किन आवश्यक छ मातृभाषामा शिक्षा ?


सुशील चौधरी

समुदायमा एककिसिमको भ्रम छरिएको छ, ‘अङ्ग्रेजी माध्यमको शिक्षाको जमानामा मातृभाषामा शिक्षा के काम ? यसले समाजलाई आगाडि होइन पछाडि धकेल्छ ।’ यो दृष्टि भ्रमलाई तोड्नका लागि सामाजिक सचेतना अभियान चलाउनु पर्दछ । प्राणभन्दा प्यारो भाषा सिक्ने वातावरण पाउनु धोका हुन सक्दैन, यो त मौलिक अधिकार हो । राष्ट्रहुनुको अनुभूति पो हो ।

शिक्षा सचेतनाको आधार हो, सचेतनाले व्यक्तिलाई, अनुशासित, चिन्तनशील, विवेकशील र कर्तव्यनिष्ठ बनाउन सघाउँछ । त्यसैले शिक्षालाई चेतनाको स्रोत मानिएको छ । शिक्षा औपचारिक र अनौपारिक हुन्छ । औपचारिक भन्दा अनौपचारिक शिक्षाको दायरा फराकिलो हुन्छ । तर राज्यनिर्देशित औपचारिक शिक्षाले राज्यलाई आवश्यक पर्ने नागरिक तयार गर्ने उद्देश्य लिएको हुन्छ । राज्यकुनविचार सिद्धान्त र चिन्तनद्वारा निर्देशित छ, त्यही अनुरुप पाठ्यक्रम तयार गरेको हुन्छ । नेपालमा पञ्चायतकालमा सुरु भएको राष्ट्रिय शिक्षा पद्धति, २०२८ अनुरुप औचारिक शिक्षालाई व्यवस्थित गर्न खोजेको इतिहास देखिन्छ । त्यस शिक्षा पद्धतिले राष्ट्र राजमुकुट प्रतिवफादार बनाउने नागरिक तयार गर्ने उद्देश्य राखेको थियो । सायद सक्रिय राजतन्त्र रहेको पंचायती व्यवस्था त्यसो हुनु अनिवार्य थियो । तथापि नेपाली जनताले त्यो व्यवस्था विरुद्ध विद्रोह गरे ।

छयालिस सालमा प्रजातन्त्रको पुनस्थापना पछि बहुदलीय व्यवस्थालाई संस्थागत गर्ने अभिप्राय राखियो । नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपाली भाषालाई राष्ट्रभाषा र अरु स्थानीय भाषाहरुलाई राष्ट्रिय भाषाको मान्यता दियो । यसका साथै मातृभाषामा शिक्षालाई मौलिकहकको रुपमामान्यता दिइयो । बैधानिक रुपमा यो अधिकार महत्वपूर्ण थियो ।

दशवर्षे सशस्त्रद्वन्द्व, जनआन्दोलन २०६२÷०६३, जनजाति आन्दोलन, थरुहट आन्दोलन, मधेशी समुदायले गरेको विद्रोह, मातृभाषा सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्था, प्राज्ञिक बहस, आन्दोलन सबै परिवेशले संविधान सभाबाट बनेको नेपालको संविधान (२०७२) मा भाषालाई पहिचानको अधिकारको रुपमा प्रगतिशील व्यवस्था राख्न सम्भव भयो । नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको मान्यता दिइयो । प्रदेश कानुन बमोजिम प्रदेश सरकारले नेपाली भाषा बाहेक बहुसंख्यक नेपालीले बोल्ने मातृभाषालाई माध्यम भाषा बनाउन सकिने व्यवस्था, संविधानले गरेको छ । नयाँ शैक्षिक सत्र सुरुवातको समय भएकोले मातृभाषामा शिक्षाको अभियान सुरु गर्न सजिलो र सान्दर्भिक हुने भएकोले मातृभाषामा शिक्षाको औचित्य, आवश्यकता र सरोकारवालाहरुको पहल तथा भूमिकाका विषयमा यहाँ विमर्श गर्ने जमर्को गरिएको छ ।

किन आवश्यक छ मातृभाषामा शिक्षा ?
भाषा सिकाई र औपचारिक शिक्षाको गुणवत्ता सिकाईको सन्दर्भमा हालसम्म भएका अनुसन्धान कर्ताहरुको एउटै निष्कर्ष छ, प्राथमिक आधारभूत शिक्षा मातृभाषामा दिन सकेमा गुणस्तरीय हुन्छ । बालबालिकालाई आफुले घरपरिवारमा सिकेको र दैनिक प्रयोग गरिरहेको भाषामा शिक्षालयमा अध्ययन गर्न पाउँदा रमाइलो मान्नुका साथै सहज रुपमा सिक्ने वातावरण तयार हुने हुन्छ । नेपाल अधिराज्यको संविधान २०४७ लाई आधार वर्ष मान्दा नेपालमा मातृभाषामा शिक्षा पाउने संवैधानिक हक स्थापितभएको तीनदशक भइसकेको छ, तर पनि मातृभाषामा शिक्षाको अवस्थान गन्य प्रायः रहेको छ ।

भाषा ज्ञानको भण्डार हो । भाषा मर्नु भनेको ज्ञानको भण्डार हराउनु हो । ज्ञानको भण्डारमा कमी आउँदा मानव सभ्यताको मानवीय सम्पदा नष्ट भएर जान्छ । त्यसैले भाषाको संरक्षण र विकास हुन आवश्यक छ । अनौपचारिक रुपमा भाषा प्रयोग हुने कुरा त जसोतसो हुन्छ नै, तर भाषालाई औपचारिक भाषाको रुपमा प्रयोजनामा ल्याउन नसक्दा भाषिक आक्रमणका कारण भाषा अन्त्यहुन सक्दछ । सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिंदा र औपचारिक शिक्षाको रुपमा मातृभाषालाई स्वीकार गर्दा सबै भाषीलाई आफ्नो सम्मान गरेको महसुस हुन्छ ।

छयालिसको परिवर्तनपछि मातृभाषामा शिक्षालाई भाषिक पहिचानको महत्वपूर्ण सवालका रुपमा आदिवासी जनजाति, मधेशी र मुश्लिम समुदायले उठान गरिरहेका छन् । नेपालमा रहेका १२३ भाषालाई राष्ट्रभाषाको मान्यता त दिइएको छ, तर औपचारिक शिक्षाको रुपमा नेपाली बाहेक भाषाहरुलाई उपयोग गर्ने दृढ इच्छाशक्ति देखिदैन ।

आफ्नो मातृभाषामा शिक्षा लिनन पाएका कारण गैरनेपाली भाषी विद्यार्थीहरु विद्यालयमा धेरै टिक्न सक्दैनन् । शिक्षण सिकाई स्तर पनि सुधार हुन सकिरहेको छैन । यस्तो भयंकर समस्याको सहज कारण खोजिन्छ र भनिन्छ, ‘चाखदिएर पढ्दैनन् फेल हुन्छन् जनजाति मधेशी विद्यार्थी’शिक्षा व्यवस्थामा रहेको त्रुटी माथि नजर अन्दाज गरिन्छ । भाषिक ज्ञानको अभावमा कक्षाकोठामा ति विद्यार्थीले भोग्ने सकसको पीडाको पेटारो कस्ले खोतल्ने ? त्यसैले गुणस्तरीय शिक्षाको स्तरलाई बढाउनका लागि पनि मातृभाषामा शिक्षा आवश्यक छ ।

हरेक व्यक्ति र समुदायलाई आफ्नो भाषा र संस्कृति प्यारो लाग्दछ किनकी भाषा संस्कृतिमा उसले आफ्नो सामाजिक र साँस्कृतिक दर्पण देख्दछ, यसले व्यक्तिको आत्मिक अस्तित्व पनि प्रतिविम्वित गर्दछ । नेपाली समाज त्यसमा पनि तराई भूमि सुरुमा थारु, मधेशी, मुस्लिम र अन्य केहि आदवासी समुदायको बाहुल्यता रहेको भएपनि नेपालको आधाभन्दा बढी जनसंख्या बसोवास गर्ने भूगोल भइसकेको छ । तराईमा ५३ ५ बढी जनसंख्या स्थायी रुपमा बसोवास गर्न थालेका छन् । मिश्रित सामाजिक परिवेश भाषिक, साँस्कृतिक विविधताका कारण सामाजिक द्वन्द्वहुन सक्ने अवस्थाहुन सक्दछ । भाषाकै कारण बंगलादेश सन् १९५२ मा पाकिस्तानबाट अलग भएको इतिहास छ । भाषिक मुद्धामा राज्य अति गम्भिर हुन जरुरत छ । हरेक समुदायले छिमेकीको भाषा र संस्कृतिको राम्रो जानकारी लिन सक्दा सामाजिक सद्भाव कायम हुन सक्दछ । त्यसले एक आपसमा समन्वय र सहकार्य गर्न पनि सहज हुने परिवेश बन्दछ । यसबाट नेपाली राष्ट्रियता बलियो हुन जान्छ ।

मातृभाषामा शिक्षा कसरी ?
मातृभाषा शिक्षा सम्बन्धी ऐन, नियम, निर्देशिकाहरु तयार छन् । त्यसका आधारमा मातृभाषामा शिक्षाको सुरुवात गर्न खासै असजह छैन । नेपालको संविधानमा तीन तहको सरकारको व्यवस्था रहेको छ । शिक्षाको सवाल तीन तहकै सरकारको अधिकार क्षेत्रभित्र राखिएको छ । आधारभूत तहको शिक्षाको व्यवस्थापनको क्षेत्राधिकार स्थानीयतहलाई दिइएको छ । त्यसैले स्थानीयतहहरुले आफ्नो पालिकको भाषिक जनसंंख्याको नक्शांकन गरेर मातृभाषाको शिक्षा सुरु गर्न सक्छ । भाषाविद्हरु संगको सहकार्यमा पाठ्यक्रमतयार गरी पालिका स्तरीय शिक्षा योजनातयार गरेर सुरु गर्न सकिन्छ । यसका लागि भाषा शिक्षाको नियुक्ति गर्नुपर्ने हुन्छ । यसका साथै उपलव्ध शिक्षकहरुको समायोजन गरेर पनि जनशक्ति परिपूर्ति गर्न सकिन्छ ।

समुदायमा एककिसिमको भ्रम छरिएको छ, “अङ्ग्रेजी माध्यमको शिक्षाको जमानामा मातृभाषामा शिक्षा के काम ? यसले समाजलाई आगाडि होइन पछाडि धकेल्छ ।” यो दृष्टि भ्रमलाई तोड्न ्का लागि सामाजिक सचेतना अभियान चलाउनु पर्दछ । प्राणभन्दा प्यारो भाषा सिक्ने वातावरण पाउनु धोका हुन सक्दैन, यो त मौलिक अधिकार हो । राष्ट्रहुनुको अनुभूति पो हो ।
भषिक विकासका लागि साहित्य सिर्जना पनि अति आवश्यक छ । त्यसका लागि पाठ्यक्रम र सन्दर्भ सामग्रीका लागि स्तरीय साहित्य विधागत रुपमा सिर्जना र प्रकाशन गर्ने कार्य हुन पनि आवश्यक छ । प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्रहरुले पनि नेपालीबाहेक अन्य राष्ट्रभाषाहरुमा पनि पुस्तक प्रकाशन गर्ने योजना बनाउन आवश्यक छ ।

निष्कर्ष
समावेशी लोकतन्त्रको अवधारणा स्वीकार गरिएको नेपालको संविधानको मर्म बमोजिम सुशासन स्थापितगर्ने हो भने भाषिक समविकासको विकल्प छैन । शिक्षा विकासको आधार हो । त्यसैले गुणस्तरीय शिक्षा व्यवस्था आजको आवश्यकता हो । नेपाली भाषा संस्कृतिको संरक्षण र विकासका साथै नेपाली राष्ट्रियताको प्रवद्र्धन गर्न मातृभाषामा शिक्षा अपरिहार्य छ । यसका लागि स्थानीय सरकारले विशेष नीति र योजनाका साथ पहलकदमी दिन ढिलो गर्नुहुँदैन ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित