थारु इतिहासको नालीबेली ‘मासिन्या दस्तुर’

बुनु थारू।
काठमाडौँ, २ पुस।
जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् ।

कुनै जमनामा ती थारुहरु कमैया हैन जमिन्दार थिए। र, सयौं विघाका मालिक थिए। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म बसोबास गरिरहेका भूमि पूत्रको खास इतिहास के हो त?

सन् ५० र ६० को दशकमा अमेरिका र विश्व स्वास्थ्य संगठनले नेपालको तराई क्षेत्रमा औलो उन्मूलन कार्यक्रमको लागि अभियान थाले। डाईक्लोरो–डिफिनाइल–ट्राइकोलोरोइथेन (डीडीटी)को प्रयोग गरेर लामखुट्टे मारियो। राजा महेन्द्रको पालाको कुरा हो यो। डा. कृष्णबहादुर भट्टचनले डीडीटीलाई त ‘डेन्जर डोज टू थारु’ नामाकारण पनि गरेका छन्।

यो विषादीको प्रयोगले त्यहाँ किरा ,फट्याङ्ग्रा मात्र मरेनन् सम्पूर्ण पर्यावरणलाई नै प्रभावित बनायो। बसाइ सराइ पनि बाक्लो भयो। थारुहरु मात्र बसोबास गरिरहेका क्षेत्रमा अरु जातिका मान्छेको लर्को लाग्यो। त्यसपछि धेरै चिज परिवर्तन भयो। त्यसले वन विनाश मात्र निम्त्याएन, थारुहरुको बसोबासलाई पनि उत्तिकै प्रभावित पार्‍यो।

मुलुकी ऐन १८५४ र भूमि सुधार ऐन १९६४ ले आदिवासी थारुहरुका जीवनमा आमूल परिवर्तन ल्याइदियो। मुलुकी ऐनले थारुलाई ‘मासिन्या जात’मा राख्यो। निरंकुश शासनले थारुहरुको जमिन खोसियो। अनपढ थारुहरुले आफ्नो लालपुर्जा समेत गुमाए। खेतीपाती गर्दै आफ्नो जीविकोपार्जन गर्दै आइरहेका थारुहरु भूमिहीन बन्न पुगे। कमलरी र कमैया प्रथा आयो। राजा भएर बसेका थारुहरु दमित हुँदै गइरहे।

२०५७ साल साउन २ गते कमैया मुक्ति र २०७० असार १३ गते कमलरीप्रथा मुक्तिको घोषणा गर्‍यो। घोषणा गरिए पनि अझै यो प्रथा चलिरहेको नै छ। इतिहासका धनी थारुहरु अझै पनि विस्थापित छन्। पिछडिएका छन्। मूलधारको राजनीतिमा उनीहरुको उपस्थिति भए पनि सन्तोषजनक भने छैन।

आदिवासी जनजाति थारु कसरी सदियौंदेखि पीडित, शोषित बन्दै आइरहेका छन् भन्ने कुरालाई कलाकार लवकान्त चौधरीको दिमागमा सधैँ खेलिरहन्थ्यो। थारुले हरेक तह र तप्कामा किन ठाउँ पाइरहेका छैनन् त? उनीहरुको इतिहास के हो? उनीहरुलाई नियतिले कसरी झुक्यायो भन्ने लागिरहन्थ्यो लवकान्तलाई, आफ्नो त्यही जिज्ञासुपन उनले आफ्नो कलाकारितामा पोखेका छन्।उनी भन्छन्, ‘म आफैँ थारु भएको नाताले थारु इतिहास बुझ्न चाहन्थेँ, मेरो यो प्रदर्शनी मेरो अनुभवको सिकाइ हो भन्ने लाग्छ।’थारुहरुको इतिहास र उनीहरुको तीतामिठा कथाव्यथा बोकेको ‘मासिन्या दस्तुर’ शीर्षकको कला प्रर्दशनी सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ।

सिद्धार्थ आर्ट ग्यालरीको मूल ढोकाभित्र पस्ने बित्तिकै देखिन्छ युद्धको बर्बरतमा बाँचेको एक डायरी शीर्षकको प्रदर्शनी। उक्त डायरी हो– सहिद जोखन रत्गैयाँको।

यो डायरीमा उनको दैनिकी मात्र देखाउन खोजिएको छैन दुई पुस्ताको सम्बन्ध पनि देखाउन खोजिएको छ। कलाकार लवकान्त भन्छन्, ‘यसमा रत्गैयाँकी छोरी इन्दु थारुले पनि यस अभिलेखको लागि पुराना फोटोहरु उपलब्ध गराएर सहयोग गरेकी छन्। त्यसैले यो डायरी मात्र होइन धेरै इतिहास पनि बताउन खोजेको छ।’

‘युद्धको बर्बरतामा बाँचेको एक डायरीमा’ जोखन मात्र होइन युद्धमा सहादत प्राप्त गरेका अरुको इतिहासको हिस्सा पनि प्रस्तुत गर्न खोजिएको छ। इतिहास मेटिए पनि उनीहरु यहाँ बाँचिरहेका छन्, बेलुवा हत्याकाण्ड, कौवापुर हत्याकाण्ड, टंक बोगटी, भगवति चौधरी, छविराज बोहरा सबै इतिहासका पानामा बाँचिरहेका छन्।

उनले यो डायरी काठको बनाएका छन् जसमा आफैंले अक्षर कुँदेका छन्। ठूला मानिसहरुको इतिहास ताम्रपत्र, शिलापत्रमा लेखिन्छ तर आममानिसको कथा कसमा लेखिन्छ? काठ रंगाएर पुरानो कागजको इफेक्ट दिन खोजेका छन्।

अर्को ठाउँमा देख्न सकिन्छ गोलीसहित विभिन्न अन्नका आकृति झुण्ड्याइराखेको कला। दाल, गहुँ, चामल, मकै, तिललगायतका अन्नहरुको बीचमा गोली प्रतिकात्मक रुपमा राखिएको छ। यसमा कलाकारले गोली अर्थात् शक्ति र अन्न अर्थात् किसानको सम्बन्ध देखाउन खोजिरहेका छन्। कसरी किसान अर्थात् थारुहरु शक्तिमार्फत् पिसिँदै गइरहेका छन् त?

गोलीले जीवन लिन्छ र अन्नले जीवन दिन्छ। त्यसको सम्बन्ध कलाकारले देखाउन खोजेका छन्। जति नै शक्तिले गलाए पनि त्यसविरुद्ध उत्रिरहन्छन् र समयक्रम चलिरहन्छ भन्ने देखाउनु कलाकारको अर्को उद्देश्य हो।

पुराना दस्तावेज ‘दस्तुर’ माथि विभिन्न आकृति बनाइएको अर्को कला पनि देख्न सकिन्छ। करिब २५० वर्ष पुराना दस्तावेजलाई कलाकारले उत्खनन् गरेका छन्। पहिले जल जंगलको बारेमा रेकर्ड राख्नेका लागि पञ्जिकार राख्ने चलन थियो। अहिले त्यो शब्द अपभ्रशं भएर पञ्जियारको बनेको इतिहासविद्हरु बताउँछन्। यी दस्तावेजमा रहेका चित्रहरुखोपेरदेखाउन खोजिएको छ। जुन थारुहरुले शरिरमा गोद्‌ना खोपाउनेसँग सम्बन्धित छ।
उनको अर्को कलाले औलो उन्मूलनले कसरी थारुहरुलाई विस्थापित बनायो भन्ने देखाउन खोजेको छ। गोलो घेरामा लामखुट्टे आकारको आकृति नै मानिसहरु बनाइएको छ भने जनावारका चित्रहरु पनि देख्न सकिन्छ। कसरी औलो उन्मूलनले थारुहरुको बासस्थान तितरवितर बनायो भन्ने देखाउनु यसको उद्देश्य हो।

माथिल्लो तलामा भिडियो आर्ट पनि रहेको छ। भिडियोमा बाह्रमसिया गीत बज्दैछ। थारुहरु यो गीत बाह्रैमहिना गाउने गर्छन् तर फरक–फरक भावमा। श्रीमान् तथा आफन्त टाढिएको गीतमा भावमिश्रित गीत सुन्न सकिन्छ।

भिडियोले २०७२ भदौ ७ गतेको टिकापुर घटना देखाउन खोजेको छ– थरुहट आन्दोलनको क्रममा उक्त दिन ८ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। घटनापश्चात थारुहरुका ४५ घर छानीछानी जलाइएको थियो। यस घटनाले अझै पनि त्यहाँको मानिसको जीवन भयभित छ। सो समय थुप्रै निर्दोष व्यक्तिहरुलाई जेल चलान गरिएको थियो।

आफ्नो निर्दोष आफन्तलाई जेलबाट रिहाइ मागका लागि थुप्रै महिलाहरुले आन्दोलनमा सहभागिता जनाएका थिए। त्यसको उदाहरणको रुपमा काँधमा बच्चा बोकेकी अनि हातमा कालो झण्डा बोकेकी महिलाको चित्र त्यहाँ देख्न सकिन्छ। त्यसैगरी टीकापुर घटनाकै झल्को दिने अर्को ‘अपसाइड डाउन’ चित्रले कसरी त्यो एकदिनको घटनाले कसरी सबै परिस्थति बदलियो भन्ने अवस्था चित्रण गरेको छ।

छेवैमा छ थारु अष्टिम्की कला। यो कलाकार मिठ्ठु थारु र किरण श्रेष्ठले बनाएका हुन्। मिथिला लोककला, थान्का चित्र आदिमात्र प्रचलित देखिन्छ तर थारु अष्टिम्की कला अझै ओझेलमा देखिन्छ। त्यसलाई मिहिन ढंगले प्रस्तुत गरेका छन् कलाकारले।

अष्टिम्की चित्रको छेवैमा छ कालो पर्दा लगाइएको अँध्यारो कोठा। भूईंभरी पराल ओच्छ्याएको छ। साना–साना घैला डोरीमा झुण्ड्याइएको छ। घैलामा विभिन्न आकृति कुँदिएका छन्। घैलाभित्र आकृतिलाई प्रकाश पार्न बत्ति बालिएको छ। केही संविधानका धारा लेखिएका छन् जसमा समनाता र पहिचानका कुराहरु छन्। संविधानसभाको आकृति रहेको छ। टीकापुर घटनापश्चात भएका विभिन्न निर्णयहरुको बुँदाहरु पनि छन्। एउटा घैलामा जंगबहादुरको आकृति बनाइएको छ भने अर्कोमा देखिन्छ प्रथम राष्ट्रपति रामवरण यादवले संविधानसभाको पुस्तक ढोग्दै गरेको आकृति।

यसमा कसरी इतिहासदेखि नै थारुहरुलाई मास्दै आइएको त्यो समयसीमा देखाउने प्रयास गरेको देखिन्छ। माटोको घैला थारु समुदायले दैनिकीमात्र होइन विभिन्न चाडपर्वमा पनि प्रयोग गर्दै आएका छन्।

अनुभवले सोचको जन्म गरायो
सन् २०१५ मा लवकान्तले ‘क्याम्प हब’ भन्ने कार्यक्रम गरिरहेका थिए। आर्ट ट्रिले आयोजना गरेको उक्त अभियानमा बालबालिकाहरु सहभागी रहेका थिए। सो समय भुइँचालो गएको थियो। बालबालिकालाई कला सिकाउने सामग्री पनि भेटिन गाह्रो परिरहेको थियो। त्यहाँ उनले नेवारी समुदायका मुखौटा बनाउनेहरुसँग काम गर्ने निधो गरे।

उनी भन्छन्, ‘मुखौटा बनाउने आदिवासी जनजातिको सीप हो, मैले बच्चाहरुलाई भाँडाकुटी बनाउन सिकाएँ। बालबालिकाहरुले भाँडाकुटीमार्फत् आफ्नो भुँइचालोको कथाहरु कलामार्फत् प्रस्तुत गरे।

त्यस कार्यशालापछि लवकान्तले थारुहरुको परम्परागत सीप पनि छ त्यसमा किन काम नगर्ने त भन्ने हुटहुटी चल्यो। यसरी नै आदिवासी सीप तथा इतिहास बोकेको कला प्रस्तुत गर्न लवकान्तले ‘मसिन्या दस्तुर’ नामक कला प्रदर्शन गर्ने विचार गरेका हुन्।

इतिहासमा जहिल्यै पनि थारुहरु शोषित, सोझो, जाँड–दारु खाने, घोंघी खाने भन्ने रुपमा बुझिन्छ। थारुहरुका बारेमा धेरै लिखित मौखिक इतिहास रहेका छन् तर सबै इतिहास अझै पनि लेखिएका छैनन्। आफ्नो जातिको बारेमा केही गर्नुपर्छ भन्ने सोच जागृत हुँदै गएकाले यो प्रदर्शनी गरेको लवकान्त बताउँछन्।

सर्लाही, बयलबासका लबकान्त २०६२ देखि आफ्नो कलाकारिता सुरु गरेका थिए। उनले यसअघि विभिन्न सामूहिक कला प्रदर्शनी प्रस्तुत गरिसकेका छन् भने यो उनको एकल प्रर्दशनी हो। प्रदर्शनी पुस २४ गतेसम्म चल्नेछ।
(साभार: कान्तिपुर प्रकाशित : पुस २, २०७६ १९:३९)

दंगीशरण खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित