मेरो मतले बनेको सरकारको बारेमा बोल्न मिल्छ की मिल्दैन ?


जोगेठ्वा सोम डेमनडौरा


मेरो सरकार,
मैले मतदान गरें, र यो सरकार बन्यो । तिमी जित्यो, सत्ता प्राप्त गर्यो । सत्तासँगै सर्वाधिकार पनि । राज्य चलाउनका लागी सरकार । मैले तिमीलाई भोट दिएर जिताएको र सरकारम उभ्याउनका लागी सक्षम बनाएको हुनाले तिमीलाई प्रश्न गर्ने मेरो अधिकार होला भनेर आज प्रश्न गर्दैछु । तिमी साँच्चिकै जनता र देशका लागि जिम्मेवार छौ र जवाफदेही छौ भने यो प्रश्नको उत्तर काम मार्फत दिने छौ भन्ने आशा गरेको छुँ ।


कोरोना भाइरस संक्रमण रोकथामका लागी आज लकडाउनको ५६ औं दिन हो । हामीले आफुलाई, आफ्ना सन्तति, परिवार, समाज र देशलाई संक्रमणबाट बचाउनका लागी सकिनसकी लकडाउनको पालना गरेका छौं रुखोसुखो खाएर भएपनि । गरिब, निमुखा जनताले के खादैछन्, कसरी जिबिका चलाउँदै छन् र उनीहरुले आफ्ना अबोध बालबालिकाको भोक कसरी मेटाउँदैछन् तिमीलाई थाहा हुनुपर्ने हो ।


मेरो सरकार अर्थात साम्यबादी सरकार,

तिमी कतै पूँजिबाद र सामन्तबाद अंगाल्यो की भन्ने चिन्ता लागेर यो प्रश्न गर्न बाध्य भएको छुँ । सायद तिमीलाई चित्त बुझेन भने मलाई जेल हाल्छौ होला र यतिबेला मेरो पक्षमा नारा जुलुश निकाल्न कोही पनि आउनेवाला छैनन् । यसरकारण, तिम्रो मनमानी चल्न सक्छ ।
चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएदेखि यो संसारभर चासोको बिषय बनेको छ । खास गरेर डर, त्रास र भय पैदा गरेको छ । हरेक देशले आफ्ना नागरिकलाई यसबाट कसरी बचाउने र देशलाई संक्रमणमुक्त गर्न अनेक प्रयास गरेका छन् । देशका सारा शक्ती यसैमा लगाई रहेका छन् । यो महामारीलाई निमित्यान्न गर्न अनेकौं खालका सकरात्मक कार्यहरु गर्दै आएका छन् । तिमीले पनि नगरेको त होइन । यद्यपि तिम्रो काम गराईको शैलीले मेरो मन कटकटि खाइ रहेको छ । मेरो यति धेरै किन सोंच्दछु, थाहा छ ? किन की म यो देशको नागरिक हुँ । म आफ्नो देशलाई असाध्यै माया गर्छुँ ।


जब विश्वभरी नै संक्रमणको दर बढ्दै थियो र सबै देशहरुले रोकथामको प्रयासका लागी लकडाउन गर्दै थिए ठिक त्यसैबेला तिमीले पनि लकडाउन गर्यो । यसलाई म सह्रानीय कार्य भने र भनिरहेको छुु । तर, यो देश गरिबहरुको हो, मजदुरहरुको हो र यसकै मुलधारमा उभिएर तिमी स्वयं नेतृत्व गर्दैछौ भने उनीहरुको सुरक्षित अवतरणको बारेमा किन सोच्न सकेनौ ? रापिलो घाममा दश बार दिन लगाएर भोंको पेट, खाली खुट्टा, दुधे बच्चा काखमा लिएर हिंडेकी आमा प्रति तिम्रो मन किन खाएन ? किन सोंच्न सकेनौ यो देश र सरकार यिनै मजदुरको रगत र पसिनाले बनेको हो भनेर ? किन मन छोएन तिमीले शासन गर्ने सिंहदरबार यिनै गरिब मजदुरको मेहनत पसिनाले बनेको हो भनेर ?


बिभिन्न सिकाई संक्रमण फैलिन सक्ने र लकडाउन लम्बिन सक्ने र यस्तो अवस्थामा गरिब मजदुरको अवस्था के हुन सक्छ भन्ने तिम्रो अध्ययनको क्षमता भएन । कम्युनिजमले सम्बोधन गर्न सकेन । यसकारण तिमी समाजबाद र साम्यबादको खिलाफमा उभिएका छौ ।
राहत वितरणको वाहियात शैली छ । कुन संस्कार र संस्कृति, कुन शिक्षा पद्धति बाट जन्मे हुर्केका हुन् हाम्रा नायकहरु । मुख जोडियोस् चाहे खुट फट्याएर दिनु पर्ने । गरिब मन छैन, लठ्ठिीमा झुन्ड्याएर बिना कामको बाल्टिन दिनु पर्ने । एक किलो चामल दिन पनि फोटो खिचाएर दुनियालाई देखाउनु पर्ने । राहत कसलाई र किन ? प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रमले किन दस्तावेज गर्न सकेन गरिबहरुको तथ्याङ्क ? हरेक वडामा भएका वडा कार्यालयका फर्मेटले किन अध्ययन गर्न सकेन गरिबको पीडा ? अनि नाम कमाउनलाई बाँड्यो राहत तिनै गलामा सुनका सिक्री र हातमा आइफोन भएकाहरुलाई । जबकि हरेक वडाबाट जनप्रतिनिधीहरु प्रतिनिधित्व गर्छन् र उनीहरुलाई आफ्ना ठाउँका बारेमा जानकारी छ । उनीहरुले किन आँखा चिम्लेर लाखौं, करोडौं र अरबौंको राहत मिल्काए लमतन्न भुँडिहरुमा ?


देश महामारीबाट गुज्रिरहेको बेलामा तिमी सत्ताको खेलमा नतमस्तक भयो । जनता भोकमरीले मरि रहेको बेला तिमीले अध्यादेश ल्याएर रंगमञ्चमा नाटक देखाउँदै थियो । र यिनै नाटकका पात्रहरु लुकामारी खेल्दै थिए । र सत्तामा एउटा नयाँ खेलको शुरुवाट भयो अपहरणको । यसकारण, यो आफैमा ठुलो प्रश्न हो तिमी देश र जनताका लागि महामारीसँग जुध्न के गर्यो ?
बडो दुःखद कुरा छ । महामारीका बेला स्वास्थ्य सामाग्री र राहतमा नै कसरी गर्न सक्छन् भ्रष्टाचार, कमिशन र लुटपाट ? र फेरि उनैलाई कर्मठ मान्नु पर्ने । यो कस्तो राजनीति हो ? सायद सबैभन्दा गरिब तिनै हुन् । सर्वहारा कमारा तिनै हुन् जसलाई अरबौंको सम्पत्तिले पनि खान र सोच्न पुग्दैन एक दिनका लागि । नोटको सैयामा जल्नेछन् तिनका कालामनहरु ।


मेरो सरकार,
ब देश संसार हल्लाउने कोरोना महामारीबाट गुज्रि रहेको छ, यतिबेला तिमीलाई सुकुम्बासी आयोग केको खाँचो थियो ? के गर्छ यो आयोगले ? एउटा काम जरुर गर्नेछ, आयोगका सदस्यहरु तिनै सुकुम्बासीका नाममा तलब र भत्ता । यो नीतिगत भ्रष्टाचार नभए अर्को के हो ? जबकि जरुरी नभएको अवस्थामा तिनै कोषले जनताको सुरक्षाका लागि, कोरोना संक्रमणको आहतका लागि पिसिआर र अन्य स्वास्थ्य सामाग्री किन्न सक्थ्यो नि । सिमान्तकृत समुमदायका, जनजातिका मुद्दा तिम्रो भोटबैंकको मुद्दा मात्र हो, त्यसकारण तिमीले मुक्त, कमैयाका बारेमा किन सोंच्नु पथ्र्यो र ?
कुनै कारणले नचाहिने कार्यालय पनि हाम्रै देशमा छन्, पानीजहाज कार्यालय । देशलाई समृद्ध बनाउनु नै छ भने बाह्रैमास टल्किने हिमाल पर्वत, छाँगा छहरा, गल्छि, ताल तलैया, नदी, पर्यटकीय स्थल, बहु साँस्कृतिक र सामाजिक सम्पदा जति पनि छन् । किन चाहियो पानीजहाज ? एउटा सपना होला गरिबहरुले त्यसमा पैसा फालुन्, टाढैबाट हेरुन र करोडपतिहरु अरबपति बनुन् । हामीलाई चाहिएको छैन भोंको पेटमा जहाजको सयर गर्न । हामीलाई चाहिएको छैन, कुनै समुद्रमा हाम्रो नामको पानीजहाज । हामीले चाहेका छौं त हाम्रै नदिनालामा बलिया पुल र रोड, हाम्रै आँगनको हरभरा, हाम्रै खेत र आलीमा सुन फलाएको । अनि चाहिएको छ, हाम्रा हिमालका मनोरम दृष्यमा देश मुस्कुराएको । पानीजहाज कार्यालयले यतिबेला अरबौंको गाडी किनेर कुन जात्रा देखाउन खोजेको हो ? त्यहि पैसाले जनता बचाउन सकिदैन ?


मेरो सरकार,

अहिले कोरोना संक्रमणको डरलाग्दो महामारी फैलिदै छ देशभरी । डाक्टर, नर्स, प्रहरी र सुरक्षाकर्मीहरु अहोरात्र ज्यानको बाजी लगाएर खटिएका छन् । आज उनैको तलब बढाउनुको साटो काटिदै छ ? यो कस्तो शासन हो ?बिना कामको सांसद विकास कोषलाई कोरोना रोकथाममा लगाउनुको सट्टा बझ बढाइँदै छ । किन सरकार ? यो गर्न के खोजेको हो ?
हेक्का होस् सरकार,
काठमाडौंका ठुला महलबाट देशका गरिब जनता र मजदुरका पीडा जब तिमीले देख्न सक्दैनौ भने यसको परिणाम तिमीले जरुर भोग्छौ ।
यतिबेला, जसको दैनिक बिहान र बेलुका हातमुख जोर्न पुग्दैन उनीहरुका बिरामी आमा बुवा र अबोध बालबच्चाहरु पनि छन् । उनीहरुको पीडा तिमीले थाहा पाउनु पर्छ । यो संसारमा पीडाबाट जन्मेको शक्ति र आन्दोलन सबैभन्दा भयानक हुन्छ । मान्छेहरु यतिबेला कहिँकतै काममा जान पाएका छैनन् । उनीहरु ऋण बोझ भारिले थलिंदै गएका छन् । भोकले आक्रान्त भएका छन् । कुनै दिन यस्तो अवस्था आउँछ कि रोग भन्दा भोक ठुलो भैदिन्छ । त्यहि पीडा शक्तिमा परिणत भैदिन्छ । यसकारण मेरो आग्रह के छ भने लकडाउन मात्र समस्यको समाधान होइन । केहि उपायहरु अपनाउन सकिन्छ, कोरोना भाइरसबाट बच्न र बचाउन । हिंसात्मक वातावरण सिर्जना हुन बाट रोक्न केहि उपाय गर्न सकिन्छ ।


१. लकडाउनकै बेलामा सांसद विकास कोषको पैसा, सांसदका तलब भत्ता, पानीजहाज र त्यसका गाडी किन्ने पैसा, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमा बिभिन्न शिर्षकमा रहेका पैसालाई कोरोना भाइरस रोकथाममा प्रयोग गरौं । कम्तिमा सबै प्रदेशका कोरोना अस्पतालहरुमा किटको उपलब्धता यथेष्ट गराई धेरै भन्दा धेरै टेस्ट गरेर संक्रमण मुक्त होऔं ।
२. कोरोना संक्रमणका बेला बन्द गर्ने र काम गर्न नमान्ने निजी अस्पतालहरुलाई अबिलम्ब सरकारीकरण गरौं ।
३. कोरोना संक्रमितलाई उपचार गर्ने अस्पतालहरुमा सेवा सुविधा सम्पन्न बनाऔं । जस्तो कि, औषधी, टिभी, रेडियो, म्युजिक सिष्टम, पुस्तक, पोसिलो खानेकुरा, आदि आदि ।
४. कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा लागेका जनशक्तिहरुलाई प्रोत्साहन गर्न उनीहरुको तलब भत्ता बृद्धि गर्नुका साथै उनीहरुको वीमा र सम्मानको प्रवधान बनाऔं ।
५. कोरोनाका बिरामीका लागि खटिएका जनशक्तिको सुरक्षाका लागि यथेष्ट सामाग्री उपलब्ध गराऔं ।
६. दैनिक उपभोग्य बस्तु र औषधीको सहज बितरण, पहुँचका लागि हटलाइन तथा पैसा नलाग्ने फोनको व्यवस्था गरि उक्त सामाग्री पुर्याउन मोबाइल् भ्यानको व्यवस्था मिलाऔं ।
७. अनावश्यक तरिकाले राहत बितरण रोकेर आफ्ना वडा या गाउँ, टोलमा भएका अति बिपन्न, गरिब जसलाई साँझ बिहान छाक टार्न धौ धौ परेको हुन्छ उनीहरुको तथ्याङ्क संकलन गरि र अनुगमन सहितगाउँपालिका र नगरपालिका मार्फत एकद्धार प्रणालीमा अत्यावश्यक राहत बितरण गरौं ।
८. कृषिप्रधान देश हो । अधिकांश जनताका आयश्रोतको माध्यम भनेको कृषि हो । खेतीपातीको समय आउँदै गरेको हुनाले कृषि सामाग्रीको उपलब्धता सहज बनाऔं ।
९. जग्गा बाँझो नराखी कृषिका लागि वास्तविक कृषकहरुलाई कृषि अनुदान बढाएर देशलाई आफ्नै तरकारीमा आत्मनिर्भर बनाउनुका साथै कृषिमै रोजगारीको सिर्जना गरि आयातित तरकारीद्धारा हुन सक्ने संक्रमण रोकौं ।
१०. लकडाउन मात्र संक्रमण रोक्ने तरिका कदापी होइन । संक्रमणको अन्त्य गर्न र लकडाउनको अवधी घटाउन पिसिआर टेस्टको क्षमता बढाउने र सक्रमण नदेखिएका ठाउँहरुमा लकडाउनलाई केहि खुकुलो बनाई जिविकोपार्जनको कामलाई सहज बनाऔं ।
११. कोरोना पुर्णरुपमा अन्त्य नभए सम्म अत्यावश्यक सामाग्री आयात निर्यात बाहेक मान्छेको ओहोर दोहोर रोक्न सिमा क्षेत्र पुर्णरुपमा बन्द र कडा सुरक्षा निगरानी बढाऔं ।
१२. एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक औषधी पुर्याउनका लागि होम डेलिभरीको व्यवस्था गरौं ।
यि लगायत, महत्वपुर्ण राजनीतिक र प्रशासनीक कार्यहरु गर्न सकेमा देशलाई आर्थिक भारबाट जोगाउनु साथै कोरोनाको संक्रमण पनि रोक्न सकिन्छ । कोरोना संक्रमणको महामारीका बेला, सरकारको गतिबिधीले जनतालाई रुन नपरोस् । अकालमा मर्न नपरोस् । भोंकले छटपटिनु नपरोस् । यसबाट सिर्जना हुने सम्भावित हिंसात्मक गतिबिधी बाट सचेत रहनु पर्छ ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित