थारु महिलालाई सौन्दर्य प्याकेजको रुपमा मात्रै हेरिन्छ

इन्दु थारु

थारुहरुको संस्कृति जोगाउने कुरामा होस् या थारुहरुको पहिचानको आन्दोलनको कुरा वा टीकापुर विद्रोह वा १० वर्षे सशस्त्र द्वन्द्व किन नहोस्, थारु महिलाको यी सबैमा उत्ति नै महत्वपूर्ण योगदान रह्यो । जति योगदान भए पनि यो कुराहरु इतिहासमा कतै लेखिँदैन । कहीँकतै लेखिएको भए पनि यो पर्याप्त छैन ।

बर्दियाको साबिकको मानपुर टपराको बेलुवा टोलमा खलिहान आन्दोलन भयो जसलाई ‘खलिहान विद्रोह’ पनि भनिन्छ। खलिहानमा थारुहरु अधियाँमा काम गर्थे। अधियाँको न्यायोचित वितरण हुनुपर्छ भनेर आन्दोलन गरेकै आधारमा २००८ सालमा राज्यले गोली चलाएको थियो। त्यसमा कोइली थारुलगायत ५ जनाले ज्यान गुमाएका थिए। कैयौं घाइते भए।
तपाई हामी सबैले भोगेको दस वर्षे द्वन्द्वको क्रममा थारु महिलाहरुले धेरै पीडा भोग्नुपर्‍यो। पूरै देश पीडा भोग्न बाध्य भएको थियो। थारु महिलाहरुको हकमा थारु र महिला भएको दोहोरो कारणले धेरै पीडा भोग्न बाध्य भए। थारु पुरुषहरु कि त माओवादी हुन बाध्य भए कि त इन्डिया जान। तर, महिलाहरु विभिन्न कारणवश बच्चाबच्ची हेर्नुपर्ने र घर सम्हाल्नुपर्ने कामले गर्दा घरमै बस्नुपर्‍यो। घरमा बस्दाको पीडा अर्कै छ। जो महिलाहरु घर छोडेर म युद्ध लड्छु भनेर बन्दुक उठाउनु भयो माओवादी बन्नु भयो। उहाँहरुले पनि पीडा भोग्नुपर्‍यो। पुरुषलाई यातना दिनुछ वा मार्नु नै छ भने सिधै गोली ठोकिन्छ तर महिलाको हकमा त्यतिमात्र हुँदैन। महिलालाई पहिला बलत्कार गरिन्छ अनि मात्र गोली ठोकेर मारिन्छ।

बर्दियाकी सम्झना चौधरी गर्भवती हुनुहुन्थ्यो। तत्कालीन शाही सेनाले बलात्कार गरेर गोली ठोकेर मारेको इतिहास छ। त्यस्तै पाँच महिनाको गर्भवती महिला आशा चौधरीलाई बर्दियामा गोली ठोकेर मारेको इतिहास छ। फेरि बर्दियामा नै दस वर्षकी रुपा चौधरीलाई तत्कालीन शाही सेनाले गोली ठोकेर मारेको इतिहास छ।

शान्ति प्रकियामा आइसकेपछि थरुहट आन्दोलन अगाडि आयो। थारुहरुले आफ्नो अधिकार आफ्नो पहिचानका लागि आफैंले आवाज उठाए। आफ्नै नेतृत्वमा गरेको आन्दोलन थरुहट आन्दोलन हो। यस आन्दोलनलाई कमजोर पार्नको लागि अखण्ड सुदुरपश्चिम र राज्य पक्षले दुवै पक्ष मिलेर थारुहरुमाथि ज्यादती गरिरहेको अवस्था थियो। र, अझ धनगढीको गुरही चोकमा त थारुहरुको घरघरमा पसेर युवाहरुलाई कुटपिट गर्ने, धम्क्याउने कामहरु हुन थाल्यो।

धनगढी बजारमै थारु नेताहरुलाई आक्रमण गर्ने वातावरण सृजना भएपछि थरुहट आन्दोलनमा एउटा नयाँ रणनीति बन्यो। थारु महिलाहरुलाई आन्दोलनमा अगाडि सार्ने। महिलाहरुले आफ्नो परम्परागत लेहङ्गा, चोलिया, गोनिया लगाएर नारा जुलुस गरे। त्यस आन्दोलनमा म पनि सहभागी थिएँ। धनगढी बजारमा थारु महिलाहरु मात्र आन्दोलनको मोर्चामा थिएँ। महिलाहरुले आफैंले कार्यक्रम संचालन गरे, आफैंले भाषण गरे। पुरुषहरुको साथ भने थियो।त्यसपछि थरुहटमा जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको कुरा गर्दै आन्दोलन अगाडि बढिरहेको थियो। यसैक्रममा टीकापुरमा घटना घट्यो। हामी सबैलाई थाहा छँदैछ।

टीकापुर घटनापछि महिलाहरु माथि धेरै ज्यादती गरियो। पुलिसको रातिको गस्तीमा महिला प्रहरी हुँदैन थिए। त्यसबेला महिलाहरुमाथिको दुर्व्यवहार र बलत्कारको घटनाहरु बाहिर आएको छ।

टीकापुर घटना भदौ ७ गते भयो। भदौ महिना थारुहरुले माछा मार्ने समय हो। रोपाई खेतीपाती सकिएको हुन्छ। त्यसैले आउने पर्वको लागि माछालाई सुकाएर सिद्रा बनाउने चलन हुन्छ। त्यसबेला थारुहरुलाई माछा मार्न दिइएन। दसैं तिहारमा थारु महिलाहरुलाई आफ्नो घर लितपोत गर्न समेत दिइएन।

भदौमा कृष्णाष्टमीको व्रत बसेर थारु महिलाहरुले आफ्नो दिदीबहिनीहरुलाई अग्रासन (कोसेली) दिन जाने चलन हुन्छ। त्यो अग्रासन दिने जानेक्रममा थारुका अग्रासनहरु चेक गरिएको थियो। यसरी थारुहरुको मनोबल गिराउने काम धेरै भयो त्यसबेला।

थारु महिलाहरु प्रजातन्त्र प्राप्तिदेखि थारुहट आन्दोलनसम्म अगाडि छन्। जब राज्यले दबाब दिएर थारुहरुको आन्दोलन कमजोर पार्न खोज्छ तब आन्दोलनको साख जोगाइदिने भनेको थारु महिलाहरुले नै हो।

अब यति धेरै पीडा भोगर थारु महिलाहरुले पाए के त?हामीले खोजेको त राज्य सत्तामा हाम्रो पहुँच हो। यो देशको स्रोतमा र निर्णय प्रक्रियामा पहुँच हुनुपर्छ भन्ने हो। तर, महिलाहरुले साँच्चै के पाए त?

पहिलो संविधानसभा चुनावमा १३ जना थारुहरु प्रत्यक्ष निर्वाचित हुनुभयो। त्यो १३ जनामा जम्मा एकजनामात्र थारु महिलाले प्रत्यक्ष जित्नुभयो। टीकापुर क्षेत्रबाट रुपा चौधरीले माओवादीबाट जित्नुभएको थियो।

त्यसबेला समानुपातिकमा २४ जना थारुहरु सांसद बन्नुभयो। त्यसमा १२ जना थारु महिला पर्नुभयो। माओवादीहरुले दाङदेखि कञ्चनपुरसम्म थारुवान राज्य भनेका थिए। थारुवान राज्यको नाममा यति धेरै थारुहरुले ज्यान गुमाए त्यसबेला। तर, थारुवान राज्यबाट जम्मा ६ जनामात्र पर्नुभयो।

दोस्रो संविधानसभा चुनावमा भने १२ जना थारुले चुनाव जित्नुभयो। त्यसमा २ जनामात्र महिला हुनुहुन्थ्यो। दाङबाट सुशिला चौधरी र पार्वती डिसी थारु दुवैले नेपाली कांग्रेसबाट जित्नु भयो। माओवादीबाट कोही पनि आउन सक्नुभएन।

२०७४ सालको प्रतिनिधिसभाको चुनावमा १० जनामात्र थारुहरुले प्रत्यक्ष चुनाव जित्नुभयो। त्यसमा एकजना पनि महिला प्रत्यक्ष चुनावबाट आउनसक्नु भएन। समानुपातिकमा ७ जना थारुहरुलाई प्रतिनिधिसभा पुर्‍याइयो। जसमा ६ जना महिला थिए। ६ मा चारजना थारुवान राज्यबाट पर्नुभएको छ। हाँसोलाग्दो कुरा के छ भने माआवादीबाट कोही पनि पर्नुभएन।स्थानीय तहको चुनाव हेर्ने हो भने कुनै पनि थारु महिला गाउँपालिका र नगरपालिकाको प्रमुख हुनसक्नु भएन। टिकट धरी पाउनुभएन। कैलालीको घोडाघाडी नगरपालिकामा कांग्रेसले महिलालाई टिकट दिएको थियो। तर, उहाँले हार्नुभयो।

उपप्रमुखमा चाहिँ थुप्रै थारु महिलाहरु आउनुभएको छ। ४९ जना थारु उपप्रमुख मध्ये ४८ जना महिला हुनुहुन्छ।
यसरी हेर्ने हो भने थारु महिलाहरु संसाद वा स्थानीय तहमा आउन त आउनु भयो। तर, उहाँहरुको हातमा निर्णय गर्ने अधिकार छैन। पार्टीमा पार्नसक्ने प्रभाव निकै कमजोर छ। मन्त्रिपरिषद्को कुरा गर्ने हो भने अहिलेसम्म एकजना पनि थारु महिला पूर्ण मन्त्री हुनुभएको छैन।

थारु महिलाहरु यति संघर्षशील हुँदाहुँदै पनि वस्तुको रुपमा वा भनौं सौन्दर्य प्याकेजको रुपमामात्र चित्रण गरिन्छ र हेरिन्छ। कुनै पनि होटेल अथवा संग्राहलयमा गयो भने थारु महिलाहरुको फोटो थारु ड्रेससँगै गाजल, लिपिस्टिक लगाएर चिटिक्क पारेर राखिएको हुन्छ। यसै चिटिक्क परेको फोटो राखिदियो भने थारु महिलाहरुको प्रतिनिधित्व हुन्छ भन्ने धेरैको सोचाइ छ। र, त्यो गरिँदै पनि आएको छ।

अनि चिटिक्क परेको थारु महिलाहरुलाई सांस्कृतिक झलकहरुमा, स्वागत सत्कारमामात्र राखिएको हुन्छ। अतिथि स्वागत समितिमा संयोजक जहिल्यै थारु महिला नै हुन्छन्। तर, उनीहरुलाई स्वागत भाषणसम्म गर्न दिइँदैन।मञ्चमा पुरुष, माइकमा पुरुष र पदमा पुरुष। महिलालाई थारुभित्र पनि र थारुबाहिर पनि प्रस्तुत गर्ने शैली एउटै हो।

‘मासिन्या दस्तुर’मा लवकान्त चौधरीले यस परम्परालाई तोड्नुभएको छ। यहाँ एकजना थारु महिला माछा मार्दै हुनुहुन्छ फोटोमा। अहिले यस्तो ट्रेन्ड आइसक्यो कि एउटा चिटिक्क परेको थारु महिलाले माछा मारिरहेको हुन्छ। तर, यहाँको फोटोले साच्चै यथार्थ बोलेको छ। अर्को छ, बच्चालाई पिठ्युमा बोकेर कालो झण्डा बोकेको पार्वती चौधरीको तस्बिर। पार्वती चौधरीको श्रीमान्लाई गिरफ्तार गरिएको थियो। महिलाहरुले आन्दोलन गरिरहेको बेलामा त्यस फोटो खिचिएको हो।

हामी थारु महिलाको सौन्दर्य माछा मारिरहेको, कालो झण्डा बोकेर विद्रोह गरिरहेको न्यायको आवाज उठाइरहेकोमा देख्दैनौं। हामीले हाम्रो इतिहासमा साहसिक महिलाहरुलाई कतै लेखेनौं, चित्रहरुमा उतारेनौं। अब हामीले नै यस कुराको सुरुवात गर्नुपर्छ। थारु महिलाको सुन्दरतालाई विद्रोहको झण्डा बोक्ने महिलामा पनि खोज्ने हो कि?

(काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको कलाकार लवकान्त चौधरीको कला प्रदर्शनी ‘मासिन्या दस्तुर’ मा लेखक तथा अध्येता इन्दु थारुको मन्तव्यको अंश) कान्तिपुरबाट साभार

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित