एक पूर्वकमलरीको न्यायाधीश बन्ने धोको

जतिबेला विष्णु चौधरी ७ वर्षकी थिइन्। त्यही बेला जिल्लाको एक जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन्। कारण, घरको कमजोर आर्थिक अवस्था। त्यतिबेला थारु समुदायका बिपन्न परिवारले आफ्नो स-साना बालिकालाई मालिकको घरमा कमलरी पठाउने परम्परा नै थियो।

यदि मालिकको घरमा छोरीलाई कामदार पठाइएन भने उनीहरू खेत खनजोत गर्न पाउँदैनथे। त्यसैले अधिकांश थारु समुदायका विपन्न परिवारका अभिभावकले आफ्नो छोरीलाई कमलरी पठाउनुपर्ने बाध्यता थियो।

त्यही बाध्यतामा परिन् विष्णु चौधरी। भर्खर खेल्ने, रमाउने उमरेमा आफ्नो बुवाआमाको न्यानो काख छाडेर उनलाई जमिन्दारको जुठो भाडा माँझ्नका लागि कमलरी बस्नुपर्यो। तर, त्यही बेला दाङमा कमलरी उन्मुलनका लागि सहरदेखि गाउँसम्म कमलरी उद्दार अभियान तीव्र रूपमा चलिरहेको थियो।

कमलरी उन्मुलन क्षेत्रमा काम गर्ने संस्था एफएनसी, स्वानलगायत कमलरी अभियन्ताले थारु समुदायको महान पर्व माघी आउनुअगाडि गाउँ छिर्थे र विभिन्न योजना बनाउँथे। जो-जो कमलरी बसेका छन्, उनीहरूको डाटा लिन्थे। सोहीअनुसार मालिकको घर पत्ता लगाएर घरघरमा छापा मार्थे र उनीहरूको पुनस्र्थापन गर्थे।

सोही अभियानमा परिन् विष्णु चौधरी। २०६२ को माघी आउनुअघि उनको उद्दारका लागि जमिन्दारको घर घोराही उपमहानगरपालिका-३ भैस्कुर्मामा प्रहरीसहित कमलरी अभियन्ताहरू छापा मार्न पुगे। विष्णु कामकै सिलसिलामा घरबाहिर थिइन्। जमिन्दारले विष्णु यहाँ छैन भनेर ढाँटे। छापामार टोलीले पनि विष्णुलाई भेटाएनन्, तर विष्णुलाई मालिकले लुकाएर अन्यत्र राखेका रहेछन्। त्यहाँ नभेटाएपछि टोली फर्कियो। यद्यपि विष्णुको उद्दारमा टोली लागिरह्यो।

माघी आएपछि अधिकांश मालिकहरूले आ-आफ्ना कमलरीलाई घर पठाउँथे। कोही भने माघी मनाउन घर जान नपाएर मालिककै घरमा रोई बस्थे।
तर, त्यस वर्षको माघीमा भने विष्णु भाग्यमानी थिइन्। उनी माघी मनाउन घर जान पाइन्। करिब तीन वर्षपछि उनले आफ्नो घरमा माघी मनाउने अवसर पाइन्। यो खबर पाएपछि कमलरी अभियन्ताहरू विष्णुको घर लमही नगरपालिका-८, सतवरिया पुगे। उनी र उनका अभिभावकलाई सम्झाइबुझाइ गरेर विष्णुलाई घरमै राख्न अनुरोध गरे।

पढाइलेखाइदेखि अन्य सहयोग गर्ने वचन दिएपछि विष्णुका अभिभावकले उनलाईकमलरी बस्न पठाएनन् । केही दिनपछि विष्णुले स्वान, एफएनसीको सहयोगमा दुई महिना ब्रिज कक्षा लिइन्। लगत्तै उनि सतबरियास्थित राप्ती मावि उचानिम्बुमा कक्षा ५ मा भर्ना भइन्।
विष्णुले सुनाइन्, ‘मैले जिन्दगीमा पढ्न पाउँछु भनेर सोचेको पनि थिइनँ। घरमा आएर स्वान, एफएनसीले मलाई पढ्ने अवसर मिलाइदिएपछि धेरै खुुसी भएँ।’ त्यसपछि विष्णु मिहिनेतसाथ पढाइमा ध्यान दिन थालिन्। मिहिनेतको परिश्रम मीठो हुन्छ भने जस्तै विष्णु कक्षा ५ मा पहिलो भइन्। यसरी उनी ९ कक्षासम्म कहिले स्कुल पहिलो त कहिले दोस्रो भइरहिन्।

एसएलसीमा पनि विष्णु पहिलो डिभिजनमा पास भइन्। यसरी राम्रो अंक लिएर पास हुन थालेपछि उन पढाइको लागि कमलरी क्षेत्रमा काम गर्ने स्वान, एफएनसी, मुक्त कमलरी विकास मञ्चलगायत संघसस्था सहयोग गरिरहे । एसएलसीमा पहिलो डिभिजन पास भएपछि विष्णु सनलाइट मोर्डन हायर सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्ना भइन्। शिक्षा संकाय तर्फ मेजर अंग्रेजी विषय लिएर पढ्दै प्लस टुमा समेत सबै संकायका विद्यार्थीलाई टपिन्।

थप अध्ययनका लागि उनि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा भर्ना भइन्। त्यहाँ पनि राम्रो नतिजा ल्याइन्। बीएमा मेजर विषय अंग्रेजी लिएर पढेकी विष्णु चौधरीले मास्टर डिग्रीमा राजनीतिशास्त्र विषय रोजिन्। राजनीतिशास्त्रमा पनि उनले राम्रो अंकले पास गरिन्। त्यसपछि उनले एलएलबी पनि सकाइन्।

‘प्लस टु पढ्ने बेलादेखि नै वकिल बन्ने ठूलो सोच थियो,’ उनले भनिन्, ‘अहिले एलएलबी सकाएर वकिलका लागि लाइसेन्स लिने तयारीमा छु।’
भविष्यमा राम्रो न्यायाधीश बन्ने सपना रहेको विष्णुले सुनाइन्,। ‘प्लस टुमा पढ्ने बेला वकिल बन्ने सपना थियो, अब एलएलबी गरिसकेको छु,’ उनले भनिन्, ‘समयले साथ दियो भने न्यायाधीश बनेर पछाडि पारिएका समुदाय, वर्गको पक्षमा वकालत गर्ने लक्ष्य छ।’

मुक्त कमलरी विकास मञ्चको केन्द्रीय सदस्य रहेकी विष्णु कमलरीको अधिकारका लागि सक्रिय भएर वकालत गर्दै आएकी छन्। उनले सन् २०१० मा बेलायत, २०१२ सालमा स्पेन गएर अन्तर्राष्ट्रिय बालिका दिवस कार्यक्रममा सम्बोधन समेत गरेकी थिइन्। हालै उनी एक महिनाभन्दा बढी बेलायत बसिन्। विष्णु बेलायत, जर्मनी, स्पेनलगायत धेरै देशमा भ्रमण समेत गरिसकेकी छन्।

अायाे मेलबाट

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित