प्रेम र सौन्दर्यको महिना साउन

यति बेला सबैतिर हरियाली छाएको छ । हरियालीले प्राकृतिक वातावरणलाई मन्त्र मुग्ध बनाएको छ । त्यस्तै हरिया चुरा, पहेँलो वस्त्र र गाढा मेहन्दीले कृत्रिम वातावरणलाई झनै हरियाली र मन्त्र मुग्ध बनाएको छ । यो हरियाली र खुसियालिले यस वर्षको साउन महिनालाई स्वागत गरिसकेको छ ।
साउन महिना प्राकृतिक रुपमा हरियो महिना हो । साउनमा वन जंगल, खेतबारी सबैतिर हरियाली हुन्छ । भख्खरै बैशाखको सुख्खा खडेरी सहेर असारको रोपाई पछिको धानको हरियालीलाई यहाँका खेतबारीले बर्षातको झरि सँगै यो साउन महिनाको सौन्दर्यलाई अझै हरियाली बनाएको छ ।
नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ त्यस्तै वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् । हजुरआमा देखि लिएर साना –साना नानीहरु युवा युवतीहरु यस महिनामा बढी सौभाग्य आदान प्रदान गर्ने गर्दछन् ।
हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने गर्दछ । धार्मिक, तथा साँस्कृतिक मान्यता अनुसार साउन महिनालाई महत्वपूर्ण मानिन्छ । हरिया चुरा, पहेलो वस्त्र, हातमा गाढा मेहन्दी त्यसमाथि हरिया पहिरनलाई महिलाहरुको विशेष चाडको रुपमा लिन सकिन्छ । असारमा खेत रोपाईमा व्यस्त हुने महिलाहरुले यस समयमा आपसमा खुसीयाली साटफेर गर्ने मौका पाउँदछन् ।
घर देखि शहर बजार सबैतिर साउन सुरु भएसंगै महिलाहरुको गला हरियो पोतेले सजिएका छन् भने हातहरु हरिया चुराले भरिएका छन् अनि पहिरन पनि हरिया छन् । शहरबजारमा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेको छ ।
परापुर्ब कालमा पार्वतीले साउन महिनाभरी निराहर रहि कठोर व्रत बसेर भगवान शीवलाई प्राप्त गरेकी सम्झानामा महिलाहरुले साउन महिनामा व्रत बस्ने गर्दछन् । यहि मान्यता अनुसार नेपाली महिलाहरुले पनि साउन महिनालाई विशेष चाडका रुपमा मनाउन थालेको हुन । साउन महिनामा विशेष गरी शिवको पूरा गरिन्छ । अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछन ।
वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागि अति महत्वको महिना हो । झरीमा रुझदै हिड्दा छुट्टै आनन्दको अनुभूति पैदा हुन्छ । प्रेमीपे्रमीको जोडीहरुमा नयाँ उमङग छाउँछ । यसबेला हाँसेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगन्तिी भावहरु रहेका छन् ।
विवाहितहरु आफ्नो पति प्रमेश्वर तथा सन्तानको सुस्वास्थय, दिर्घायुको र प्रगातिको कामना गर्दछन् भने अविवाहितहरु असल श्रीमान् पाउने उद्देश्यले व्रत बस्छन् । साउनको प्रचण्ड गर्मीमा भोकभोकै बसि आफ्नो कुनै प्रवाहनै नगरी व्रत बस्ने, शिवालयहरुमा पूजा गर्ने कामले आत्मिय शान्ति प्राप्त हुने कुरा र भौतिक रुपले हेर्दा पनि उचित नै देखिन्छ, अझ आध्यात्मिक दृष्टिकोणले विशेष महत्व हुनसक्ला ।
वास्तवमा हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ । त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । प्राकृतिक रुपमा साउन महिनालाई हरियालीको उपनाम दिइन्छ । धान रोप्नु, लुतो फाल्नु, शीवको ब्रत बस्नु साउन महिनाको विशेषताको रुपमा लिइन्छ । हरियो प्रेम र वातावरणको प्रतिक हो ।
त्यस्तै रातो सौभाग्यको प्रतीक हो भने पहेलो पवित्राको प्रतीक मानिन्छ । त्यसैले साउन महिनमा रातो, हरियो र पहेलो सम्मीश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति गाढा मेहन्दीको रंग बस्यो त्यति नै श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास नेपाली समाजमा रहेको छ । यसैलाई सावित गर्दै साउनलाई महिलाहरुको विशेष बनाउन थालेका हुन् ।
यो साउन महिनामा हरिया चुरा लगाउनु हातभरि मेहेन्दी लगाउनु र पहेलो वस्त्र लगाएर हिडेनुलाई हामी आफ्नो संस्कृतिप्रतिको सकारात्मक प्रभाव भन्ने ठान्छौ । तर पनि यति साउन महिना भरि मात्र नभई दिनहुँ रुपमा यस्ता पहिरनहरुले सजिदिदा आफ्नो संस्कृति लोप हुने स्थितिमा बच्ने थियो ।
सोमबारे ब्रतले महिलाहरुमा आपसी सद्भावको पाठ सिक्ने मौका पाएको छ, भने महिलाहरुबीचको दुरीलाई लामो बनाइदिएको छ । सोमबारको ब्रत भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ । त्यस्तै आधुनिकताको पर्याय पनि बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्परा प्रतिको एक हिस्सा हो । श्रीमान प्रतिको प्रगाढ माया र पारिवारीक सुख दिने हुनाले अन्य धर्मका जातजातीका महिलाहरु पनि यस चाडलाई सकारात्मक ढङगबाट मनाउन थालेका छन् ।
हरियो वस्त्र, हरियो चुरा, हरियो पोते हत्केलाभरी मेहन्दीले सजिएका किशोर किशोरी, युवती र प्रौढ हरुलाई देख्दा हिन्दु संकार, संस्कृति र विश्वास अझ गाढा बन्दै गएको हामी अनुमान गर्न सक्दछौँ । हरिया चुरा किन लगाउने र लगाउदा के हुन्छ भन्ने थाहा नभएपनि साउन महिना भरि हरिया चुरा र मेहेँन्दी लगाउनेहरु धेरै मात्रामा भेटिने गर्दछ । विवाह गरिसकेकाहरुले आफ्नो श्रीमानको आयू लामो हुन्छ भनेर र विवाह नगरेकाहरुले असल श्रीमान् प्राप्त गर्ने धार्मिक आस्था रहि आएको छ । यस्तै धार्मिक परम्परा र आस्थाका कारण यस महिना भरि नै महिलाहरुले ब्रत पनि बस्ने गर्दछ ।
साउन महिना लागेदेखि नै बजारमा धेरै मात्रामा हरियो चुराको माग बढिरहेको छ । पसलहरुमा भिडभाडको अवस्था छ भने मठ मन्दिरहरुमा पनि उत्तिकै मात्रामा महिलाहरुको भिडभाडको अवस्था छ । यस समयमा महिलाहरु पानी पनि नखाइकन निराहर व्रत बस्ने गर्दछ । विदेशी संस्कृतिको बलियो जग बसेको यो नेपाली समाजमा यस्ता जगहरुलाई उखेल्नै सकिरहेको छैन ।
साउन महिनाभरि हरिया चुरा र मेहन्दि लगाउनु पनि संस्कृति कै रुपमा देखा परेको छ । मानिसहरु यो किन लगाउन्छन् र यो लगाएमा के हुन्छ भन्ने थाहा नै नभई यस्ता कुराहरु लगाउने गर्दछ । जे होस् यस्ता संस्कृति एवं परम्परालाई जो कोहीले पनि जोगाई राख्नुपर्छ । नेपाली हुनुको गर्र्व त छदै छ त्यसमा पनि बदलिदो संस्कृति, समय र परम्परालाई हामी सबैले सधै भरी सम्मान गर्नुपर्छ । अनि मात्र नेपाली हुनुको तात्पर्य पूरा हुन्छ ।
वास्तवमा साउनमा शिवजिको पूजा गर्नुको अर्थ र महत्वको विषयमा विशेष रुपमा कतै त्यस्तो ब्याख्या गरिएको छैन । धर्मले जहिले पनि मानिसलाई पबित्र बन्नका लागि प्रेरणा दिइरहेको हुन्छ । प्राकृतिक रुपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणिय दृश्य देख्न पाइन्छ ।
हामीले यस्ता संस्कृतिहरुलाई अंगाल्दै जादाँ भोलिका दिनमा हाम्रोे संस्कृतिको नाममा कुन चाँहि विकृतिले समाजमा स्थान पाउने हो भन्ने कुरा सोचनीय छ । समाजमा देखिने यस्ता किसिमका लहरहरुसँगै भित्रिएका विकारहरु र भोलिका दिनमा अझै भित्रिन सक्ने गलत प्रचलनहरुका बारेमा भने समयमै सबैले सचेत हुनु जरुरी छ ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित