टिले हेरेनन् । सबैले आफ्नै चेली जस्तो व्यवहार गर्थे उनलाई । वर्षमा चार, पाँच पटक उनले प्रज्ञालाई ल्याएका थिए घर । हामीलाई प्रज्ञाप्रति कहिले शङ्का लागेन ।

मलाई पनि त्यस्तो शङ्का लागेको भए आज उनी मेरो सौता बनेर आउने थिइनन् । उनको लोग्ने विदेश गएका थिए । एक वर्षपछि उनको लोग्ने विदेशबाट फर्किनेवेला भएको थियो । उनको पेटभित्र मेरो लोग्नेको सात महिनाको बच्चा थियो । अब उनी आफ्नो लोग्नेलाई कसरी मुख देखाउने होलिन् ? झन्डै एक वर्षपछि माघ महिनाको पहिलो हप्ताको शनिबार, सात वर्षको छोरो समेत लिएर मेरो लोग्नेसँग मन्दिरमा दोस्रो बिहे गरेर उनी मेरो लोग्नेसँग पोइल आएकी थिइन् । मेरो सौता बनेर मेरो घरमा भित्रिएकी थिइन् ।मेरो लोग्ने विश्वासघाती थिए । पछि बुझ्दै जाँदा प्रज्ञा उनकी साथीकी स्वास्नी थिइनन् । त्यहाँको गाउँकी बुहारी थिइन् उनी । मेरो लोग्नेसँग प्रेममा परेर मेरो घर आउने जाने गरिरहेकी थिइन् । उनले झुटो बोलेर मेरो साथीकी बुढी हुन् प्रज्ञा भनेर हामीलाई ढाटेका थिए । उनको लोग्ने विदेशबाट आउनुभन्दा अगाडि उनी टाप ठोकिन् । जसलाई मैले बहिनीको संज्ञा दिएकी थिएँ । जसलाई पाहुना जस्तै स्याहार गरेकी थिएँ त्यही स्वास्नी मान्छे मेरो जीवन उजाड पार्ने पहिरो बनेर आएकी थिइन् । सासूले पनि उनलाई घरबाट निकाल्न सकिनन् । उनले सहास नगरेकी होइन् । उनी बरहनी, खरा बोकेर उनलाई कुट्न गएकी थिइन् मेरो घरमा आगो लगाउने बोक्सी भनेर ।

तर उनकै छोराले रोक्दै भने, ‘प्रज्ञालाई केही गर्नुभयो भने म विष सेवन गरेर मर्छु ।’ एउटा मात्र छोरो । उनले कसरी आफ्नो आँखा अगाडि छोरोलाई विष सेवन गर्न दिन्थिन् र ? जुन छोरो उनको वंश चलाउने पुरुष थिए । मैले त्यस्तो गरेकी भए सबैले मलाई, जा विष खाएर मर भन्थे होलान् तर छोरो न हो आखिरमा, जे गरे नि हुने । नभए त्यही सासू हुन्, दुई वर्ष अगाडि नन्द पासवान केटोसँग भागिन् । छोरीले जातै फालिन् भनेर सासू ससुराले उनको नामबाट पतली, ढकनी, बरहनी र उनी सुत्ने ओछ्यान, बिछ्यान र लुगा समेत गाउँको गुहिया डगहरका फालेर उनको नामबाट छोरीको अन्त्येष्टिक गरे । त्यहाँदेखि नन्दलाई आजसम्म बोलाएका छैनन् । घरमा म बाहेक कसैले नन्दको नाम लिएका छैनन् । बोलाउने कुरा त परै जाओस् । मैले नन्दलाई बोलाउनुपर्छ भनेर घरमा कुरा राख्दा, ‘तँ पनि त्यस्तै छस्, चरित्रहीन’ भेनेर मेरो चरित्रमाथि औँला उठाउँथे घरका सबैले तर आज आँखा अगाडि उनको छोरो चरित्रहीन भएको छ तर सासूससुरा कसैले भनेन् मेरो छोरो चरित्रहीन छ भनेर । मैले सासूससुरालाई गुहार माग्दा उनका उनीहरुले झन मलाई, ‘मिलेर बस् । तेरो भाग्यमा सौता नै लेखेको थियो’ भने । मेरो भाग्य बारे निर्णय लिने उनीहरु को ? म आफ्नो भाग्य आफैँ लेख्छु । म आफ्नो भाग्य अरुलाई लेख्न दिने किन ? म आफ्नो भाग्य आफैँ लैख्छु । म कसरी मिलेर बस्ने ? म किन सौतासँग बस्ने ? उनले जे गरे नि मैले स्वीकार्ने ? अहँ सक्दिनँ स्वीकार्न । गल्ती उनले गर्ने अनि भोग्ने मैले ? म सक्दिनँ ।

म बिसौँ शताब्दीकी स्वास्नी मान्छे होइन् । म एकाइसौँ शातब्दीमा छु । सौतालाई किन स्वीकार्ने ? त्यही लोग्नेसँग म जीवन बिताउन सक्दिनँ । उनको घरमा पनि बस्न सक्दिनँ । मलाई अपशोच पनि छैन उनलाई छोड्न । उनलाई छोडे भने मसँग कसले विवाह गर्छन् भनेर डर पनि छैन् । उनलाई लाखौँ केटी भेट्न सक्छन् भने मलाई पनि करोडौँ केटा भेट्न सक्छन् । म नारी हुनुमा घमन्ड छ मलाई । म शक्तिशाली छु । पछुतो कति पनि छैन । मेरो थारु समाजमा पनि छोरी पोइल जाँदा कडा नियमको पालना गर्दै छोरीको अन्तिम संस्कार गर्ने मेरी सासू नै थिइन् । यिनी त्यस्तो आमा थिइन् जो आज छोराको गल्तीलाई स्वीकारेर टाउको तल झुकाएर बसेकी छिन् । विवाहित छोरोले अर्की स्वास्नी घर भित्र्याउँदा पनि छोरोलाई गुमाउने मोहले एक शब्द केही बोलिनन् । प्रज्ञाको अर्को लोग्नेको छोरोलाई पनि स्वीकार्न राजी भइन् । यसलाई म के ठानूँ ? पितृ प्रधान समाजको संस्कार कि बाध्यता ? म धेरै पढेकी थिइन् । साधारण लेखपढ गर्न जानेकी थिएँ प्रौढ शिक्षा पढेर । धेरै पढेको भए शायद कानुनी तरिकाबाट केही गर्न सक्थेँ कि ? तर मलाई नियम कानुन केही थाहा नभएकोले म सामाजिक तरिकाबाट उनीसँग छुट्टापत्तर गर्ने निर्णय लिएँ । रात परिसकोको थियो । मलाई खाना खान मन लागेन । उनीहरु मेरो कोठामा छिर्न सकेका थिएनन् । उनीहरु सासूको कोठामा सुते । सासू लाजले त्यहाँ सुत्न सकिनन् । ससूरा सुत्ने बसघरामा सासू सुत्न गइन् । मेरो लागि यो रात काल रात्रि नै थियो । तर मैले थोपो आँसु अहिलेसम्म बगाएकी थिइनँ । उनको गल्तीमा मैले किन आँसु बगाउने ? उनले मलाई छोड्न सक्छन् भने म पनि उनलाई छोड्न सक्छु । सधैँ सुन्दर लाग्ने मेरो कोठा मलाई आज सुन्दर लागेन । सधैँ थरिथरिको सपना सजाएर सुत्ने त्यो कोठामा आज कुनै सपना थिएन । निद्रा लागेन । मनमा रोष मात्र प्रकटभइरह्यो । उनलाई जिउँदै जलाउने इच्छा लागिरहेको थियो तर त्यसो गर्न अगाडि बढिन् । उनलाई पनि मेरो हरेक सम्झनाको रापमा जलाएर छोड्ने प्रण मैले लिएकी थिएँ । मेरो कोठामा भएका सबै सामानहरु आफ्ना लाग्थे तर आज सबै सामानहरु बिराना लागे । पलङ, सोफा, टि. भी, ओछ्यान, तकिया अलमारी हरेक वस्तु मलाई पराई जस्ता लागे । सिन्दुरको किया, काइयो ऐना, चुराहरु, सिरक सबै रिस उठ्दो देखेँ । सम्पूर्ण वस्तु मेरो लागि पराई लागे । म सधैँ पटक पटक ऐना हेर्थेँ । राति त अझैँ तीन, चार पटक हेर्थेँ । यो माइतीदेखि लागेको बानी थियो । तर आज ऐना हेरिन् । कपाल पनि कोरिन् । टीका पनि मेरो निधारमा लागेको थियो कि थिएन । याद गरेकी थिइन् । सिन्दुर उनको नामको लगाउने कुरा त परै जाओस् । हात र खुट्टाका औँलाका अल्ताहरु खुइलिसकेको थियो । आधा नङ्हरु देखिरहेका थिए । आज अल्ता लाउँछु भनेर बसेकी थिएँ तर अब अल्ता पनि लगाउन मन लागेन । आधा नङ्हरु मात्र होइन पुरै नङ्हरु देखिए पनि अल्ता लाउँदै लाउँदिनँ । मनबाट एक प्रकारको जागर हराइसकेको थियो । तर मैले ठानिसकेकी थिएँ म थोपो पनि रुने छैन । उनले मेरो बारेमा सोचेनन् भने मैले उनलाई लिएर बिलौना गर्नु मेरो कमजोरी हुनेछ । म एउटी स्वास्नी मान्छे हुँ । म बलियो छु । कमजोर भएर उनको सामू बिलौना गरे भने उनले मलाई दयाको पात्र बनाएर सौतामुनि राख्ने छन् । उनी लोग्ने मान्छे भएर अर्को बिहे गर्न सक्छ भने म स्वास्नी मानछे किन अर्को बिहे गर्न सक्दिनँ ? हो, म पनि अर्को बिहे गर्छु उनलाई छोडेर ।

म पत्तिव्रता बन्न चाहन्नँ । यति दिनसम्म मेरा आमा, हजुरआमाहरु पतिव्रता बनेर बसे । तर हजुरआमाका लागि मेरा हजुरबा खोई पत्नीव्रता बन्न सकेका ? अर्की स्वास्नी ल्याएर हजुरआमालाई दयाका पात्र बनाएर राखे । मेरा बा पनि अर्की स्वास्नी मान्छेसँग भेट्थे भनेर टोलभरि हल्ला थियो तर मेरी आमाले के गर्न सकिन् त ? त्यही पुरानो परम्परामा जकडिन् । बाहिर अउन सकिनन् । आमा पनि पत्तिव्रता पत्नी बनेर बसिन् । अरु पुरुषतिर हेरिनन् । तर हजुरबा र मेरा बाले के गरे ती नारीहरुका लागि ? केही गरेनन् । झनै उल्टै गल्ती गरेर पनि, ‘तँलाई पाल्ने मै हुँ’ भनेर घमन्ड गरेर बसे । हजुरआमा र आमाले उनीहरुलाई देउतासमान ठानेर बसे । तर म हजुरआमा र आमाजस्तो बन्न चाहन्नँ । म पनि अर्को बिहे गर्छु भनेर भोलि समाजको अगाडि खुलेर भन्छु । म लुकेर कुनै कुरा गर्ने होइन । म खुलेरै सबै कुरा गर्ने छु । यसो गरेमा मलाई बदनामीको डर छैन । डर हुनु पनि किन ? म निडर महिला हुँ । म आफ्नो बारेमा जे गर्छु आफ्नो सहजताको लागि गर्ने छु । समाजले स्वास्नी मान्छेलाई आजसम्म के दिएको छ र म समाजसँग डराउनु ? जे दिएको थियो समाजले त्यो सबै खोसेको छ ? पेटमा भोक थियो तर मनमा क्षुधा थिएन ।

आँखा शान्त थियो तर मनमा चैन थिएन । जिउले आराम खोजिरहेको थियो तर मन टुटेको सपनाको आकाशमा निशब्द उडिरहेको थियो । बोल्न धेरै कुरा चाहन्थे तर मनले बोल्न मानेको थिएन । मात्र मौन बसेँ । ओछ्यानमा पल्टिँदै मेरो मनले अनेक तर्कवितर्क गर्न थालेँ । प्रज्ञालाई घरबाट निकालेर धेरै गोदौँ लाग्यो त्यो भन्दा पनि आफ्नै लोग्नेको घाँटी खुकुरीले रेटेर यो घरबाट निस्कूँ पनि लाग्यो । तर त्यसो गर्न मनले मानेन । म स्वास्नी मान्छे भएर अरु पुरुषसँग भागेकी भए वा फेरि फर्केर यो घरमा आएकी भए के यो समाजले, घरले र मेरा लोग्ने भनाउँदा मान्छेले मलाई स्वीकार्थे ? अहँ, कुनै पनि अवस्थामा स्वीकार्दैनथे । मलाई घर निकाला गर्थे । मलाई त्यस्तो गर्थे भने म कसरी उनलाई छोड्न सक्छु र ? स्वास्नी मान्छे अरुसँग गए चरित्रहीन हुन्छे भने पुरुषमा किन यो नियम लागु हुँदैन ? म गर्छु यो नियम लागु । मेरा लागि उनी आजबाट चरित्रहीनपुरुष भए । म उनलाई स्वीकार्न सक्दिनँ । अर्की स्वास्नीसँग सबै थोक गरेको पुरुषलाई म कसरी आफ्नो लोग्नेको रुपमा स्वीकार्ने ? अहँ, सक्दिनँ ।

सबै गरेको मात्र होइन अर्काकी स्वास्नीलाई भुँडी बोकाएको पूरुषसँग म कसरी बसूँ ? ऐठनमै रात बित्यो । आँखा खुलेको खुलै थियो । रातभरि निदाउन सकिनँ । बिहानको प्रतीक्षामा थिएँ । जति उनको दोष थियो त्यति नै प्रज्ञाको दोष । म कसैलाई माफ गर्न सक्दिनँ । दुईजनामध्ये एक जना सचेत भएको भए यो दिन देख्नुपर्ने थिएन । बर्बाद हुने थिएन चार परिवार र बर्बाद हुने थिएन जीवन मेरो र प्रज्ञाको लोग्नेको । गाउँमा हामी महिलाहरुको समूह थियो । त्यसमा म प्रत्येक महिना पाँच सय रुपैयाँ जम्मा गर्थेँ । त्यो समूहका बीस जना महिला थियौँ । यो खबर मैले सबैभन्दा पहिला महिला समूहका साथीहरुलाई दिने विचार गरेँ । बिहानै उठेर साथीहरुलाई बोलाएर बैठक बस्यौँ । मेरो लोग्नेको सबै वृतान्त उनीहरुले हिजै थाहा पाइसकेका थिए । मेरो निर्णय सुन्न मात्र बाँकी थियो । मैले उनीसँग नबस्ने निर्णय सुनाएँ । मेरो कुरा सुनेर समूहका साथीहरुले हामी प्रज्ञालाई कुटेर निकाल्छौँ भने तर मैले स्वीकारिनँ । उनीसँग नबस्ने निर्णयमा पुगेँ । उनीहरु मेरो निर्णय सवीकार्दै मलाई सहयोग गर्ने वाचा गरे । मैले सोचँे बिहे गर्नको लागि सबै नातेदार, आफन्तहरुलाई बोलाइन्छ भने छुट्टापत्तर गर्दा किन सबैलाई नबोलाउँने ? हजारौँ देउतालाई साक्षी राखेर विवाह सम्पन्न गरिन्छ भने म एक्लै किन यो छुटापत्तर लिने ? मैले छुटापत्तरको कार्ड छपाउने विचार गरेँ । उनको पट्टिको र मेरो पट्टिको सबै नातेदारहरुको तालिका बनाएँ । जम्मा मैले एक सय पच्चिसओटा कार्ड छपाउनुपर्ने भयो । समूहमा जम्मा गरेका आधा पैसा उठाएँ । छुट्टाापत्तरको कार्ड छपाएँ ।

मैले कार्ड छपाएको घरमा सुइको कसैले पाएका थिएनन् । जब उनले छुट्टापत्तरको कार्ड छपाएको थाहा पाए घरमा रडाको मच्यो । सासू ससुराले पनि उल्टै मलाई गाली गर्दै भने, ‘तँलाई हामीले यस्तो सोचेका थिएनौँ । तैँले जे गर्दै छस् त्यो सबै सरासर गलत हो ।’ म पनि कहाँ चुप लागेर बस्थेँ । मैले नि जवाफ फर्काएँ, ‘मैले गरेको गलत हो भने तपाईँका छोराले गरेको सही हो ?’ यति मात्र के भनेकी थिएँ उनी सन्केर आए । मलाई थप्पड हान्नको लागि हात उठाए । मैले उनको हात समातेर उल्टै एक थप्पड उनलाई कसेर हान्दै भने, ‘तपाईँ यही थप्पडको लायक हो । अबदेखि मलाई थप्पड हान्न आउनुभयो भने यो घरमा आगो लगाइदिन्छु । सबैलाई बर्बाद पारिदिन्छु ।’ यति भनेर म आँगनबाट निस्केँ । म आँगनबाट निस्केको प्रज्ञा केबारको दोगबाट (ढोकाको काप) हेरिरहेकी थिइन् ।

म बाहिर निस्किँदै गर्दा उनले भने, ‘साले, रन्डी । जेजे गर्न मन लाग्छ गर् ।’ मैले उताबाट कडकेर जवाफ फर्काएँ, ‘तँ रन्डो । मेरो केही बिगार्न सक्दैनस् ।’ समूहका साथीहरुलाई भेट्न गएँ । साथीहरुलाई छुट्टापत्तरको कार्ड दिएर आफन्तहरुको ठेगाना दिँदै आफन्तहरुसम्म कार्ड पु¥याइदिन् भने । साथीहरु कोही आफैँ गए कोही आफ्ना श्रीमान्लाई पठाए । कोही आफ्ना छोरालाई पठाएँ । दुई दिन भित्रमा कार्ड बाँड्ने काम सक्यो । यो खबर हावा बनेर गाउँ गाउँमा फैलियो । सबैभन्दा पहिला त मेरो माइतीमा यो खबर पुग्यो । मैले नै सबैभन्दा अगाडि यो कार्ड मेरो माइतीमा प¥याइदिनु भनेकी थिएँ । मेरा बा भोलिपल्टै हत्तास भएर मलाई भेट्न आए, ‘यस्तो निर्णय नले ।’ भन्दै घन्टौँसम्म मलाई सम्झाए तर अहँ म कति पनि डगमगाइनँ । मैले बाको कुरा मान्दै मानिन् । केही सिप नलागेर जानेवेलामा बाले, ‘जे गर्छेस्, त्यही निर्णय हामी स्वीकार्छौँ ।’ भनेर चित्त दुखाएर घर फर्के ? बाले उनलाई पनि सम्झाए तर उनी गोरु जस्तो टाउको तल निहुराएर बसिरहे । केही बोलेनन् । बाको कुरा सुनि मात्र रहे । एक पटक पनि मेरा बालाई जवाफ फर्काएनन् । ‘यस्तो सहासी स्वास्नी मान्छे हामीले आजसम्म देखेका छैनौँ ।’ भनेर वरपरको छ, सातओटा गाउँमा मेरो बारेमा हल्ला फैलियो । कसैले मलाई सहासी भने । कसैले गाली गरे । कसैले नचाहिने भने । कसैले नाटक गरेको भने । कसैले लाजै नभएकी आइमाई भने ।

मलाई थाहा थियो यो पाइला मेरो लागि त्यति सजिलो थिएन । मैले यो कुराको सामना गर्नु नै पथ्र्यो । जसले जे बोले पनि मलाई कसैको वचनले केही फरक परेन । एक प्रकारले म नचाहिने जिदी नै छु । तर मेरो लागि यो निर्णय नचाहिने थिएन ।महिला समूहका साथीहरुले मलाई सघाएको देखेर घरका सबैजना रिसाउन थाले तैपनि उनीहरुले मलाई सहयोग गर्न छोडेनन् । समूहमा राखेको मैले सबै पैसा उठाएँ । सबै आफन्तहरुलाई र गाउँका पन्चहरुलाई पनि निम्तो पठाइसकेकी थिएँ । टेन्ट भाँडामा बोलाएकी थिएँ । साथीहरुलाई दाल, चामल, तरकारी, दही र मासु किन्न बजार पठाएकी थिएँ । सबैजनाले सबै सामान किनेर ल्याइसकेका थिए ।

मैले भन्नै बिर्सेको खाना खाने पात र पानी खाने गिलास र छुटेका सामानहरु साथीहरु आफँैले किनेर ल्याए । उनको घरमा टेन्ट नराख्ने निर्णय मैले लिएँ । घरपछाडि बारीको छेउमा सोनमाको खेतमा टेन्ट राख्ने कुरा सोनमासँग गरेँ । सोनमाले पनि मान्यो । मेरो छुट्टापत्तर हुने दिन थियो । बिहानैदेखि सबैजना टेन्टमा तरकारी काट्दै पाहुनाहरुको लागि खाना र नास्ता पकाउन व्यस्त थियौँ । गाउँका मान्छेहरुले मलाई हेरेर भन्थे, कस्ती स्वास्नी मान्छे होली ? लाजै नभएकी । कसैले भन्थे, बहादुर । उनीहरु जे बोले नि कागले सराप्दैमा भ्यागुता मर्ने होइन भन्दै म काममा व्यस्त थिएँ । उनी र सासू ससुरा लाजले घरबाट निस्केका थिएनन् । आज सबै आफन्तलाई बोलाउने गरी निम्तो दिएकी थिएँ । आउने समय १२ बजेको थियो । पाहुना आउन थालिसकेका थिए । मेरो तिरका सबै आइसकेका थिए । म केके गर्दै छु भनेर मेरो योजना बारे जानकारी लिन दुई दिन खगाडि बाले काकालाई माइतीबाट पठाएका थिए । मैले आफ्नो छुट्टापत्तरको योजनाबारे काकालाई विस्तृत रुपमा भनेर बालाई जानकारी पठाएकी थिएँ ।

मेरो जिद्दी देखेर बा मलाई साथ दिन तयार भए । माइतीपट्टिका सबैजना मलाई साथ दिन तयार थिए । उनीतिरका नजिकका पाहुना बाहेक कोही आएनन् । उनका मामाहरु, आमाजू र मौसीहरु आए अरु खासै आएनन् । गोराइतलाई भनेर गाउँका पन्चसमेत गरेर पुरै गउँका मान्छेलाई बोलाउन लगाएँ । बसघरा र खलियानमा सबैजना मिलेर तन्ना, सतरङ्गी, पटिया र गोनैर बिछ्याएर पाहुनाको स्वागत ग¥यौँ । मेरी आमा मतिर हेर्दै आँसु झारिरहेकी थिइन् । मैले आमाको हात मुसार्दै भनेँ, ‘आमा मलाई तपाईँको साथ चाहिएको छ ।’ आमाले आँसु पुछ्दै मेरो टाउकोमा हात राखिन् । पछिबाट बा, काकाकाकी, बहिनीहरु र भाइ, मामा माइजू, दिदीहरु, मौसीहरु सबै जना मेरो छेउमा आएर भने, ‘हामी तिमीलाई साथ दिन आएका हौँ ।’ बा पनि मेरो अनुहारतिर हेर्दै, ढुक्क भएर बस् भनेर टाउको हल्लाउँदै थिए । मेरो माइती मेरो पक्षमा भएर म कम्ती खुसी भएँ । सबैको सहयोग पाएर मेरो ऊर्जा चौगुणा भयो । विमोचन मासिक पत्रिका बाट ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित