बिचरा थारूको माघ (कविता)

छविलाल कोपिला

हिजो अस्ति थारू जिम्दार राजधानी पस्यो
राजधानीमै शासकसँग मितजोडी जोड्यो
ऊ गाउँ बिर्सियो
गाउँको रीतिरिवाज पनि
गाउँको अनडीको जाँड
र, जाँडसँगै माघ पनि बिर्सि्दियो ।

जब शासकहरू उसलाई काबुमा राखे र भने
थारू ठीक ठाउँमा आइ पुग्यो
यसको मौलिकताको माघमाथि
एउटा लँगौटी झुन्ड्याइ दिऊ
बिचरा थारू जिम्दार
लँगौटीको उपहारको उन्मादमै बेहोस् भएछ
र, आफ्नो बेहोसीमा
मालिक गुलामको व्यापारिक बिज्ञापनको साइनबोर्डमा
माघको पुछारमा लँगौटी झुन्ड्याएर
ह्याप्पी माघी लेखे छ
यता शासकहरू उसकै समर्थनमा ताली बजाइरहेछन् ।

अचेल माघ जसको आफ्नो होइन
उसैले जथाभावी फुर्काे झु्न्ड्याइरहेछ
जसले माघको नाक, कान, मुख देखेको छैन
उसैले नाकमा एयररिङ र कानमा फुली झुन्ड्याएर
वाक फैसला सुनाइरहेछ
र, माघ कुरूप बनाइरहेछ ।

हिजो पहिचान भुक्न तीन हात माथि उफ्रिनेहरू
मौलिकता नापेर नथाक्नेहरू
अचेल मालिकको प्रदर्शनी मेलामा
जसरी शासकहरूलाई अग्र भागमा राखेर
आफू पछाडि बसेर
बेसूर थपडी पड्काइरहेछन्
ठीक त्यसरी नै
चौधरीहरू शासकहरूका स्वत्व जोगाइदिन
शासकहरूकै नासो ‘माघी’लाई अग्र भागमा राखेर
थारू समुदायको माघ, खिचरा र तिला संकराइतलाई
छायाँमा राखेर गर्व गरिरहेछन्

हो,
शासकहरूसँग शासन सत्ता छ
उनीहरूसँग दाम छ, दम्भ छ
उनीहरूसँग सञ्चार छ, समाचार छ
उनीहरूसँगै शक्ति पनि छ
त्यसैले गुलामहरू
तलुवा चात्नकै लागि
उनीहरूकै लगौटी समातेर थपडी बजाऊन्
चाहे उनीहरूकै इसारामा नचून् , गाऊन्
केही फरक पर्दैन
किन कि अब थारू वस्तीबाट
थारू गाउँ गाउँबाट
‘माघ’ आफ्नै पहिचानको
आफ्नै मौलिकताको
आवाज बोकेर बिद्रोहमा उठिसकेको छ ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित