दाङ विपि र गुम्रा थारु……..


सुदीप गौतम


२०१६ साल पुषमा राजाको दाङमा आगमन हुदा एउटा सर्वसाधारण थारु किसान खुईलिएको काँध देखाउदै राजाको स्वागतमा उभिनु भयो । राजाको आँखा उहीँ किसानको खुईलिएको काँधमा पर्यो राजाले विपिलाई त्यो के भनी सोधे र विपिले तात्कालीन एसपि चिन्तावहादुर वस्नेत ( जो जनमुक्ति सेना, रक्षादल हुँदै प्रहरीमा आएका थिए र विपिका खास मान्छे पनि थिए) लाई घटनावारे सोधे। एसपिले राजा र विपिलाई क्याम्पमा पुगेर यहाका थारु किसानको दुर्दशा विस्तार गर्दै जमिन्दारको खटौली वोकेर किसानको काँध खुईलिएको जानकारी गराए । त्यो घटना पछि राजा र विपिले क्याम्पमै किसान समस्या समाधानको चर्चा गरे । २०१५ सालको आम निर्वाचनपश्चात नयाँ सरकार बनेपछि दाङका जमिन्दार र किसानबीच विभिन्न ठाउँहरुमा मोही, वेदखली र शर्तसम्बन्धी विवाद हुन थालेका थिए । यसैक्रममा २०१६ साल हिउँदमा जमिन्दारहरुले मोही वेदखली गर्न सजिलोको लागि तोरी बाली लिएको रसिद किसानलाई दिएका थिएनन् । रसिद नदिएका कारण किसानहरुले जमिन्दारहरुलाई तोरी बाली दिएनन् । महिनौसम्म तोरी खलियानमै रहेको थियो ।

त्यही राजा र विपीको छलफल पछि किसानहरुलाई जमिन्दारले तिरो तिरेको रसिद अनिवार्य दिनुपर्ने भन्दै एसपिलाई विशेष अधिकार दिइयो ९ त्यतिवेलासम्म किसानको समस्या मालका हाकिम र वडा हाकिमले हेर्थे अब यसमा यसपि समेत थपिएर ३ जनाले हेर्ने मौखिक रुपमा अधिकार दिईयो ० सरकारवाट थप वल पाएका एसपि अब किसानको पक्षमा वेलगाम उभिए ।

यसै क्रममा २०१६ साल माघ १७ गते बेलुवाका केही मानिसहरू तोरी लुट्न गाउँ प्रवेश गरे । यस कुराको सुइको पाई किसानहरुले घेरा हाली तोरी लुट्न गएका व्यक्तिहरुलाई पक्री प्रशासन समक्ष बुझाए । प्रशासनले कुनै कारवाही नगरी छोडिदियो भने जमिन्दारहरुले उल्टै किसान नेता र कम्युनिष्ट कार्यकर्ताहरुमाथि कुटपिट मुद्दा लगाए । यसरी मुद्दा खेप्नेहरुमा बेलुवाका पिठु थारु, पर्वते थारु, कुलमान थारु, ख्याल थारु र वञ्जारीका घरेवा थारु, विष्णु थारु, चुके थारु र काञ्छाराम थारु, गोपीलाल थारु तथा कम्युनिष्ट नेताहरू केशवराज गौतम, माणिकलाल गौतम, नारायणप्रसाद शर्मा, रामप्रसाद देवकोटा र ढाँटु चौधरी थिए । यो घटना दाङको किसान आन्दोलनमा ‘लाही काण्ड’का रुपमा चर्चित छ ।

तोरी बाली नदिएको घटनापश्चात बेल्वा–वञ्जारीका जमिन्दारहरुले किसानहरुले जोतभोग गर्ने आफ्ना सम्पूर्ण जग्गा गैराखुट्टीका आफ्ना मानिसलाई ठेक्का शर्तमा लगाउन दिए । नयाँ ठेकेदारहरुले किसानहरुलाई जमिनबाट हटाउने उद्देश्यले त्यहाँ घुक्र्याउने, सताउने र उस्तै परे जग्गा जोत्नसमेत नदिने काम गर्न थाले । तर किसानहरुले कडा प्रतिवाद गर्र्दै आफूहरुले जोत्ने गरेका जग्गाहरू जोती नै रहे, छोडेनन् । यतिमात्र होइन, उनीहरुले झारा, बेठवेगारी बन्द गरे भने जिरायत (जमनिदारले पूरै बाली खाने गरी किसानले खेती गरिदिने जग्गा) पनि जोतेनन् । किसानहरुलाई जग्गा जोत्नबाट वञ्चित गराउन जमिन्दारहरुले प्रहरी प्रशासन समक्ष उजुरी दिए । जमिन्दारहरू वडाहाकिम केदार ठाकुरलाई हातमा लिएर यसपि विरुद्धमा लागे । कस्तो स्थिति भयो भने वडाहाकिम जमिन्दारको पक्षमा एसपि किसानको पक्षमा । त्यसैविचमा तुलसिपुरमा हवाईजहाज काण्ड भयो (२०१६ साल चैत्र २८ गते) भयो । भरखर पढेर आएका वामपन्थी विचारधारावाट प्रभावित नौजवानहरू यसकाण्डवाट आफूलाई राजनीतिमा स्थापित गराउन चहान्थे तसर्थ उनीहरू खर्रो स्वभावका यसपिलाई तह लगाउन आन्दोलमा गए । किसान आन्दोलन त माघ देखि नै आफ्नै ढङ्गले चलिरहेको थियो । एसपी विरोधी आन्दोलन र्चकर्दै गयो सदनमा कुरा उठ्यो । प्रधानमन्त्री विपीले दाङ आन्दोलन जमीन्नदार र किसान विचको वर्गयुद्ध भएको र किसानको विपक्षमा प्रतीकृयावादीले सरकारलाई काम गर्न नदिएको जवाफ दिए ९ विपीको सम्बोधन मेरो आवाजमा तलको लिङ्कमा सुन्न सकिन्छ ।

विपी दाङको किसान समस्या सम्बोधन र्गन चहान्थे । त्यसैले उनले सर्वदलीय संसदीय समिति पठाएर सुझाव लिए । विश्ववन्धु थापाको अध्यक्षतामा सूर्यवहादुर थापा सरोज कोइराला दुर्गानन्द प्रसाद सिह र वासुदेव तिवारिरहेको एक दाङ भूमि जाँच कमिसन गठन गरी दाङ पठाए । सामान्यतया आन्दोलन भनेपछि सत्ताले सरकारको विरोध वुझ्छ तर विपिले काँग्रसको २०१७ बैशाख २५–३१मा काठमाडौमा सम्पन्न महाधिवेशनवाटै दाङको किसान आन्दोलनको सर्मथन र्गदै आन्दोलनमामा एक्यवद्ताको लागि यो प्रस्ताव पास गराएका थिए । सङ्घर्षको तीव्रता आएको दोश्रो जिल्ला दाङ हो । यहाँ पनि किसान र जमिन्दारबीच रसिद विषयलाई लिएर संषर्घ प्रारम्भ भएको छ । यस जिल्लामा कम्युनिष्टको रोल अत्यन्त हास्यास्पद रहेको छ । प्रथमतः उनीहरुले जमिन्दारलाई साथ दिएर किसानहरुको अधिकारको विरुद्ध जनता र विद्यार्थी वर्गलाई उचाल्ने प्रयास गरेका हुन् र अहिले किसानमो अधिकारको नारा दिएर किसानलाई उत्तेजित तुल्याउने प्रयासमा छन् ।

जुन स्थितिमा दाङमा किसानले आफ्नो अधिकारका लागि सङ्घर्ष गरेका छन् त्यसको पूर्ण समर्थन गर्दै नेपाली काङ्ग्रेस उनीहरुसँग आग्रह गर्न चाहञ्छ कि उनीहरुको कस्तै उत्तेजनामा आएर पनि कानूनी मर्यादाको विपरित हुन नसकोस् । साथै नेपाली काङ्ग्रेस आफ्ना यावत साथीहरुलाई किसानको हितको पक्षमा सरकारले पास गरेका कानूनहरुलाई प्रयोगमा उतार्न दिलोज्यान दिएर काम निर्दिष्ट गर्दछ ।

यसरी विपी दाङको किसान आन्दोलनलाई पूर्णता दिने तयारीमा लाग्दालाग्दै पनि परिस्थिति उल्टो हुदैगयो । संसदीय प्रतिनिधि मण्डलले वेगारी, जमिन्दारी जस्ता प्रथा हटाउन नयाँ भूमि कानूनको आवश्यकता औल्यायो साथै दाङको शान्ति सुरक्षकोलागि वडाहाकीम र यसपीको सरुवा गर्नुपर्ने सुझाव दियो । एसपि र वडाहाकिम दुवै फेरिए । किसान अधिकारका लागि लढेका थिए । एसपि र वडाहाकिम फेरिनुले उनीहरुको समस्या फेरिने थिएन तर त्यसपछि दाङको शक्ति सन्तुलन फेरियो । जमिन्दारहरू शक्तिशाली भए किसानको पक्षमा रहेका एसपि पनि नहुदा उनीहरू झन् कमजोर नयाँ वडा हाकिम विनोद प्रसाद धिताल र एसपीमा कमान सिंह दाङ आए । उनीहरुले किसानको समस्या वुझेनन ।

यसैबीच २०१७ साल श्रावण ४ गते प्रहरी सहित जमिन्दारको एउटा टोली खेतमा गई जोतिरहेका किसानहरुलाई धम्क्याउन थाल्यो । दुवै पक्षबीच झडप भयो र जमिन्दारहरू त्यहाँबाट पछि हटे । तर किसानको रिस साम्य भएन । उनिहरु खेत छोडेर जमिन्दारका घर–घर गई जमिन्दारहरुलाई ल्याएर सुँगुरको वरुवा ९सुँगुरको गोठ०मा थुने । हिलो–पानी दल्ने, सुँगुरको ‘गु–मुत’ मुखमा हालिदिनेजस्ता व्यवहार प्रस्तुत गरे । गाउँ–गाउँमा घुमाएर किसानको खुट्टा ढोगाएर छोडिदिए । यस घटनाबाट जमिन्दारहरू निकै अत्तालिए, अप्रत्यासित आक्रमण, अपमानपूर्ण व्यवहार र जमिनको बचाउको लागि उनीहरू सङ्गठित भए र प्रशासनमा उजुरी गर्न पुगे । यस घटनाका प्रत्येक्षदर्शी प्रहरी समेत अत्तालिएका थिए ।

यस घटनापश्चात प्रशासनले २०१७ साल श्रावण ६ गते आफ्ना मागहरू बारेमा छलफल गर्न भनी मुख्य–मुख्य किसान नेतालाई घोराही बोलायो र त्यहीं राख्यो । मुख्य किसान घोराही र अन्य किसान खेतमा रहेको बेला एउटा उत्तेजित जत्था दक्षिण तिरबाट वञ्जारी गाउँमा प्रवेश गर्यो । प्रहरी सहितको त्यो टोली ४ गतेको घटनामा संलग्नलाई पक्राउ गर्न गएको थियो, तर किसानहरुलाई यातना दिन थाल्यो, धरमा रहेका वृद्धहरुलाई लछारपछार गर्ने, किसानका डरी–भकारी फोड्नेसम्मका काम भए । वञ्जारी गाउँको यो अवस्थाको जानकारी दिन एकजना किसान सहदेव चौधरी बेलुवागाउँ पुगे र बेलुवाका सम्पूर्ण किसान महिला, केटाकेटीसमेत घरेलु हातहतियार सहित वञ्जारीतिर लागे । उता वञ्जारीबाट त्यो उद्दण्ड समूह पनि बेलुवातिर लाग्यो ।

बेलुवा र वञ्जारीको बीचको डाबरमा दुवै पक्षबीच झडप भयो । त्यस स्थलमा प्रहरीका ३ वटा टोली गएका थिए– जसमा एसपी कमान सिंहको नेतृत्वमा सशस्त्र प्रहरी पनि थियो ९सरकारी प्रतिवेदनमा डिएसपी भनिएको छ० । कमान सिंह चर्चित एसपी काण्डपछि चिन्ताबहादुर बस्नेतको ठाउँमा भर्खरै सरुवा भएर दाङ आएका थिए । त्यहाँ पुगेको सुरक्षाकर्मी ३ समूहमा विभाजित भई दुई समूह उत्तरबाट र एसपीको समूह सामुन्नेबाट गाउँमा प्रवेश गरेको थियो । गाउँमा प्रवेश गरेको प्रहरीले त्यो भीडमा रहेका व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप भयो र केही गाउँले एवं सुरक्षाकर्मी घाइते भए । भाला, बर्छीसहित उपस्थित किसानहरुले पेस्तोल निकाली तम्सिएका एसपीमाथि एक्कासि भाला प्रहार गर्दा एसपीको हातबाट पेस्तोल खस्यो र हातको औंला काटियो । किसानहरुको दोहोरो भिडन्तमा आफ्नै औंलासमेत गुमाउन बाध्य भएका एसपीले किसानहरुमाथि गोली हान्ने आदेश दिए । त्यहाँस्थित प्रहरीहरुले धमाधम गोली चलाउन शुरू गरे, गोली लागि तीन जना किसानहरू त्यहीं भूइँमा लडे । त्यहींनिर गुमराहा थारुको मृत्यु भयो । त्यस घटनामा रत्नु थारु र कालु थारु गोली लागि घाइते भए भने मुख्यलाल थारु र बुझौना थारु सङ्गीनबाट घाइते भए ।

बेल्वा र वञ्जारी घटनापश्चात औंला गुमाउन विवश एसपीले किसानहरुमाथि प्रतिशोधपूर्ण कारवाही गरी स्थितिलाई आफै गम्भीर बनाउँदै लगे । किसानहरुमाथि उग्र दमन प्रारम्भ गरियो । ऋषिराम चौधरी समेतका १८ जना किसान नेताहरू पक्राउ परे । पक्राउ पर्नेमा मानवहादुर थारु, फुलपाती थारु, कुलमान थारु, लहनी थरुनी, ठाकुरप्रसाद थारु, भरथरी थारु, बुढिया थारु, पिठु थारु, धनीराम थारु, क्रिमलाल थारु, भूवन थारु, भवानी थारु, लवरा थारु, चुके थारु, बहादुर थारु आदि थिए । यसैबीच साउन २४ गते बडाहाकिम विनोदप्रसाद धितालले मानवहादुर थारु, फुलपाती थारु, पिठु थारु, चुके थारु, बहादुर थारु, क्रिमलाल थारुसमेत ७ जना किसान नेताहरुलाई थुनुवा पुर्जी दिई अन्यलाई प्रहरी हिरासतबाट छाडिदिए । थुनुवा पुर्जीमा त्यस मौजाका मानिसलाई भड्काई मारपिट गरेको जमिनदारलाई मौजामा आउन रोकेको जमिन्दार बासुदेव शर्मा र भागवत शर्मालाई कुटपिट र दुव्र्यवहार गरेको, अशान्ति फैलाएको, पुलिसमाथि आक्रमण गरेको आरोप लगाइएको थियो ।

आन्दोलनको अगुवाई कम्युनिष्ट पार्टीले गरेको आरोपमा स्थानीय प्रशासनले तत्कालीन कम्युनिष्ट पार्टीका नेता रामप्रसाद देवकोटा, माणिकलाल गौतम, केशवराज गौतम र नारायणप्रसाद शर्मालाई पहिल्यै गिरफ्तार गरी जेलमै राखिएको थियो । जेल पर्नेहरुले जेल सुधार र बेल्वा–बञ्जाडी काण्डको न्यायिक जाँच गर्न माग जेलभित्रै अनसन बसे । माग पूरा भएपश्चात अनसन तोडियो । जेल परेका नेताहरू केशवराज गौतम, मणिकलाल गौतम र रामप्रसाद देवकोटालाई २०१७ भाद्र २८ गते जेलमुक्त गरियो । नारायणप्रसाद शर्मालाई भने तत्काल जेलमुक्त गरिएन । उहाँलाई २०१७ सालको फौजीकाण्डपश्चात तत्कालीन पञ्चायती निरङ्कुश शासकहरुले जेलमै राखे र ३ वर्षपछि मात्र जेलमुक्त गरे ।

यस आन्दोलनले दाङको किसान क्षेत्रमा मात्र व्यापकता पाएन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अत्यन्त चर्चाको विषय बन्न गयो । यसै प्रसङ्गसँग जोडेर बिबिसीले ‘पश्चिम नेपाल कम्युनिष्टहरुको बढ्दो खतरा’ भन्ने समाचार सम्प्रेषित गर्यो । घटनापश्चात श्री५ को सरकार गृहमन्त्रालयले २०१७-०४-११मा ः दाङ गोश्वाराका बडाहाकिमबाट प्राप्त भएका रिपोर्ट अनुसार भन्दै निम्न विवरण सार्वजनिक गर्यो ।

‘दाङ देउखुरी गोश्वाराबाट करिब पौने दुई कोश टाढाको बेलुवा–वञ्जारी भन्ने दुई मौजाहरुमा एउटा हिंसात्मक तत्वले सङ्गठन खडा गरी त्यो मौजामा ध्वंसात्मक प्रयास भएको छ भन्ने कुराको रिपोर्ट पाएपछि गोश्वारामा बडाहाकिमले त्यस मौजाका जनतालाई गोश्वारामा बोलाई सम्झाइ–बुझाई शान्त गर्ने प्रयत्न गरे । तर केही प्रतफिल निस्केन, केही व्यक्तिहरुद्वारा उक्त मौजाहरुका मानिसहरुमा भाला, बर्छा, लाठी इत्यादि लिएर शान्ति खल्बल्याउन सङ्गठित हुँदै गए ।

शान्ति स्थिति र सुरक्षाको व्यवस्था मिलाउन गोश्वाराबाट पुलिसको मद्दत लिई सो मौजाहरुमा खटिई जाँजा श्रावण ६ गते दिउँसो १२ बजेको समयमा एक्कासि सो मौजाहरुका पाँच सय जति जनताले लठी, भाला आदि हतियार लिएर पुलिस जवानहरुमाथि हमला गरे । सो हमलाको पऋणाम स्वरुप डिएसपीको हातको बुढी औंला भालाले काटियो र अरु ११ जना पुलिस जवानहरुलाई भाला र लठ्ठीको चोट लागेको छ । त्यति भएपछि आत्मसुरक्षाको निमित्त पुलिसले गोली चलाएर पुलिसले गोली चलाउँदा बेलुवा बस्ने ३५ वर्षको डुमरा थारु मरे । रत्न थारु तथा कालु थारु र अरु दुई जनालाई पनि गोलीको चोट लागेको छ ।

पुलिसलाई मद्दत र सहयोग दिने पूर्णबहादुरलाई पनि भालाको सख्त चोट लागेको छ । गोली लागि मर्ने डुमरा थारुको काजकिरिया गराउन गोश्वाराबाट खर्च दिन निजको अन्तिम काजकिरिया भइरहेको छ । गोली लागि घाइते भएका र लठ्ठी, वर्छा र भालाद्वारा घाइते भएका पुलिस जवानहरुको औषधी उपचार हुँदैछ । उक्त दुई मौजाका जनताले भाला, वर्छा, लठ्ठी, हतियारसहित आत्मसमर्पण गरेका छन् । चारजना फरार भएका छन् र २४ जना गिरफ्तार भएका छन् । हाल स्थिति नियन्त्रित छ । कानून मिच्नेहरुउपर कानूनी कारबाही हुँदैछ र गोली चलेको घटनाको जाँचबुझको निमित्त एउटा न्यायिक जाँच आयोग पठाउने सरकारले निर्णय गरेको छ ।’

यस घटनालाई पनि विभिन्न राजनीतिक दलले आ–आफ्नै ढङ्गले व्याख्या गरी राजनीतिक लाभ लिने प्रयास गरेको पाइञ्छ । पुराना कम्युनिष्ट नेता बासुदेव गौतम यो घटना कुनै नियोजित घटना नभएको र आकस्मिक रुपमा स्वतःस्फूर्त भएको घटना माञ्छन् । तर स्थानीय प्रसासनले यो घटना कम्युनिष्ट पार्टीले गराएको भन्दै कम्युनिष्ट नेतालाई गिरफ्तार गर्यो ।

विपी किसान समस्या समाधानको लागि लडे तर जमिन्दारको सञ्जालसँग लड्न सकेनन । जमिन्दारहरुको सञ्जालले उनलाई जसको पक्षमा लडेका थिए उसैको हत्याको कलङ्क वोकाइ दिए । यति मात्र होइन उनै गुम्राहरुको न्यायका लागि जमिन्दारी प्रथा विरुद्ध ससदवाट कानून ल्याउदा नल्याउदै सत्ताच्युत गरियो । तर यहाँनेर तात्कालित प्रसासनले शान्ति सुरक्षाको नाममा आन्दोलनकारी किसान नेता र कम्युनिष्ट पार्टीका नेतालाई थुन्दा सरकारको गलती भने अवश्य ठहरीनेछ । यति मात्र भन्न सकिञ्छ विपी सायद गलत रीपोटिङलाई विश्वास गरे स्थानीय प्रसासनले आफ्नो साख वचाउन गलत रीर्पोटिङ गर्यो । जो आजकल पनि यदाकदा देखिञ्छ ।

एकजना सामान्य किसानले सहादत प्राप्त गरेको त्यो दाङको ऐतिहासिक किसान आन्दोलन किसान जागरणको एउटा नमुना थियो । जसले जसरी व्याख्या गरे पनि त्यो राजनीतिक घटना मात्र नभएर वर्षौन्देखिको शोषण, उत्पीडनप्रतिको विद्रोह थियो र त्यो विद्रोहको आगो सल्किनमा विपीले सुरुगरेको राजनीतिक चेतनाको महायात्राले वातावरण तयार गरेको थियो । आज साउन ६ गते नागरिक आन्दोलनका महायोद्धा वीपी र शहीद गुम्रा थारु दुवैलाई हार्दिक श्रदाञ्जली ।
तलको लिङ्कमा विपिले दाङको सन्दर्भमा संसदमा गरेको सम्वोधन हो । (लिखित दस्तावेजलाई मैले मेरो आवाजमा रेकर्ड गरेको छु)
तात्कालिन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालको २०१७ साल जेठ ११ गतेको महासभा वैठकमा सम्बोधन गरेको अंश ।
सुदीप गौतमको वालबाट

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित