साजल पानी

उर्मिला गम्वा थारू

उर्मिला गम्वा थारू

रितिरीवाज भन्ने कुरा हरेक समाजमा समुदाय अनुसार फरक फरक भएको पाउँछौं । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाल बहुभाषा, बहुसंस्कृति, रितिरीवाज,परम्परा भएको देश हो । हरेक जाति विशेषताको आफ्नै खालको रहनसहन भएको कारणले गर्दा नै नेपाललाई विविधतामा एकता भएको देशको रुपमा पनिचिनिन्छ । जसमध्यको थारु समुदाय पनि यस भित्रको एक समुदायको हो । आदिम समयदेखि तराईको भूभागमा बस्दै आएको जाति हो थारु । जसको आफ्नै छुट्टै खालको रितिरीवाज, परम्परा रहेको पाईन्छ । थारु समुदायको हरेक चिज केलाउने हो भने यस समुदायमा आधारित भएर एउटा पुस्तकै निकाल्न सक्छौँ । थारु समुदायमा हरेक दिन प्रहरको, मौसम अनुसारको चलन चल्तिहरु भएको पाउछौँ । जसमध्य भ्वाज (विबाह) को कुरा गर्दा थारु समुदायमा हामीले भ्वाज (विबाह)को अनेकौँ प्रकारहरु देख्न सक्छौँ । चालचलन पनि त्यहि अनुसारको पाउन सक्छौँ । थारु समुदायमा हामीहरुले भ्वाजको कुरा गर्दा चौध तरीकाको भ्वाज देख्न सक्छौँ तर यो कुनै पनि किसिमको दस्तुरमा लेखोट भएको पाइदैँन् तर समय अनुसार यो भ्वाजको तौर तरिका पनि पहिलाको भन्दा फरक भएर आएको छ । हिन्दु धर्मशास्त्र अनुसार ऋग्बेदमा आठ प्रकारको विवाह उल्लेख गरिएको पाइन्छ । हिन्दु धर्मअनुसार मानव जीवनमा गरिने सोह्र संस्कार मध्य भ्वाज एउटा संस्कार मानिन्छ ।

भ्वजाहा रित (विवाह तरिका)

फागुन महिनालाई माया प्रेमको महिना पनि मान्ने गरिन्छ । त्यसैले पनि होला सायद थारु समुदायको भ्वाज फागुन महिनामा मात्र भएको पाइन्थ्यो तर समय अनुसार यो पनि परिवर्तन भई अहिले बैशाख, मंसिर, माघमा पनि गर्ने गरेको पाइन्छ। भ्वाजको कुरा गर्ने हो भने थारु समुदायमा भ्वाज थरी थरीको पाईन्छ । भ्वाज कति प्रकारको हुन्छ भन्ने कुरा कहिँकतै यति नै हो भनेर लेखिएको पाइदैँन । थारु समुदायको थारु लोक साहित्यमा भने हामीहरुले बर्किमारमा(महाभारत) द्रौपदीको भ्वाज, राम बिहग्राममा सिता र रामको भ्वाज र शीउ फुलवारमा महादेव र पार्वतीको भ्वाजलाई बर्णन गरेको देखिन्छ । यसरी सरसरति हेर्दा थारु समुदायमा महिलालाई आफ्नो वर छान्ने अधिकार भएको देखिन्छ । थारु समुदायको मागि विवाहमा एक हप्तासम्म विवाहको रसम चल्ने गर्दछ । डिउलि हाल्ने, बरत्या(जन्ती) जाने, फठ्लरी(जन्ती आए जस्तै गरी केटि पट्टीबाट पनि केटिलाई छोड्न केटाको घर जानु) जाने आउने जस्ता रितले गर्दा विवाह लामो जाने गर्दथ्यो त्यसैले यो विवाहलाई बर्का भ्वाज (ठूलो विवाह) पनि भन्ने चलन रहेको छ । थारु समुदायमा भ्वजाहा रित हेर्दा पूर्व र पश्चिमका थारु समुदायमा थोरै फरक पाईन्छ । पूर्व र पश्चिम जुन ठाउँको रित हेर्दा पनि भ्वाजमा धेरै नै रित पुरा गरेर भ्वाज गरेको पाइन्छ । ती रितहरु मध्य एउटा रित रहेको पाइन्छ साजल पानी(पुजा गरेको पानी) बेहुलीसंगै लैजाने रित ।

साजल पानी (पुजा गरेको पानी)

साजल पानी थारु भ्वाजमा एकदमै महत्वपूर्ण रित हो । छोरीलाई अन्माउने बेलामा गुरुवा(झाँख्री)बाट पानीलाई केहि मन्त्रले त्यसलाई मन्त्रमय बनाई लोटामा संरक्षित तरिकाले राखिन्छ । बेहुलीको दाइ वा भाइ मध्य एक जनाले त्यस साजल पानीको संरक्षको जिम्मेवारी पाएका हुन्छन् । विशेष गरी पश्चिमा थारु समुदायमा जन्ति आएजस्तो गरी बेहुलीलाई पनि बेहुलाको घरमा छोड्न जन्ती जस्तै गरी जाने चलन रहेको छ । त्यसलाई थारु समुदायमा पठ्लरी जाने भन्ने गर्दछौँ । पठ्लरी जाँदा खेरी बेहुलीको भाइ वा दाइले त्यस साजल पानी राखेको भाँडालाई सुरक्षित तरीकाले आफूसित राखेको हुन्छन् । त्यस लोटामा भएको पानी एक बुँद(थोपा) पनि खस्नु हुदैन भन्ने चलन रहेको छ । साजल पानी एकदमै शुद्ध र पवित्र मानिन्छ । जबसम्म बेहुलाको घर पुगिँदैन तबसम्म बेहुलीको सुरक्षा गर्ने काम यस पानीले गर्दछ भन्ने मान्यता रहेको छ । साजल पानी बेहुलीलाई बाटोमा पिवाउनको लागि तयार पारिएको हुन्छ । बाटोमा पानी तिर्खा लागेमा बाहिरको पानीको साटो त्यही साजिएको पानी पिवाउनको लागि त्यस साजल पानीको ब्यवस्था गरिएको हुन्छ । गाउँ प्रहर कस्तो हुन्छ बाटोघाटो भन्दै बाहिरी नजरबाट जोगाउनको लागि भनेर यस साजल पानीको प्रयोग गर्ने चलन रहेको हुन्छ । साजल पानीको आफ्नै छुट्टै मुल्यमान्यता रहेको पाइन्छ ।

छोरीलाई अन्माउने बेलामा गाइने गीत (माँगर)

हरे घरी ट पहर गैलजुन ट टसक गैल रे

बाबासे न डोली टर डाँरा माँगोडाइसे न ढील टर बिडा मागो

जेहीम चहुरी ढीया जैबो की आपन ससुरा घर ।।

पुरानो विश्वास

बाटोमा भुतप्रेत लाग्न सक्छन बाहिरको पानी पिउँदा त्यसैले यस मन्त्रमय पानी भयो भने यस्ता भुतप्रेतबाट बचाउँछ भनेर त्यो साजल पानी आफ्नो विश्वासीलो पात्र भाइ वा दाइलाई यसको संरक्षणको लागि छानिएको हो र यहि पानी बेहुलीलाई तलमाथि हुँदा पिउनको लागि दिने गर्दछन् । साजल पानीको पनि आफ्नै छुट्टै सामाजिक मुल्य र मान्यता रहेको छ । यस लोटा बोक्ने परम्पराले दिदी बहिनी दाइ भाइबिचको आत्मियतालाई राम्ररी देख्न सक्छौँ । सामाजिक मान्यता अनुसार पहिलेदेखि कथन रहँदै आएको छ कि दिदी बहिनीहरुको संरक्षण दाइ भाइले गर्दछन्, त्यसैको प्रतिको रुपमा देखाइएको पनि पाइन्छ । डोली बेहुली बस्नको लागि बनाइएको हुन्छ । बेहुलीलाई बिदाई गर्दा डोलीमा राखेर अन्माउने चलन रहेको छ । श्रीमानको घर जाँदा बेहुली डोलीमा बसेर जान्छिन् । डोली बनाउँदा बाईस मिटर लामो सेतो कपडा बेरेर बानाइएको हुन्छ । खटोली(बस्नको लागि बनाइएको सानो चारपाई) लाई बाँसले बेरेर त्यस बाँसको वरिपरी त्यो सेतो कपडा बेडेर डोली तयार भएको हुन्छ । यो पुरै तरिकाले बेरिएको हुन्छ । बाईस मिटर कपडा बेरेको हुनाले यसमा हावाको आवत जावतको कमि हुन्छ जसले गर्दा बेहुलीलाई श्वास फेर्न गाह्रो हुने भएकोले यस साजल पानीले सबै ठिक गर्छ भनेर त्यसको सेवनको लागि संगै यस पानीलाई लागिएको हो ।

वैज्ञानिक कारण

अहिलेका पुस्ता हामीहरुले भन्ने गर्दछौँ हाम्रा पुर्खाहरु त वैज्ञानिक नै हुनुहुदो रैछ, सबै कुरा जान्ने ज्ञानी । अहिले हामी त्यहि कुरालाई अनुसरण गर्दै अघि बढिरहेका छौँ । अहिले आएर उहाँहरुको ज्ञान हामीहरुलाई बल्ल आभास भैरहेको छ ।  पहिलेको कुरा गर्दा थारु समुदायको विवाहमा जन्ति डल्लप(बेलगाडा) वा हिँडेर जाने चलन रहेको थियो । थारु प्रकृतिको एकदमै नजिक भएकोले पनि हरेकि चिजमा प्रकृतिमा निर्भर भएको पाउँछौं । अहिलेको जस्तो बस्ती घना पनि थिएन । फाट्ट फुट्ट कहिँकतै मात्र घरहरु देख्न सकिन्थ्यो । मानिसहरुको बसोवास कम भएकोले हामीहरु पनि पानीको मुहान जहाँ बस्ती छ त्यहिँ मात्र पाउँन सक्थ्यौँ । अहिलको जस्तो गरि पानी कल पनि थिएन् (दाङमा अहिले पनि कुँवा(इनार) प्रयोगमा रहेका छ ।) यदि बेहुलाको घर टाढा छ भने यो यात्रामा बेहुलीलाई केहि नहोस र केहि समस्या परेको अवस्थामा त्यो साजल पानीले जीवन दानको काम गर्ने हुनाले पनि त्यस साजल पानी बोक्ने चलन थारु समुदायमा अहिले सम्म पनि रहिआएको छ । त्यो यात्रा भरि साजल पानीको एक थोपा पनि नखसोस भनेर बडा सुरक्षितको साथ त्यसको संरक्षण गर्ने गरिन्छ र यसको संरक्षणको भरपर्दो पात्र दाइ वा भाइलाई मात्र मान्ने गरिन्छ । छोरीप्रति माईतिको माया ओतपोत देखिन्छ त्यसैले त छोरीको संरक्षण र रेख्देखको लागि बेहुलीसंगै घरपरिवार, आफन्ति, गाउँले र इष्टमित्रहरु बेहुलाको घरसम्म गएको देखिन्छ ।

समयको रफतारले अहिले हरेक कुरामा हामीलाई परिवर्तन गर्दै लगेको छ। परिवर्तनमा थारु समुदाय पनि देख्न सकिन्छ । हरेक संस्कृति समय अनुसार परिवर्तन हुँदै जान्छ । पुरानो रितिरिवाजमा पनि ज्ञानको भण्डार लुकेको हुनाले त्यो संस्कृति परम्पराको अध्ययन हुन आवश्यक रहेको छ । अहिलेको पुस्तालाई आफ्नो परम्पराको महत्वको आभास हुन जरुरी छ । थारु संस्कृतिलाई संरक्षण, सम्बद्र्धन र पुस्तान्तरण गर्न जरुरी रहेको छ र यसको दस्ताबेजिकरण पनि त्यतिकै महत्व रहेको छ ।  विवाहको रहन सहन धेरै मात्रामा परिर्वन भएको पाएपनि साजल पानीको परम्परा भने अहिलेसम्म यथावत नै रहेको पाइन्छ ।

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित