थारुको मूलघर कहाँ ?

सुर्यनारायण चौधरी

भनिन्छ, ‘तितो सत्‍य हुन्छ।’ मानिसहरु प्राय: तितो सत्य (इतिहास)लाई ओकल्‍ने प्रयास गर्दैनन् र रहस्‍यकै गर्भमा लुकाइरहेका हुन्छन्। तर एक न एक दिन त्यो तितो सत्‍य प्रमाणका साथ झल्झलाकार भएर साक्षात्कार हुन्छ। तर उक्त तथ्‍यलाई बार-बार इतिहासका पानाबाट नामेट पार्ने प्रयास भएको देखिन्छ। सबैलाई सर्वविदितै छ कि शताब्दीयौँदेखि नेपालको दक्षिणी समतल भू-भागमा बसोबास गर्ने पहिलो मूलबासी अर्थात आदिवासी हुन थारु जाति।

यी आदिवासीहरुको गौरब गाथा पूर्णरुपबाट बेग्लै प्रकारको रहेको छ। यसलाई नेपाल सरकारले थारु जातिलाई आदिवासी अन्तर्गत सूचिकृत गरिसकेको सर्वविदितै छ। तर पनि थारु जातिको उत्पतिबारे बेला-बेलामा नेपालका नेता, सांसद तथा विभिन्‍न विद्वान एवम समाजशास्त्री र मानावसास्त्रीहरुले गलत, आधारहीन एवं कपोकल्पित सिद्धान्तहरु प्रतिपादन गर्ने गरेका छन्। केही महिनाअघि मात्रै संसदमा एकजना महिला सांसद/पूर्वमन्त्रीले थारुहरु भारतबाट आएका हुन भनेर भनिरँदा आदिवासी थारु समुदायको गौरवमय इतिहासबारे नै भ्रम सृजना भयो। उनले भनिरहेकी थिइन्, ‘थारुहरुको आफ्नै भूमि छैन।उनीहरु भारतबाट भागेर आएका हुन। मैले तथ्याङमा यही भेटे।’

हुन त अहिले लोकसेवामा सोधिने प्रश्नोत्तरमा पनि थारुहरु भारतको थार भूमिबाट आएका हुन भनेर पटक-पटक ती लेखकहरुले आधारहीन तरिकाबाट वर्णन जो गरिएका छन्। सायद उहाँ सोही लेखक तथा विद्वानहरुले थारुको उत्पतिको सम्बन्धमा गलत आधारहीन सिद्धान्तको कोपभाजनमा पर्नुभयो होला। यतिमात्र होइन उनीहरुले थारुहरु भारतको थार भूमिबाट तेह्रौ शताब्दी र सोह्रो शताब्दीको बीचतिर नेपाल तराइमा स्थानान्तरण भएका हुन भनेर किटानीका साथ निष्कर्ष नै निकालिदिएका छन्।अझ के लेखिदिएका छन् भने राजपुतनीहरु मुसलमानको आक्रमणको क्रममा आफ्ना नोकरचाकरका साथ चिथौरागढ,राजस्थानबाट भागेर नेपाल तराइको भू-भागमा बस्ती बसालेका हुन र सोही संसर्गबाट जन्मेका सन्तान थारु भए। यो जस्तो मुर्खतापूर्ण र बेतुकको प्रस्ताव सिवाय अरु केही हुन सक्दैन।राजपूत एवं तीनका सन्तानहरुले थारुहरुसँग विहावारी गरे होलान् किनभने त्यतिबेला तराइको शासक एवं भूमिपति थारुहरुबाहेक अरु कोही पनि थिएन। तर प्रश्‍न के उठ्छ भने किन राजपूतहरु भारतको अन्‍य बसोबासलायक स्थानहरुमा स्थानान्तरण नभइ त्‍यति परबाट औलोयुक्त तराइको जंगलमा आए ?

वास्तमा थारुहरु प्राचीन क्षेत्री हुन।उनीहरुको आफ्नै गौरवाली इतिहास छ।तर हिन्दु वर्ण व्‍यवस्थामा आधारित क्षेत्री भने होइनन्। बुद्धको समयका यी क्षेत्रीहरुको सामाजिक स्तर ब्राहमणभन्दा माथि थियो। (रेग्मी: १९७३:२)ले आफ्नो लेख ‘कोशीका थारु समुदाय र तिनको परिवर्तनशील संस्कृति’मा इतिहासविद् बाबुराम आचार्यको भनाईलाई उधृत गर्दै भनेका छन्, ‘थारुहरु राजपुतनाबाट आएका हुन भनेर भन्न सकिँदैन। उनीहरु क्षेत्री हुन। किनकी प्राचीन समयमा भूमिपति लडाकू र शासकहरुलाई खतिया भनिन्थ्यो। कारण उनीहरुसँग धन सम्पत्ति र शक्ति प्रशस्तै थियो।पाली शब्द ‘खेत’बाट खतिया भएको हो र संस्कृतमा खेतलाई ‘क्षेत्र’ भनिन्छ।

बुद्धको समयदेखि नै थारुहरु तराईका भूमिपति र शासक थिए, त्यसकारण उनीहरु आफूलाई प्राचीन क्षेत्री मान्छन् यो कुनै आश्चर्यको कुरा होइन। ‘विष्ट २००१:१५२) सन् २००१को राष्ट्रिय जनगणनादेखि मात्र विभिन्‍न जातिको जनसंख्या उल्लेख गरेसँगै थारुको जनसंख्या त्यतिबेला १५ लाख ३२ हजार ८ सय ७९ रहेको छ जून नेपालको कुल जनसंख्याको ६.७ प्रतिशत हुन आउँछ।राणा र पञ्‍चायतकालमा जाति/जातियता जस्ता सामाजिक तत्वहरुलाई वेवास्ता गरिन्थ्यो। कारण नेपाललाई भाषा, धर्म र जातीय संरचनाका आधारमा बहुजातीय होइन की सहजातीय राष्ट्रको रुपमा चित्रण गर्नु थियो। राणा र र पञ्‍चायकालका सरकारहरुले एक भाषा र एक धर्मको नीति अंगीकार गरेको थियो। यही मुख्‍य कारणले गर्दा जातीय जनसंख्या अंकको रुपमा अस्तित्वमा आउन पाएन। यही अनविज्ञतालाई विकृत रुपमाबाट व्याख्या र वर्णन गरियो त्यतिबेला। अझ केन्द्रीयय तथ्याङक विभागले जाजानीबुझी नै सन् १९६१, १९७१ र १९८१को जनगणनामा जाति र जातीयताको प्रश्‍न सोधिने कोलम (महल) हटाएको थियो।

थारु शब्द सताभिरबाट भएको हो। सताभिरको अर्थ थेऱाभदा अर्थात थेरावाद हो जून बुद्धधर्मको अनुयायी भनेर बुझिन्छ। थारु जाति गौतम बुद्धको सन्तति हो भनेर फ्रान्सका विद्वान फुहररले दाबी गरेका छन्। (Antiquities of Buddha Sakyamuni’s Birthplace in the Nepalese Tarai, Fuhrer, १८९७। शाक्य र कोलिएहरु थारुहरुका पूर्वज हुन् र गौतम बुद्ध थारु कुलमा जन्म लियका थिए। भू.पु.माहान्याधिकक्ता रामानन्द सिंहले थारुहरु शाक्य वंशका अवशेष हुन् भनेर पटनामा सन् १९८८मा खोजमूलक प्रतिवेदन पेश गरेका छन्। (The Real story of Tharus, १९८८) इतिहासकार पर्जिटरले बुद्धका कुनै अवशेष बाँकि छन् भने तिनीहरु थारु जातिका मानिसहरु हुन् भनी उलेख गरेका छन्। (Historical Tradition of India) थारुहरु शाक्यवंशी क्षेत्री हो र सिद्धार्थ गौतम बुद्ध थारुका सन्तान हुन् (तेजनारायण पञ्जियार, थारु जातिको इतिहास र उत्पति खोज २०५५) सिदार्थ गौतम बुद्धको जन्म थारु जातिको परिवारमा भएको थियो (सुबोध कुमार सिंह, The Great sons of Tharu: Shakyamuni budhha and the Ashoka the Great )

यस्तै जे सी नेस्फिल्ड लेख्छन्, ‘थार भन्‍नाले जंगलको मान्छे भनेर भुझिन्छ। थारुहरु आफै भन्छन्, उनीहरु जंगलकै मान्छे हुन्, ‘मुलर वाकर १९९३ तल्कालिन अवस्थामा तराइमा घना जंगल थियो। यस्तै थारुहरु मंगोलियन हुन् भनेर कुर्ट डव्लू मेयरले दाबीका साथ आफ्नो पुस्तक ‘ओरिजिन ट्राइब्स अफ हिमालयन कन्ट्रीज’मा भनेका छन् भने त्यतिबेला चितवन राष्टिय निकुञ्‍ज निर्माण गर्दा धेरै थारुहरुले आफ्नो जग्गा जमिन छोड्नु पर्‍यो राजाको हुकुमका कारण रोय जेस्लर (१९९०)।

मलेरिया: थारुहरुको रक्षक, मलेरिया उन्मूलनपछि कमैया
थारुहरु प्राचीनकालदेखि नै तराइमा बस्‍दै आएका प्राचीन समयका शाक्‍य र कोलीयाहरुको वंशज हुन भनेर मानिन्छ। सम्पूर्ण तराइमा थारुहरुको वर्चस्व कायम थियो र आश्चर्यजनक रुपबाट इतिहासको उतारचढावलाई पार गर्दै आजसम‍्म आफ्नो गौरवमय इतिहास र विगतलाई जोगाइरहेका छन् उनको पुस्ताले। किनकी उनीहरुले आफ्नो अस्तित्व जोगाउनुको रहस्‍य उनीहरुको बौद्धमार्गीय प्रकारको रहनसहन एवं उष्ण प्रदेशीय जंगलको डरलाग्दो मलेरिया हो। केही विद्वानहरुले ठीकै भनेका छन् की थारुहरु तराइका आदिवासी मात्र नभइ सभ्यताका अग्रदूत हुन। तर उनीहरुको इतिहास नामेट पारियो समयक्रमसँगै।

अनुसन्धानले के प्रमाणित गरेको छ भने थारुहरुको रगतमा पाइने अ-थालसिमिया जीनले गर्दा उनीहरुमा मलेरियासँग लड्न सक्‍ने अनुवांशिक प्रतिरोधात्मक क्षमताको विकास भएको हो र यसले गर्दा मृत्‍य दर दश गुणाले घट्छ। (अमेरिकन जर्नल अफ ह्‍युमन जेनेटिक्स, १९९१, ४८: ३९०-७)

सर रोबर्ट गरसोनीले आफ्नो पुस्तक ‘सोइङ द विण्ड’मा लेखेका छन्, ‘ सन् १९५०तिर मलेरिया नेपालमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य सम्बन्धी समस्या थियो।सन् १९५२ मा U SAID प्रोग्रामको पूर्ववर्ती यूएस अप्रेशन मिसनले नेपाल सरकारको मद्दतमा तराइमा मलेरिया उन्मूलन गर्ने कार्य गर्‍यो विश्व स्वास्थ्य संघको नेतृत्वमा। पहिलो पटक चितवनमा डटीटी छरियो थारु आवादी क्षेत्रमा।’

उनले आफ्नो उक्त पुस्तकमा लेखेका छन्, ‘चितवन पहिला थारुहरुको असली गाउँ हो। त्यहाँ आदिवासी थारु समतल ठाँउ साथै जंगल छेउछाउमा बस्थे, फलफूल टिपेर खान्थे। घना जंगल भएकाले औलोको प्रकोप थियो। औलो र मलेरिया थारुहरुको वास्तविक साथी हो।तत्कालीन सरकारले डीटीटी छरेपछि थारुको सामाजिक जीवन उथलपुथल भयो। कोही थारु मलेरिया पचाउदै बसे। कोही सुरक्षित ठाउँ खोज्दै अन्य ठाउँ जिल्लातिर गए।आफ्नो उर्वरा जमिन छोडेर गएपछि उनीहरुको आर्थिक अवस्था खस्कदै गयो। दिनानुदिन उनीहरु गरिबमा परिणत भए। सन् १९६०को मध्‍यतिर पहाडका मानिसहरु तराइमा तीव्र रुपमा स्थानान्तरण हुन थाले। सन् १९६३ देखि १९७८सम्‍म २० लाख मानिस तराइमा स्थानान्तरण भइसकेका थिए। सन् १९७१सम्‍म तराइको ४१ प्रतिशत भूमि खेतीपातीको लागि प्रयोगमा आइसकेको थियो भने ९ प्रतिशतमा पहाडमा र २ प्रतिशत हिमाली क्षेत्रमा खेतीपातिका लागि प्रयोग भएको देखिन्छ।’

यता, पूर्व महान्‍याधिवक्ता रमानन्दप्रसाद सिहं थारुले (१९९४/९५)ले उल्लेख गरेका छन् की आदिवासी थारुहरु जो आफूलाई बुद्ध भगवानका सन्तान भनी दावा गर्छन्, मलेरिया योजनाले अति नै कष्टदायक ढंगले प्रभावित भए। तराईका जुन जिल्लामा १०० प्रतिशत थारुहरु थिए, त्‍यहा घटेर २५ प्रतिशतमा झरे।नयाँ आप्रवासीहरु अब मलेरियाको उन्मूलनपछि पहाडबाट पहाडी र भारतबाट मधेशीहरु आएर बसोबास गर्न थाले कमिलाको ताँती झै। सोझो थारुहरुलाई उनीहरुको छलछाम र जालझेलमा पारिन थाल्‍यो जिमनको जगमा टेकेर। फलस्वररुप थारुहरु आफ्नै जमिनमा आफै भूमिहीन हुन पुगे र कमैयाको स्थितिबाट गुज्रिन पुगे। जमिन भएका थारुहरु त्यतिबेला सरकारी अभिलेखमा दर्ता नगराउनु गल्ति थियो।

यस्तै महेशचन्द्र रेग्मी (१९८८:२१)ले (गरडलस्टोन, जो काठमाडौंस्थित बेलायती रेजिडेन्ट थिए)लाई उल्लेख गरेका छन् की उनले आफ्नो सरकारलाई १८७६को रिपोर्ट प्रस्तुत गर्दा लेखेका थिए, ‘तराइको निर्दयी पर्यावरण र गोर्खालीहरुमाझ मलेरियाले त्रास अति भयानक थियो की जंग बहादुरले व्‍यक्त गरेका थिए की गोर्खालीहरु जो अधिकांश सरकारी कर्मचारी थिए, उनीहरु मलेरियासामू आत्मसमर्पण गर्नुभन्दा आफ्नो टाउको काट्न तयार हुन्थे। गोरखाली मात्र होइन की नेपालका सबै पहाडीहरु तराइको चरम गर्मी र मलेरिया झेल्न सकिरहेका छैनन्।’

डक्सन फोर्बसले चितवनको घना जंगको बयान गर्दै आफ्नो पुस्तक ‘ द हार्ट अफ नेपाल’मा वर्णन गर्ने क्रममा भनेका छन्, ‘की त्यो जंगलमा घुम्‍ने बाघ गैंडा र हात्तीभन्दा पनि खतरनाक लामखुट्टे हुन्छ जसले डरलाग्दो मलेरिया बोकेको हुन्छ र बाहिरियाहरु जो बर्षात वा शरद ऋतुमा दूर पार गर्न कोशिस गरिरहेका हुन्छ, उसको लागि सम्भावित मृत्‍यु हो। तर नि:सन्देह वास्तविकता के हो भने लामखुट्टेले त्यो प्रदेश केवल एक जातिको लागि मात्र आरक्षित क्षेत्र थियो र त्यो हो थारु जसले यो रोगबाट उन्मुक्ति पाउने क्षमताको विकास गरेको छ।’

ब्रटिश इन्डिया सरकारले सन् १९०८मा प्रकाशन गरेको अफगान नेपाल सम्बन्धि गजेटियर अनुसार तराइ क्षेत्रमा अक्सर घना वर्षा हुन्छ। मे र डिसेम्बरको बीचमा वातावरण अति नै अस्वस्थकर हुन्छ। यस समस्त समतल मैदानमा उक गम्भीर प्रकारको मलेरिया व्‍याप्त छ जसलाई जसलाई त्यहाँका मूल निवासीले ‘औल’ भन्छन् र थारु बाहेक अरुको लागि अति नै खतरनाक हुन्छ। उनीहरु तराइका आदिवासी हुन र उनीहरु रोगबाट उन्मुक्ति पाउने क्षमता राख्दछ। यद्यपि अन्‍य ठाउँमा स्थानान्तरण गरेको खण्डमा मलेरियाबाट ग्रसित हुने सम्भावना हुन्छ (पृष्ठ ९६)। तराइ एवं चुरे श्रृंखला क्षेत्रमा बसोबास गर्ने मानिसहरुमध्‍यै सबैभन्दा रोचक थारुहरु हुन्छन्। पृष्ठ११८मा उल्लेख गरिएको छ की व्रिटीश इन्डियाको निकटवर्ती जंगलमा बसोबास गर्ने थारुहरु पश्‍चिमी सभ्याताबाट प्रभावित छन्। उनीहरुको विशिष्टतामा ह्रास आएको छ। त्यही पनि नेपालमा घुमिरहेको आत्मा जीवितै छ र अतरण खेतीको परिपाटी जारी नै छ। थारुहरुसँगको आत्मीय वार्तालापले फरेष्ट अफिसर लाई जंगलका आदि मानिस जस्तै उत्तर पूर्वी बर्माको प्राचीन जाति काचीन जातिको स्मरण गराउनेछ। उनीहरुको खानामा पनि समानता छ। माछा, भात, भूत प्रेतलाई कुखुरा वा अन्‍य जनावर बली चढाउने गर्दछन्। उनीहरुबीचको अर्को समानता चेहरा मुहरा पनि हो जुन स्पष्ट रुपमा मंगोल मुखाकृतिको छ र हात र अझ शरीरमा पनि पहिरन झै सुन्दरताका लागि खोप्‍ने प्राकृति खोदहा (tattooing) अर्थात ‘खोदहा/गोदना’ प्रथा दुवै जातिमा प्रचलित छ। थारुहरु शिकास खेल्‍नमा अभ्यस्त हुन्छन् अनि कृषकको रुषमा बहुतै सामर्थ्य राख्दछ, खास गरेर सिँचाइमा (पृष्ठ११९)

यस्तै (मेयर: २००:१९)ले उल्लेख गर्छन् की नेपालको मानिसहरुमध्‍ये थारुहरु त्यस्ता जातिमध्‍येका हुन जसले शताब्दियौ पश्चाता मलेरियासँग जुध्न पर्याप्त प्रतिरोधात्मक क्षमता प्राप्त गर्‍यो जसले गर्दा तराइको विशेष रुपले संक्रमक खालको रोगबाट बच्‍न सक्षम बनायो। बीसौ ताब्दीको मध्‍यतिर मलेरिया उन्मूलन परियोजना नआउँदासम्‍म पहाडका मानिसहरु तराइबाट टाढै बस्थे किनकी उनीहरु दलदलमा आउनै डराउँथे। त्यो भन्दा नि भयानक तराइको दलदल र पानीमा जमेका स्थलहरुमा लामखुट्टेले ग्रसित थियो। निश्‍चय नै यदि पहाडेहरुलाई बर्षभरी नै तराइमा बस्न बाध्‍य पारेको भए उनीहरुको लागि त्यतिबेलाको समय निश्चितरुपबाट मृत्‍युदण्ड सावित हुने थियो। पहाडेहरु तराइबाट परै बस्न चाहन्थे जबकी त्‍यसको ठीक विपरीत साहासी तगडा थारुहरु घना जंगललाई फडानी गरेर आवादी बनाए। कृषियोग्‍य जमिन बनाए र त्यहाँको जमिनको मालिक बने।तर उनीहरुको गौरवमय सभ्यतालाई नेपालको इतिहासबाट हटाइयो तत्कालीन सरकारहरुले समयको दूष्कच्रकमा पारेर।’

यस्तै कनकमणि दिक्षितले ‘नेपालका राजा र तराइको थारु’ भन्‍ने पुस्तक पढेपछि (जसमा नेपालका राजाहरुले तराइका थारु प्रमुखहरुलाई अर्थात साना राजाहरुलाई प्रान गरेको पचासवटा लालमोहरहरु संग्रहित रहेका छन्) टिप्पणी गर्दै भनेका छन्, ‘ यी अमूल्‍य दस्तावे, अनुलिपी अर्थात लालमोहरहरुले तराइको इतिहासलाई मानवीकरण गरेको छ। यसले नेपालका पहाडका राजाहरु र तराइमा रहेका प्रजाहरु अर्थात थारुहरुबीच रहेको रहस्यमय सम्बन्धको बारे प्रकाश पारेको छ। ती लालमोहरहरुले तथ्‍यपूर्ण इतिहासलाई उजागर गर्दछ र संलग्न टिप्णीहरुले आधुनिक युगमा येथेष्ट मात्रामा सह्राना नगरिएका मानिसहरु र क्षेत्रहरुलाई बुझ्‍न दृष्टिकोण बनाउन सहयोग पुर्‍याउनेछ। शाही छाप लागेका मौलिक दस्तावेजहरु संकलित यस पुस्तकले के पुष्टि गर्दछ भने थारुहरुले ऐतिहासिक कालदेखि नै तराइलाई आवाद गुल्जार गर्दै आएका थिए। उनीहरु शिकारी र संग्रहकर्ताको रुपमा होइन की सुविज्ञ जंगलको संरक्षक र कृषिका लागि कुशल कृषक कामयाबी हासिल गरे जहाँ अन्‍य जाति असफल भए।’

महेशचन्द्र रेग्मी (१९८२:१७७) का अनुसार थारुहरुको आर्जित भूमि तराइ राणा र शाह शासकहरुको नजरमा एउटा उपनिवेश थियो र त्यसकारण उनीहरुले ठुल्ठूला चकला जग्गा जमिन र कहिलेकाही विशाल क्षेत्र नै आफ्नो लागि र आफ्नो परिवार र भाइभारदारलाई निरन्तर रुपबाट वीरता प्रदान गर्दै गए। उदारहणको लागि प्रथम प्रधानमन्त्री भीमसेन थापा (सन् १८०७-१८३७)ले बारा र पर्सामा थुप्रै मौजाहरु आफ्नो नाममा राखे। यस्तै जंगबहादुर राणा, प्रथम राणा प्रधानमन्त्री र उनका परिवारले सुदूरपश्चिम तराइका (बाँके, बर्दिया, कैलाली र कन्चनपुर)धेरै जग्गामा कब्जा जमाए। सन् सन् १८६२ र १८७४मा वीरताको रुपमा आफ्नो नाममा थुप्रै जग्गाहरु हात पारे जून थारुहरुद्वारा आर्जित आवादी क्षेत्रको जमिन थियो।(श्रेष्ठ, १९९०:१७५ पृष्ठ)

शासकवर्ग राणा र शाह दुवैमा के विश्‍वास थियो भने तराइको दीर्घकालीन विकास उनीहरुको हितमा थिएन।उनीहरुलाई डर थियो की त्‍यस्ता विकासले बृटिश उपनिवेशवादको पहिरोलाई आकर्षण गर्ने मात्र होइन की दक्षिणबाट क्रान्तिकारी विचारको जलधार र जलद्वार खोलिनेछ र उनीहरुको शासनलाई कमजोर एवं खोक्रो बनाइदिनेछ। (रेग्मी, 1988:२६ पृष्ठ)। उनले यो पनि उल्लेख गरेका छन् की राजनीतिक कुलीन वर्गको स्वार्थ उत्पादक र व्‍यापारीहरुको भन्दा अधिक भएकाले राजनीतिक एकीकरणको साथसाथै आर्थिक तवरले राष्ट्रिय एकीकरण हुन सक्‍दैन।

नेपाल तराइमा भारतीयहरुको अन्तर्वाह
वास्तावमा भन्‍नेहो भने नेपालको तराइमा भारतको प्रभाव र प्रभूत्व रहँदै आएको थियो र छ अहिले पनि । कारण उनीहरुलाई अन्गिन्ती रुपमा नागरिकता दिलाउनु नै मुख्‍य कारण हो। खासमा सन् १९५०तिर चरम रुपमा भारतीयहरु नेपालको तराइ क्षेत्रमा आउन थालिसकेका थिए। नेपालको नागरिकता ऐन १९५३ले भारतीयहरुलाई नेपाल आउन खुल्ला गरेकाले नेपाली नागरिकता प्राप्त गर्न कुनै बाधा अड्चन थिएन। (दहाल,१९७८: ६७पृष्ठ)ले उल्लेख गर्छन की नागरिकता ऐन १९५३ (वि.सं. २००९) धेरै नै फितलो थियो किनभने नेपालमा पाँच वर्षसम्म मात्रै बसोबास गरेको खण्डमा नेपालको नागरिकता प्राप्त गर्न सकिन्थ्यो। यही प्रावधानलाई अंगीकार गर्दै सयौ भारतीयहरुले नागरिकता प्राप्त गर्न थाले र नेपालको व्‍यापार व्‍यावसायीमा एकाधिकार जमाउन थाले। यस्तै सन् १९६३, १९६४ र १९६८को नागरिकता ऐनहरुले नेपालको नागकरिकता प्राप्त गर्न अझ सहज बनाइदियो।

दाहाल भन्छन्, ‘ सन् १९५९को आम चुनावको बेलामा नेपालमा रहेका धेरै भारतीयहरुलाई मतदाता बनाउनका लागि नेताहरुले मनलाग्दी रुपमा मतदाता लिष्टमा समावेश गरेर चुनाव जिते। तसर्थ त्‍यसबेलाको अन्तरिम सरकार नेपालमा रहेका भारतीयहरु प्रतिको उदार सोच नै देशभित्र भारतीयहरुको जनसंख्या बढाउनुमा सहायकसिद्ध भयो। उनीहरु बिना रोकटोक भारतबाट नेपालको तराइमा आउने र बसोबास गर्न थाले। थारुहरुको मौलिक थारु भाषा र संस्कार सिक्दै उनीहरुमाथि नै हावी हुन थाले। उनीहरुले सुरुमा थारुहरुसँग मित लगाउने, दैनिक जीवनमा चाहिने व्‍यापार (तेल, नुन, लुगाफाटो) बेच्न आउन थाले। थारुहरु उनीहरुलाई नोन बनिया, तेल बिनया भन्‍थे आफ्नो मौलिक थारु भाषामा त्यतिबेला। किनकी उनीहरु थारुहरुको बसोबास क्षेत्रमा आएर महिनौ बसेर भारत फर्किन्थे वा उनीहरुसँगै मीत लगाएर जग्गा प्राप्त गर्थे र घर बनाएर गृहस्थी चलाउन सुरु गर्थे। यसले उनीहरुको व्‍यापारमा पनि फाइदा पुग्दै गयो। समयसँगै उनीहरुको व्‍यापारले थारुको जग्जा र जगमाथि हावी हुन थाल्यो भारतीयहरु।’

दहाल अगाडि थप्छन् की सन् १९६४को भूमिसुधार ऐनले धेरै भारतीय किसानहरुलाई स्थायित्व प्रदान गर्यो जो एक भूमिपतिबाटअर्को भूमिपति कहाँ जग्‍गाको दौडधूप गरिरहेको थियो। उक्त भूमिसुधार ऐनले एक-दुई वर्ष मात्रै खेती गरेका अस्थायी भारतीय कृषकहरुलाई पनि स्थापित गरायो।अझ कानुन अनुसार कुनै पनि किसानलाई एक बाली मात्र लगाएको छ भने पनि त्यो सम्बन्धित जग्गाबाट विस्थापित गराउन नपाउने कानूनी प्रावधान थियो। यसले थारु भूमिपतिहरुले उनीहरुलाई हटाउन सकेनन्। कारण नेपालको कानुन त्यतिबेला राजा र राणाबाट मौखिक रुपमा लागू हुन्थ्यो।

यता, नेपालको विकासको सन्दर्भमा भारतीय नागरिकहरुमाथिको प्रतिबन्ध सम्बन्धि कानुन धेरै ढिलो गरि आयो। किनकी सन् १९६२ पछि मात्रै स्वतन्त्र आवास नीतिमा परिवर्तन गरियो र केही प्रतिबन्धित दफाहरु नेपालको संविधानमा थपियो। यसले नेपालको तराइको मूलबासी थारुहरु आफ्नै ठाउँमा दक्षिण भारतबाट र उत्तर पहाडबाट चुपेवामा परे।

अर्को प्रसँग नेपालको राणा थारुहरुबारे,
नेपालको कैलाली र कञ्‍चनपुर जिल्लाका एवं भारतका नैनीताल र खैरी जिल्लाका थारुहरु राजपूत होइनन् भनेर इतिहास शिरोमणि बाबुराम आचार्यले थारुहरुको मूलघर कहाँ ?’ मा उल्लेख गरेका छन् की राना थर राजस्थानका राजपूतहरुले मात्र होइन की प्राचीन समयका राजाहरुले पनि प्रयोग गर्दथे। राना थारुहरु मुखाकृतिका हिसाबले मंगोल मूलका हुन।तर त्यसको अर्थ यो होइन की उनीहरु मंगोलियाबाट आएका हुन। कारण छेठो शताब्दीको अन्तरतिर मात्र हिमालय पर्वतमालाबाट नाका खुलेको हो।’

उनी अगाडि लेख्छन्, ‘ मेवार राजपूतहरुका राजाहरुले मात्र ‘राना’ थर प्रयोग गर्थे र अन्‍य राजपूतहरुले प्रयोग गर्दनथे। त्‍यसकारण थारुहरुले आफ्नो वंशगत सम्बन्ध राजस्थानका राजपूतहरुसँग जोड्‍ने गर्छन्। तर नैनीतालका केही थारु बुद्धिजीवीहरु आफ्नो सम्बन्ध राजस्थानका राजपूतहरुसँग रहेको प्रमाणित गर्न दृढ थिए र त्यहासम्‍म पुगे पनि। उनीहरुको उक्त प्रयास पूर्णतया असफल रह्‍यो। किनकी आजसम्‍म पनि राना थारुहरु सानो माटोको ढिस्कोलाई पूजा गर्छन् जून मूलद्वारको अगाडि रहेको हुन्छ। घरभित्र पूजा कोठामा पनि माटोको ढिस्को हुन्छ जुन स्तुपा वा थुपा (पाली शब्द)’को सानो रुप हो। यो प्रष्ट रुपबाट बुद्धको समयको थेरावादी धार्मिक संस्कारको प्रत्यक्षीकरण हो।’

यस्तै यता, महाथेरा (१९९८:३७पृष्ठ)का अनुसार विभिन्‍न स्थानमा रहका अशोक स्तम्भमा धेरै पटक राना शब्द प्रयोग भएको छ। उदाहरणको लागि गिर्नरमा रहेको अशोक स्तम्भमा ‘प्रियादासिनो राना’ उल्लेख गरिएको छ भने शवहजगढको शिलालेखमा ‘प्रियादासिसो राना’ कुँदिएको छ।

निष्कर्ष:

माथिका प्रमाणहरुलाई मध्यनजर गर्दै भन्ने हो भने “थारुहरु शाक्य, कोलिय वंशका आदिवासी नेपाली हुन्” भन्‍न सकिन्छ।उनीहरुको मूलघर नेपालको तराइ (समतल भू-भाग हो)। थारुहरुलाई केही विद्वानहरुले भारत राजस्थानबाट आएको भनी व्‍याख्या गरे पनि थारुहरुको मूल घर तराइ हो। उनीहरु कुनै बेला तराइका अग्रदूत र कुशल कृषक हुन।औलोलाई पचाउँदै बसेका आदिम थारुहरुको कहानीले यही भन्छ की थारुहरुको आफ्नै भाषा, संस्कृति र सामाजिक परम्पराहरु छन्।उनीहरु मधेशी होइनन् तराइको मूलबासी थहरुहट, अवहट बासी हुन।अहिले राज्यको राजनैतिक परिवर्तनसँगै थारुहरु आ-आफनो कार्य क्षमताले उच्च ओहदामा नपुगेको देखिए पनि आगामी दिनमा राज्यको हरेक निकायको नेतृत्व तहमा पुग्नु जरुरी छ। उनीहरुको सामाजिक आर्थिक र मौलिक भाषा र पहिचाका अवशेषहरुलाई बचाउँदै अब हुने २०७८ सालको जनगणनामा थारुहरुको तथ्याङ्क सही रुपमा केलाउनुपर्दछ।यसप्रति थारुहरु स्वयम जागरुक जिम्‍मेवार हुनुपर्ने देखिन्छ।

लेखक पूर्वाञ्‍चल यूनिभर्सीटी आवद्ध कोशी हेल्थ एण्ड साइन्स कलेजका प्राध्यापक हुन्

साभार: देशसञ्चारबाट

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित