कोरोना महामारीपछिको बजेट प्राथमिकता

शान्ता चौधरी

कोरोना भाइरसको महामारीले बिश्व आतंकित छ र नेपाल पनि यो आतंकबाट अछुतो रहने अवस्था रहेन । लाखौं मानिसहरु संक्रमित छन् भने हजारौं लाखौँको ज्यान लिइसकेको यो महामारीले आर्थिक रुपमा पनि ठूलो कठिनाइ ल्याउने निश्चित प्राय नै छ ।

हाम्रो देशलाइ यो महामारीले ठूलो चुनौती थपिदिएको छ । सानो भए पनि विश्व अर्थतन्त्रमा व्यापकरुपमा गाँसिएको नेपालको अर्थतन्त्रमा पर्ने प्रभावका दीर्घकालीन असरहरु देखापर्ने सम्भावना बढेर गएका छन् ।

यो महामारीले हामीलाई नयाँ सोच निकाल्न र नया ढंँगले देशको विकासमा अघि बढ्न अवसर दिने सम्भावनाहरु पनि छन् । अर्थतन्त्र, विकास, रोजगारी, जीवनयापन र उन्नति जस्ता कुरालाई अब नया ढंगले परिभाषित गरी नयाँ कार्यक्रम र सोचका साथ समृद्ध नेपाल सुखी नेपालीको समृद्धिको अभियानलाई अघि बढाउनु अहिलेको आवश्यकता हो ।

नेपालको आर्थिक विकासको मुख्य स्रोतहरु जस्तै वैदेशिक रोजगारी, वैदेशिक पर्यटन, विदेशी लगानी जस्ता कुराहरु यो महामारीले धराशाही बनायो । वैदेशिक स्रोतमा मात्रै भर पर्ने हो भने हामी जति बेला पनि धराशाही हुने रहेछौँ भन्ने पाठ पनि सिकायो ।

अब निर्माण गरिने विकासका योजना र समृद्धिको अभियानमा यो महामारीले सिकाएको पाठलाई आत्मसाथ नगर्ने हो भने पुनः हाम्रो समृद्धिको बाटोमा अनेकखाले अवरोधहरु आउन सक्छन । आफ्नै देशमा आफ्नै बलबुँताले सबै नेपालीलाई अटाउन सक्ने विकासको अभियानको सुरुवात गर्नु अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने देखियो ।

हामी अहिले नयाँ आर्थिक बर्षको बजेट निर्माण गर्ने चरणमा छौ । बजेटले कस्तो स्वरुप लिनुपर्ला भनेर संसदभित्र घनिभूत छलफल गर्ने प्रक्रियामा छौँ । अबको बजेटले महामारीपछिको नेपालको समृद्धिको बाटो कस्तो हुनुपर्छ भन्ने मार्गनिर्देशन गर्नेखालको हुनुपर्छ ।

महामारीले सिकाएको पाठ बजेटमा अन्तर्निहित भएर नयाँखाले योजना र सोचका साथ देशको आवश्यकता पहिचान गरी आत्मनिर्भर अर्थतन्त्रतर्फ मुलुकलाई लान सक्ने कार्यक्रम बजेटले दिनुपर्छ । यस्तो सिकाइ प्रदेश र स्थानीय सरकारहरुसम्म पुर्याउन आवश्यक छ । जनस्तरसम्म नै यस्ता छलफल हुनु राम्रो हुन्छ ।

परम्परागत शीर्षकहरुमा बजेट छुट्याएर मात्रै अबको आवश्यकता र प्राथमिकता प्रतिविम्व नहुन सक्छ । कम्तिमा नेपालमै सबै नेपालीलाई खान पुग्ने खाद्यान्न उत्पादन होस् र रोजगारीका लागि विदेशिनु नपरोस् ।

एक बर्षको बजेटले यी कुराहरु पूरा गर्न त नसक्ला । तर, त्यस्तो बाटोमा देशलाई लानका लागि आवश्यक तयारी गर्ने योजना यो बजेटले प्रस्तुत गर्नुपर्छ ।

कोरोना महामारीका कारण देशमा धेरैले रोजगारी गुमाएका छन् भने दशौं लाख वैदेशिक रोजगारीमा गएका नेपालीहरु स्वदेश र्फकने तयारीमा छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये एकथरि नेपालीहरु मुख्य गरी खाडी राष्ट्रमा शारीरिक श्रम बेच्न गएका छन् भने केही युरोप अमेरिकाजस्ता विकसित देशमा मानसिक श्रम बेच्दैछन् । कतिपय उतै बसोबास गर्ने ढंगले विदेशी नागरिक पनि भएका छन् ।

खाडी राष्ट्रमा जानेहरू विदेशमा पलायन हुने मनसायका साथ गएका होईनन । उनीहरु नेपाल फर्केर आउने, आफ्ना आम्दानीको केहि रकम जम्मा गर्ने र नेपालमा आएर व्यवसायमा लगानी गर्ने सोचमा छन् । विकसित देशमा जानेहरु सकेसम्म उतै बसोबास गर्ने सोच बनाएकाहरू पनि कोभिड(१९ का कारण कतिपयहरु नेपाल र्फकने सम्भावना बढेको छ ।

यसरी विदेशबाट ठूलो संख्यामा नेपालीहरु नेपाल र्फकनुले तत्कालीनरुपमा केही अप्ठ्यारो त होला । तर, वास्तवमा भन्ने हो भने यो हाम्रोजस्तो वैदेशिक रोजगारीमा ठूलो संख्यामा युवाहरुलाई विदेश पठाउन बाध्य देशका लागि देशलाई आत्मनिर्भर बनाउनतर्फ लाग्न एउटा ठूलो अवसरका रुपमा लिनुपर्छ ।

अर्काको देशमा गएर सधैं श्रम बेचेर हाम्रीले हाम्रो समृद्धि प्राप्त गर्न सक्दैनौं । त्यसका लागि नेपालमै उत्पादन बढाउनुको हामीसँग अर्को विकल्प छैन । यसले एकातिर देशको अर्थतन्त्रमा सहयोग पुग्छ भने अर्कोतर्फ हाम्रो पराधीनता घटेर जान्छ ।

अहिलेको अवस्थालाई मध्यनजर राख्दै अहिले सञ्चालनमा रहेका राष्ट्रिय गौरबका योजनाहरुका साथै केही नयाँ प्राथमिकताहरु निर्धारण गर्न सकेको खण्डमा महामारीपछिको नेपाली समाजले आत्मनिर्भर महसुस गर्नेछ र नयाँ अवसरको सिर्जना हुनेछ ।

यो बर्षको बजेटले पहिलो प्राथमिकताका रुपमा स्थानीय उद्योग धन्दा र रोजगारी सिर्जनालाई नै दिनुपर्छ । देशभित्रकै मजदुरहरु र साना उद्योगीहरु साथै बैदेशिक रोजगारीबाट र्फकने नेपालीहरु स्वदेश फर्केपछि थोरै लगानी गरेर व्यवसाय गर्न लालायित छन । केही गरौँ भन्ने चाहना छ ।

तर, आवश्यक सहयोग नपाएको अवस्था छ । उनीहरुका लागि सिर्जनशील व्यवसाय सञ्चालनमा सरकारले ध्यान दिनुपर्छ । जसका लागि स्थानीयस्तरमा साना तथा मझौला उद्योगहरु सञ्चालन गर्न सकिन्छ ।

कुन स्थानीय तहमा के उत्पादन गर्न सकिन्छ, कस्ताखालका उद्योग सञ्चालन गर्न सकिन्छ, त्यसको पहिचान गर्न विज्ञहरुलाई व्यापक रुपमा परिचालन गर्नुपर्छ र सोहीअनुसार योजना बनाएर उत्पादन वृद्धि गर्नतर्फ लाग्नुपर्छ । केन्ऽदेखि स्थानीय सरकारसम्मको यो नै अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ ।

आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएर लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भने देशभित्रै हुने उत्पादनले राष्ट्रिय आर्थिक उन्नतिमा सहयोग पुग्छ ।
दोस्रो प्राथमिकताका रुपमा कृषि क्षेत्रलाई विस्तार गर्ने उद्देश्य यो बर्षको बजेटले राख्नुपर्छ । खाद्यान्नमा आत्मानिर्भर हुन सकियो भने समृद्धिको पहिलो खुड्किलो सुरुवात हुन्छ । सबै परिवारले आफ्नो खाद्यान्न आफै उत्पादन गर्न सक्ने अवस्थाको सिर्जना गर्ने हो भने कम्तिमा भोकमरीको समस्या हल हुन्छ ।

साना खालका व्यवसायिक कृषिमा लगानी गर्नुपर्छ जसले गर्दा स्थानीय खाद्यान्न आवश्यकता स्थानीयरुपमै पूरा हुन्छ र स्थानीय रोजगारी पनि सिर्जना हुन्छ । कृषियोग्य भूमिलाई पूर्णरुपमा सदुपयोग गरी आधुनिकीकरण गर्न जरुरी छ ।

गरिब किसानहरुलाई आर्थिक तथा प्राबिधिक सहयोग उपलब्ध गराउनुपर्छ । एकातिर धेरै खेतियोग्य जग्गा जमिनहरु बाँझो अवस्थामा छन् भने अर्कोतिर धेरै गरिब किसानहरुले खेती गर्ने जग्गा नपाएर विदेशिनु परेको छ ।

जग्गाविहीन किसानहरुलाई जग्गा उपलब्ध गराई कृषि उत्पादनमा व्यापक वृद्धि गर्न सकिन्छ । एकातिर जग्गा बाँझो रहनु, अर्कोतिर किसानले जग्गा नपाउने अवस्थाको अन्त्य गर्ने कार्यक्रम तत्काल ल्याउनुपर्छ ।

अहिलेको बजेटले तेस्रो प्राथमिकताका साथ सबैखाले सरकारी संयन्त्रहरु चुस्त(दुरुस्त बनाउने, अनावश्यक खर्च कटौती गर्ने, विलासिताको अन्त्य गर्ने, सरकारी तवरमा स्वदेशी सामानको मात्रै प्रयोग गर्नेखालका काममा बजेट अघि बढ्नु आवश्यक छ ।

विलासिताको अन्त्य गर्नैपर्छ र स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नैपर्छ । महामारीले सिकाएको यो पाठलाई जसरी पनि कार्यन्वयन गर्ने अठोटका साथ अहिलेको बजेटले सरकारी खर्चलाई चुस्त, दुरुस्त बनाउन के(के काम गर्नुपर्छ र कसरी मितव्ययिता कायम गर्न सकिन्छ भन्ने खाका निर्माण गर्नुपर्छ ।

प्रशासनिक खर्च बढेर जाँदा जनताको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने कार्यक्रमहरु लागु गर्न कठिन हुन्छ । महामारीको कहरसँगै सरकारी चुस्तताको पनि सुरुवात गर्नु अहिलेको आबस्यकता हो ।

चौथो प्राथमिकताका रुपमा अहिलेको बजेटले वैज्ञानिक र प्राविधिक शिक्षामा व्यापक लगानी वृद्धि गर्नुपर्ने आवश्यकता महसुस भयो । हरेक क्षेत्रमा निपुर्ण जनशक्ति निर्माण गरेर मात्रै देश समृद्ध बनाउन सकिन्छ भन्ने कुरालाई आत्मसात गर्नुपर्छ । हरेक प्रदेशमा प्राबिधिक बिस्व बिद्यालयहरु र हरेक पालिकामा प्राविधिक शिक्षालयहरु स्थापना गरेर आवश्यक जनशक्ति निर्माण गर्ने गरी बजेटले बाटो देखाउनुपर्छ ।

त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्तिको सिप र ज्ञानलाई अधिकतमरुपमा उपयोग गर्ने नीति अगाडि सार्नुपर्छ । विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीहरुलाई नेपाल आएर आफ्नो काम गर्न सक्ने अवसर दिनुपर्छ । नेपाल र्फकन आह्वान गर्नुपर्छ र सोहीअनुसारको वातावरण पनि तयार गर्ने गरी कार्यक्रमहरु ल्याउनुपर्छ ।

महामारीले देशमा उपलब्ध स्वास्थ्य उपचारका बारेमा ठूलो पाठ सिकाएको छ । महामारीहरु आइरहन सक्छन । देश एकैचोटि महामारीमा फस्यो भने हाम्रो देशमा आवश्यक स्वास्थ्य सुविधा दिन सक्ने गरी ठूलो लगानी हुनुपर्ने देखियो ।

जनसंख्याको अनुपातमा आईसीयु कक्षहरु पर्याप्त छैनन् । भेन्टिलेटरको त्यस्तै समस्या छ । अत्याधुनिक स्वास्थ्य उपकरण उत्पादन गर्नेतिर सरकारको ध्यान जान जरुरी छ । समग्ररुपमा स्वास्थ्य क्षेत्रको विस्तारमा लगानी गर्नुपर्ने देखियो । प्राविधिक र भौतिक विकासमा लगानी गर्ने बाटो बजेटले खुलाउनुपर्छ ।

समग्रमा महामारीपछिको नेपालले आत्मनिर्भर तथा समाजवादी समाजको निर्माण गर्ने अर्थतन्त्रको विकास गर्नेतर्फ उन्मुख बजेट बन्नु अहिलेको प्राथमिकता हो । बजेटमा स्वदेशी उत्पादनमा जोड दिने, विदेशी उत्पादनको आयात विस्तारै घटाउँदै जाने र मुलुकलाई आत्मनिर्भर बनाउँदै क्रमशः समृद्ध बनाउने र समाजवादको आधार तयार गर्ने नीति अगाडि सारौं ।

यसका लागि पहिलो खुड्किलो भनेको कृषिमा आत्मनिर्भर हुनु र स्थानीयरुपमा साना उद्योगहरुको विकास गर्नु नै हो । केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुसम्म संयुक्तरुपमा लागि पर्ने हो भने यी कुराहरु प्राप्त गर्न सम्भव छ ।
अनलाइन खबरबाट

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित